
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र पर्यटनलाई विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
- उहाँले चलचित्रले राष्ट्रिय लोककला, भाषा, संस्कृति र विविधताको अभिव्यक्ति गर्ने उल्लेख गर्नुभयो।
- पौडेलले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण र गुणस्तरीय विकासमा सरकार र सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रुपमा रहेको भन्दै यसबाट चलचित्र सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे ।
चलचित्रको माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति, भाषाभाषीका पहिचानजस्ता विषयहरूलाई सशक्त रुपमा अभिव्यक्त गरिने राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपति पौडेलले भने ‘पछिल्लो समयमा आदिवासी जनजातिलगायतका कला, भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचाना र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ ।’
राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए ।
गुणस्तरीय पक्षलाई जोड दिएर बजारीकरणका लागि नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा पनि ध्यान जानु जरुरी रहेको पौडेलले स्पष्ट पारे । ‘नेपाली चलचिलत्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो’ राष्ट्रपति पौडेलले भने ।
मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहने राष्ट्रपति पौडेलको भनाइ छ । संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक रहेको उनले बताए । सीमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुनरुपमा विकास र विस्तार हुनु खुसीको विषय भएको राष्ट्रपतिले बताए ।
राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरेका थिए । ११ जनालाई विशेष योगदान सम्मान र ११ जनालाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसैवर्षभित्र चलचित्र ऐन ल्याउन प्रयास भैरहेको बताउँदै नेपाली फिल्म क्षेत्रले समयसापेक्ष कानून पाउने बताए ।
एआई प्रविधिले हलिउडजस्ता अन्तर्राष्ट्रिय बजारमा समेत परिवर्तन ल्याइरहेको सन्दर्भ पेश गर्दै उनले नेपाल पनि फिल्म निर्माणमा प्रविधिको प्रयोगमा अग्रसर हुनुपर्नेमा जोड दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले आफ्नो कार्यकालमा भएका उपलब्धिको चर्चा गरे । ऐन, फिल्म स्टुडियो, रियल टाइम बक्सअफिसजस्ता उपलब्धि यसै कार्यकालमा भएको बताउँदै उनले यसैवर्षभित्र सिक्किममा नेपाली फिल्म सेन्सर गर्न पहल भैरहेको बताए ।
भुटानसँग पनि फिल्म निर्माण र बजारीकरणमा साझेदारी हुने उनले बताए । कार्यक्रममा भुटानी अभिनेता सांगे सेल्ट्रिम पनि सहभागी थिए ।
प्रतिक्रिया 4