+
+
Shares

मालिकाको प्रशासकीय भवन प्रयोगविहीन, कार्यालय पुरानै भवनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १०:४२

२९ असार, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले फागुन १ गते भव्य समारोहसहित उद्घाटन गरेको नयाँ प्रशासकीय भवन अझै प्रयोगमा आउन सकेको छैन । उद्घाटन भएको पाँच महिना बितिसक्दा समेत कार्यालय अझै पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

यसले गाउँपालिकाको योजना, प्राथमिकता र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । भवनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हेलिकप्टरमार्फत ल्याएर विशेष कार्यक्रम गरिएको थियो ।

जनयुद्धसँग जोडिएको मिति फागुन १ लाई विशेष महत्व दिँदै गरिएको उद्घाटन कार्यक्रममा लाखौं रुपैयाँ खर्च गरिएको थियो । तर, त्यसपछि भने सेवा प्रवाहमा देखिएको ढिलाइ र निष्कृयताले स्थानीयवासीका लागि निराशाजनक सावित भएको छ ।

मालिका गाउँपालिकाका सूचना अधिकारी जगत पौडेलका अनुसार भवनको आन्तरिक संरचना निर्माण अन्तर्गत फर्निचर व्यवस्थापन र अन्य पूर्वाधारहरू अपूरा भएकाले कार्यालय स्थानान्तरण गर्न नसकिएको बताए । उनका अनुसार बाँकी काम सम्पन्न गर्न अझै केही महिना लाग्ने अनुमान छ ।

यो अवधिमा सेवा प्रवाह भने यथावत् पुरानै भवनबाट सञ्चालन हुने बताइएको छ । पाँच महिनासम्म पनि सानातिना पूर्वाधार व्यवस्थापन नहुनु आलोचनाको विषय बन्न थालेको छ ।

 मालिका गाउँपालिकाका पूर्वप्रवक्ता शोभाखर गिरीले उद्घाटनमा देखाइएको हतारो सस्तो लोकप्रियता कमाउने होडबाजी बताए । सेवा सुरु गर्ने पूर्वतयारी विना गरिएको उद्घाटनले विकासभन्दा प्रचारलाई प्राथमिकता दिएको स्पष्ट पारेको उनको भनाइ छ ।

कार्यालय सञ्चालन भइरहेको पुरानो भवन ।

भवन गुल्मीको मालिका गाउँपालिका–४, अर्खाबाङमा निर्माण गरिएको हो । संघीय सरकार र स्थानीय सरकारको सात करोड ६७ लाख १८ हजार लागतमा उक्त प्रशासनीक भवन निर्माण सम्पन्न भएको हो ।

विकोइ श्रेष्ठ तथा सुनिल समिर जेभीद्वारा २०७८ भदौमा सम्झौता भएको भवन निर्माणको काम तीन वर्षमा सम्पन्न भएको हो ।

जिल्ला सदरमुकामबाट टाढा दुर्गम क्षेत्रमा रहेको पालिकाको रूपमा चिनिले पालिकामा सुबिधा सम्पन्न भवनबाट सेवा प्रवाह हुने अपेक्षा नागरिकमा रहेको छ ।

भवनको संरचना अपाङ्गतामैत्री रहेको छ । २२ हजार स्क्वायर फिटमा बनेको सो भवन साढे तीन तलाको रहेको छ ।

भवनमा बैठक कक्ष र सभाहल सहित १६ वटा कोठाहरू रहेका छन् । गाउँपालिकाको मुख्य केन्द्रमा निर्माण गरिएको उक्त भवन आकर्षक डिजाईनमा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?