+
+
Shares

आरोप-प्रत्यारोपले सांसदको मूल जिम्मेवारी छायामा पर्‍योः सांसद नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक बहसको अभाव र असंसदीय व्यवहारले सांसदको जिम्मेवारी ओझेलमा परेको बताए।
  • उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन र विकास जस्ता क्षेत्रमा केन्द्रित गर्नुपर्ने जोड दिए।
  • नेम्वाङले नीति नियमहरू प्रभावकारी बनाएर सकारात्मक सुधार ल्याउन र असत्य बोल्ने सांसदलाई कारबाही गर्नुपर्ने सुझाव दिए।

२५ असार, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहस नहुँदा सांसदको मूल जिम्मेवारी छायामा परेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखेका हुन् ।

‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यबस कहिलेकाँही रचनात्मक बहसको सट्टा अरू विषयमा समय खर्च गरेर बसिरहेका छौं’ उनले भने ।

उनले थपे, ‘आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणी र असंसदीय व्यवहारमा अल्झिँदा हामीले हाम्रो मूल जिम्मेवारी ओझेलमा पारेको जस्तो मलाई महसुस भएको छ । त्यो साह्रै नै दुःखद् छ ।’

उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

सांसद नेम्वाङले नीति नियमहरूलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताए ।

‘हामीसँग छलफलका लागि थुप्रै विषय छन् । हामीले धेरैभन्दा धेरै समय त्यसमा व्यतित गर्नुपर्छ’ उनले भने, ‘नीति नियमलाई अझै प्रभावकारी बनाएर, हाम्रो काम गर्ने शैलीलाई सुधारेर जनतालाई सकारात्मक परिवर्तन भएको अनुभुति दिनुपर्छ ।’

उनले सच्चिने कामहरूको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

उनले संसदमा उठेका प्रश्नहरूको समयमै जवाफ दिन मन्त्रीहरूको समेत ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?