+
+
Shares

साउथका प्रसिद्ध खलनायक कोटा श्रीनिवासको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १४:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार हैदराबादमा निधन भएको छ, उनी ८३ वर्षका थिए र लामो समयदेखि बिरामी थिए।
  • कोटा श्रीनिवासले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए र सन् २०१५ मा पद्मश्रीबाट सम्मानित भएका थिए।
  • आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू र तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले कोटा श्रीनिवासको निधनमा दुःख व्यक्त गरेका छन्।

सन अफ सत्यमूर्ति, टेम्पर, येवादुजस्ता प्रसिद्ध फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका लोकप्रिय दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवासको आइतबार निधन भएको छ ।

उनले केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका थिए । उनी लामो समयदेखि बिरामी थिए । उनले आइतबार बिहान हैदराबादको जुबली हिलस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे ।

उनले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । उनलाई सन् २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो ।

सफल फिल्म करिअर बाहेक उनले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । सन् १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए ।

तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले भावुक हुँदै लेखेका छन्, ‘प्रख्यात अभिनेता कोटा श्रीनिवास राव गरुको निधनले गहिरो स्तब्ध छु । उनको अनुपस्थिति फिल्म उद्योगको लागि अपूरणीय क्षति हो । कोटा गरु भौतिक रूपमा हामी माझ नरहे पनि, उनले निर्वाह गरेका भूमिकामार्फत उनी तेलुगु जनताको हृदयमा सधैं बाँच्नेछन् । उनको आत्माले शान्ति पाओस् भनी भगवानसँग प्रार्थना गर्दछु । परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

कोटा श्रीनिवासलाई श्रद्धाञ्जली अर्पण गर्दै आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले लेखेका छन्, ’आफ्नो भूमिकाले सिनेमा दर्शकको मन जित्ने प्रसिद्ध अभिनेता कोटा श्रीनिवास रावको निधन अत्यन्तै दुःखद छ ।’

कोटा श्रीनिवासले अल्लु अर्जुनसँग फिल्म ‘सन अफ सत्यमूर्ति’मा काम गरेका थिए । यसबाहेक उनले अमिताभ बच्चनको फिल्म ‘सरकार’मा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले हिन्दी फिल्म प्रतिघात, रक्त चरित्र र टाइगर श्राफको बागीमा पनि खलनायकको भूमिका निर्वाह गरेका छन् ।

उनी अन्तिम पटक सन् २०२३ मा आएको फिल्म ‘कब्जा’मा देखिएका थिए । फिल्ममा उपेन्द्र राव, राजकुमार, किच्चा सुदीप, श्रिया शरणको मुख्य भूमिका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?