
News Summary
Generated by OK AI. Editorially reviewed.- सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने आश्वासनमा ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ।
- मन्त्री गुप्ताले भूमिसुधार मन्त्री बलराम अधिकारीमाथि अरुबाट पैसा लिइसकेको आरोप लगाएका छन् र आफूले १५ लाख छोड्ने र १० लाख बिहान ल्याइदिनुपर्ने बताएका छन्।
- उजुरीकर्ताले मन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिसकेका छन् र अडियो रेकर्ड समेत पेश गरेका छन्।
३० असार, काठमाडौं । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस अडियो दुई दिनअघि सार्वजनिक भयो । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको थमौतीको विषयमा मन्त्री गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।
भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतका अनुसार, पोखरामा करिव १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न केही वर्षदेखि प्रयास भइरहेको छ । यसअघि दर्ता गर्न छुटेको भनी तयार भएको फाइल मालपोत कार्यालयमा पेस भएको थियो ।
मन्त्री गुप्ताले त्यही जग्गा दर्ता गराउने प्रयास गरिरहेको समूहसँग ५३ लाख रुपैयाँ बुझेको अडियो कुराकानी सार्वजनिक भएको हो । मन्त्री गुप्ताले तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा यथावत राखिदिने आश्वासनका साथ घुस लिएका थिए ।
उजुरीकर्ताहरुले मन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिसकेका छन् । उनीहरुले मन्त्री गुप्ताले प्रमुख मालपोत अधिकृत रहेका उपसचिवको सरुवा रोकिदिने आश्वासनमा ५३ लाख रुपैयाँ लिएको दाबी गरेका हुन् । उजुरीमा लेनदेन भएको रकमको नम्बर र नोटको बिटोको फोटो समेत छ ।
त्यही समूहसँग मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउन थप २५ लाख रुपैयाँ लिएको अर्को उजुरी पनि परेको छ । उजुरी दिनेहरुले अडियो समेत अख्तियारमा पठाएका छन् ।
संवादमा के छ ?
अडियो रेकर्ड गर्ने व्यक्ति फोन रेकर्ड सुरु गरेर मन्त्री भएको ठाउँमा पुगेको बुझ्न सकिछ । उनीहरुबिचको कुराकानीमा पछि एकजना महिला प्रवेश गरेको कुराकानीमा सुनिन्छ ।
संवाद र उनीहरुको कुराकानी सुन्दा मन्त्री निवासमै उनीहरुको कुराकानी भएको खुल्छ, किनभने मन्त्रीले उनीहरुलाई सुरुमा रक्सी र पछि माछा खाने प्रस्ताव गरेको सुनिन्छ ।
अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्री गुप्तालाई भूमिसुधार मन्त्री बलराम अधिकारीलाई भनेर कुनै व्यक्तिको निर्णय गराइदिन आग्रह गरेको सुनिन्छ । त्यसक्रममा उनले ‘बरु म त्यो २० बुझाइदिउँला, भन्दिनु न बलरामलाई’ भनेका छन् ।
कुराकानीको क्रममा सामान्य प्रशासन मन्त्री गुप्ताले भूमिसुधारमन्त्री बलराम अधिकारीमाथि अरुबाट पैसा लिइसकेको आरोप लगाउँछन् । मन्त्री गुप्ताले भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।’
पोखराका खेमबहादुर पुनलाई भूमि आयोगको सदस्य बनाउनुपर्ने प्रस्ताव गर्दै ती व्यक्तिले सांकेतिक रुपमा फेरि ‘२० बुझाइदिन्छु’ भन्छन् । फेरि ती व्यक्तिले भूमिसुधारमन्त्री बलराम अधिकारीको सयवटा काम सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गरिदिनुपर्ने भन्दै प्रश्न गर्छन्, ‘तपाईंको एउटा काम पनि नगर्दिएर हुन्छ ?’
जवाफमा मन्त्री गुप्ताले पार्टीको जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएर आउनुपर्ने बताउँछन् । पटक–पटक मन्त्रीलाई आग्रह गरेपछि उनले भन्छन्, ‘मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस्, मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतमा ।’
त्यसपछि फेरि ती व्यक्तिले पर्सि सामान्यबाटै गरिदिनुहुन्छ भन्छन् । अर्थात सामान्य प्रशासन मन्त्रालयमै घुस बुझाउने भनेर कुरा टुंग्याउन खोज्छन् ।
भूमि आयोगको कुरा टुंगिएपछि ती व्यक्तिले पोखराको जग्गाको विवाद पनि मिलाइदिन आग्रह गर्छन् । ती व्यक्तिले सांकेतिक रुपमा भन्छन्, ‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू, हामी यहाँ यसरी बसेर हुन्छ ?’
मन्त्रीले माछा खाने अफर गरेपछि उनले इन्कार गर्दै भन्छन्, ‘अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।’
प्रतिक्रिया 4