
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन्।
- उनले प्रविधिको प्रयोग गरी नागरिक एपमार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था गरिएको बताए।
- प्रहरी महानिरीक्षक दिपक थापाले ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगले सडक दुर्घटना रोकथाममा प्रभावकारिता ल्याएको बताए।
२९ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमका बीच उनले अनलाइन सचेतना कक्षको शुभारम्भ गरेका हुन् ।
योसँगै अब मापसे, लेन अनुशासन लगायतका कसुर गर्नेले अनिवार्य रूपमा ट्राफिक कार्यालय पुगेर कक्षा लिनुनपर्ने भएको छ ।
अनलाइन कक्षाको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले प्रविधिको प्रयोग गरी नागरिक एपमार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सक्ने व्यवस्था गरिएको बताए ।
‘योसँगै नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थपिएको छ’, उनले भने, ‘नेपाल प्रहरी एकपछि अर्को प्रविधिमा प्रवेश गरी राखेको छ भने सरकार पनि प्रहरीलाई प्रविधियुक्त बनाउन सदैव क्रियाशील छ ।’
प्रविधिको प्रयोगले कहिले कहीँ जोखिम र जटिलता निम्त्याउनसक्ने भन्दै उनले प्रविधिको प्रयोग गर्दा थप सचेत पनि हुनुपर्ने बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने बताए ।
‘नेपाल प्रहरीले सामाजको गतिलाई हृदयगमन गर्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव प्राथमिकता दिँदै आएको छ’, उनले भने, ‘प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षा सञ्चालन हो ।’
आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने समेत उनले बताए ।
प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारिता ल्याएको समेत बताए ।
अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्याप्त सहयोग हुने विश्वास उनले व्यक्त गरे ।
‘प्रयोगकर्ताबाट हुनसक्ने लापरबाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्याप्त सजगता अपनाउनु पर्छ’, उनले भने ।
प्रतिक्रिया 4