+
+
Shares

सेयर बजारमा किन टिकेन मौद्रिक नीतिको उत्साह ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौद्रिक नीति सेयर बजारअनुकूल हुँदा पनि सोमबार ३५ अंक घट्यो।
  • आर्थिक वर्षको अन्त्य र नाफा बुक गर्ने प्रवृत्तिले सेयर बजारको वृद्धि टिक्न नसकेको जानकारहरूले बताए।
  • संस्थागत लगानीकर्ताले यो आर्थिक वर्ष नै नाफा देखाउनका लागि सेयर बिक्री गर्छन्।

३० असार, काठमाडौं । मौद्रिक नीति सेयर बजारअनुकूल देखिँदा आइतबार २९ अंक बढेको सेयर बजार सोमबार नै ३५ अंक घट्यो ।

मौद्रिक नीतिमा धेरै विषय सकारात्मक हुँदा हुँदै पनि सेयर बजारको वृद्धि दुई दिन पनि टिक्न सकेन । बजारको वृद्धि टिकाउ हुन नसक्नुको प्रमुख कारण आर्थिक वर्षको अन्त्य र नाफा बुक रहेको सम्बद्ध जानकार बताउँछन् ।

यो आर्थिक वर्ष सकिन अरु २ दिन मात्रै बाँकी छ । दुई दिन बाँकी रहँदा भएको नाफा बुक यो आर्थिक वर्षकै वित्तीय विवरणमा समेटिन्छ । तसर्थ केही म्युचुअल फन्ड र अन्य संस्थागत लगानीकर्ताले पनि यो आर्थिक वर्ष नै नाफा देखाउनका लागि सेयर बिक्री गर्छन्।

अर्कोतर्फ खरिद गर्नेहरु पनि यो बेला पर्खिन्छन् । क्लोजिङको समय हुने भएकाले यो असारका अन्तिम दिन बजार प्रभावित हुने गरेको जानकार बताउँछन् । ‘असार अन्तिम केही दिन कारोबार रकम पनि सुक्खा हुन्छ । किनकि खरिद गर्न चाहने पनि पर्ख र हेरमा रहन्छन्’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने ‘कतिपय संस्थाले यो आर्थिक वर्षमै नाफा बुक गर्न चाहन्छन्, जुन नाफा उनीहरूको हिसाव विवरणमा समेट्न पाइन्छ ।’

साउनेखि नै बजारले फेरि वृद्धिको लय समात्ने उनको भनाइ छ । यो नाफा बुकलाई मौद्रिक नीतिको उत्साह नै सकिएको भन्न नमिल्ने उनको भनाइ छ।

मौद्रिक नीति सार्वजनिक हुनुअघि नै बजार राम्रै अंक बढेकाले यतिबेला कतिपय कम्पनीमा राम्रो नाफा छ । असार १२ गते २५९५ अंकमा रहेको बजार करिब दुई साताकै अवधिमा हिजो आइतबार २७६० अंकसम्म पुग्यो।

अर्थात् दुई सातामा समग्र नेप्से करिब ६.३५ प्रतिशत बढ्यो । ‘कतिपय कम्पनी दुई सातामा १५/२० प्रतिशत बढे, त्यसकारण यो बेला नाफा बुक हुनु र बजारमा करेक्सन देखिनु स्वभाविक हो’ उनले भने । केही वाणिज्य बैंकको सेयर मूल्य नै दुई सातामा १५ प्रतिशतसम्म बढ्यो ।

‘सकारात्मक अपेक्षा भइरहँदा बजारमा खरिद लहर चल्ने र त्यो अपेक्षा पूरा हुनेवित्तिकै बिक्री बढेर नाफा बुक हुन्छ’

जतिसुकै सकारात्मक माहोलमा पनि बजार लगातार बढ्ने नभई बेलाबेला घट्ने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट बताउँछन्।

‘सकारात्मक माहोलमा पनि बजार सधैं बढिरहने हुँदैन, बीचबीचमा करेक्सन आउँदा बजार बलियो पनि बन्दै जान्छ’ उनले भने ।

नेपालको बजारमा अल्पकालीन कारोबारी हाबी छन् । कारोबारीले केही नाफा हुनासाथ बुक गर्ने र खरिदका लागि बजारको घटाइ कुर्ने गर्छन् । यहीं कारण अहिले नाफा बुक भइरहेको छ।

बजार जहिले पनि सकारात्मक अपेक्षा हुँदा खरिद पक्ष बलियो हुन्छ । ‘मौद्रिक नीति सकारात्मक आउने अपेक्षा पूरा भइसक्यो’ ढुंगानाले भने ‘त्यसकारण अपेक्ष पूरा हुँदा केही करेक्सन पनि हुने गर्छ, नेपालमा मात्रै नभई अन्य बजारमा पनि यस्तो हुने गर्छ ।’

सकारात्मक अपेक्षा भइरहँदा बजारमा खरिद लहर चल्ने र त्यो अपेक्षा पूरा हुनेवित्तिकै बिक्री बढेर नाफा बुक हुनु नेपाल मात्रै नभई अन्य अन्तर्राष्ट्रिय बजारमा पनि देखिने गरेको उनले बताए ।

मौद्रिक नीति सकारात्मक आएपछि पनि बजार घट्नु यसकै एउटा उदाहरण भएको लगानीकर्ता बताउँछन् । यो पटक मात्रै नभई विगतमा पनि बजारमा यस्तै प्रवृत्ति देखिँदै आएको छ ।

गत वर्षको असार लाग्दा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बन्ने चर्चाले बढिरहेको बजार असार अन्तिमतिर मन्त्रिपरिषद् गठन हुँदा भने घट्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?