
तरल राजनीतिको एउटा विशेषता हो सामान्य घटनाले गतिलो कम्पन ल्याउनु। पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने आफ्नो चाहना सार्वजनिक गरेपछि नेपाली राजनीतिमा आएको तरङ्गलाई त्यही कम्पनको रूपमा हेर्नुपर्दछ। दिनानुदिन त्यो कम्पन झन्–झन् विस्तारित हुँदै गइरहेको छ। यहाँसम्म आइपुग्दा उनले आफूले नेकपा (एमाले) को सदस्यता लिएको र पूर्व राष्ट्रपतिका रूपमा सरकारले दिएको सम्पूर्ण सेवा-सुविधा त्यागेर राजनीतिमा पुनरागमन गरेकी छन्।
श्रीमती भण्डारीको यो निर्णयपछि राजनीतिमा सामान्य चासो राख्ने जनस्तरबाट मोटामोटी तीन/चार प्रकारका प्रतिक्रिया आइरहेका छन्। पहिलो, राष्ट्रपति जस्तो सम्मानित पदमा आसीन भइसकेको मानिस फेरि दलीय राजनीतिमा फर्किनु राम्रो होइन। यसले उनकै कदलाई घटाउँछ। दोस्रो, त्यो विद्यादेवी भण्डारीको निजी कुरा हो। उनी राजनीतिमा फर्कनु र नफर्कनुले मुलुकको दुरवस्थामा कुनै फरक पर्नेवाला छैन। उनी पनि विद्यमान राजनीतिक व्याधिका लागि म्याद गुज्रिएको औषधि मात्रै हुन्। अत: यस विषयलाई महत्व दिएर चर्चा गर्नुको कुनै अर्थ छैन।
तेस्रो, भण्डारी प्रधानमन्त्री ओलीको निर्देशनमा राजनीतिमा फर्किन लागेकी हुन्। उनलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाई आफू राष्ट्रपति बन्ने ओलीको सपना छ। चौथो, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पेलानबाट वाक्क भएका एमाले नेता–कार्यकर्ताको आग्रहमा श्रीमती भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् र यसले नेपालको राजनीतिमा दीर्घकालीन प्रभाव पर्दछ।
अब, उपर्युक्त विचारहरूलाई अलिक मिहिन ढङ्गबाट हेरौं। सक्रिय राजनीति र दलीय राजनीति एउटै कुरा होइन। कुनै दलमा आवद्ध नभई पनि राजनीतिमा सक्रिय हुन सकिन्छ। एउटा व्यक्तिले वा व्यक्तिहरू मिलेर सक्रिय रूपमा मुलुकको अग्रगामी रूपान्तरणका लागि कुनै कार्यक्रम वा अभियान चलाउन सक्छन्। विगतमा नागरिक समाजका अगुवाहरूले गर्दै आएको कामलाई यही कोटिमा राख्न सकिन्छ। यस्तै प्रकृतिको काममा एक्लै वा अरूको साथ समेत लिएर पूर्वराष्ट्रपतिहरू जसले एक पटक राजनीतिक दलको सदस्यता त्यागिसकेका हुन्छन्, सक्रिय हुन सक्दछन्। त्यस्ता पदाधिकारीको ज्ञान, सीप, अनुभव र प्रभावको फाइदा मुलुकले लिन पाउँछ। यस्ता कार्यले राष्ट्रिय एकतामा समेत बल पुग्छ।
तर, श्रीमती भण्डारी यसरी होइन नेकपा (एमाले) को सदस्यता लिएर दलीय राजनीतिमा आउन लागेकी हुन्। यसरी राजनीतिमा फर्किने कार्यलाई मुलुकको संविधान र कानूनले छेक्दैन। राष्ट्रपतीय प्रणाली भएका अन्य मुलुकमा यस्तो अभ्यास बाक्लो नभए पनि हुँदै नभएको होइन। दक्षिणी छिमेकको श्रीलङ्कामा यो अभ्यास भइसकेको छ। अलिक तल मोरिसससँग पनि यस्तो अनुभव छ। रूस लगायत अन्यत्र पनि यस्तो अभ्यास भएको छ। रह्यो हाम्रो देशको अभ्यासको कुरा। नेपालमा गणतन्त्र आएपछि पूर्व भएका राष्ट्रपतिमध्ये विद्या दोस्री हुन्। उनीभन्दा पहिलेका राष्ट्रपतिले लिएको बाटोलाई परम्परा नै भनेर मान्न सकिंदैन। पञ्चायतकालमा त पूर्वप्रधानमन्त्री भइसकेका स्वनामधन्य मानिस राजदूत खान गएकै हुन्।
मानिसका धारणा आ-आफ्नै हुन्छन्। अहिले एकथरी मानिस पश्चिमा विकसित देशको उदाहरण दिंदै त्यता राष्ट्रपति/प्रधानमन्त्री भएका मानिस आफ्नो कार्यकाल सकिएपछि पढाउने, परामर्श सेवा दिने जस्ता आफ्ना दक्षताको क्षेत्रमा जानेदेखि लिएर अन्तर्राष्ट्रियस्तरमा प्रजातन्त्र र शान्तिका लागि अभियान चलाउनेसम्मका स्वयंसेवी काममा लागेको देखिन्छ। हाम्राहरू भने राज्यबाट विभिन्न थरीका सुविधा लिएर बाँचुञ्जेल मुलुकको दोहन गर्ने गर्दछन्। यसो भन्नेहरूका लागि त खुसीको कुरा हो श्रीमती भण्डारीको दलीय राजनीतिमा पुनरागमन। केही नभए पनि सानोतिनो जस्तो भए पनि राज्यकोषको बचत त भयो।
दोस्रो कुरा, विद्या भण्डारी मदन भण्डारीकी पत्नी भएर उनको अपुताली खान मात्रै राजनीतिमा आएकी/ल्याइएकी होइनन्। उनी विद्यार्थीकालदेखि नै राजनीतिमा थिइन्। राजनीतिक कार्यक्रममै मदनसँग भेट भएको हो। उनी दुईबीच विवाह समेत पार्टीले नै गरिदिएको हो। होला मदन जीवित रहँदा हाम्रो परम्परागत प्रचलन अनुसार मदनलाई सहयोग गर्नुपर्दा उनी पार्टी गतिविधिमा अग्रपंक्तिमा उति थिइनन् होला। मदनको निधनपछि मेरा दुई नाबालिका छोरी हुर्काउनु छ भनेर उनी कुना त पसेकी होइनन्।
उनी साथीहरूबीच प्रतिस्पर्धा गरेरै पार्टीको उपाध्यक्ष भइन्। निर्वाचन लडेर सांसद भइन्। दुई पटक मन्त्री भइन्। उनको कार्यक्षमतामा कहिल्यै प्रश्न उठेन न उनी उनका अरू केही कमरेडहरू जस्तै अनियमितता र भ्रष्टाचारको आरोप लागेर डुङ्डुङ्ती गन्हाइन्। हो, राष्ट्रपति भएपछि चाहिं उनलाई प्रधानमन्त्री ओलीको रबरस्ट्याम्प भएको आरोप लागेको हो र उनको कामगराइ पनि त्यस्तै देखिन्थ्यो। यसको अर्को पाटो पनि छ सरकारको निर्णयलाई अन्यथा गर्न राष्ट्रपतिका रूपमा उनी सक्थिन्? रुक्माङ्गद कटवाल प्रसङ्गमा प्रथम राष्ट्रपतिको कदमको आलोचना गर्ने कम छैनन्।
राजनीतिमा आउने/नआउने श्रीमती भण्डारीको निजी कुरा हो। यसले मुलुकको दुरवस्थामा तात्विक फरक पर्दैन भन्ने मत एक हदसम्म सही हो। राजनीतिमा आएर उनी विघ्न भए एमाले प्रधानमन्त्री बन्लिन्। त्यसो हुँदा उनले आकाशका जून तारा नै खसाल्छिन् भन्ने छैन। एमालेबाट विगतमा प्रधानमन्त्री भएका माधव नेपाल र झलनाथ खनालको काम पनि देखिएकै हो र वर्तमान प्रधानमन्त्रीले के गरिरहेछन् पनि जगजाहेर छ। जो आए पनि कानै चिरिएका आउने हुन्।
श्रीमती भण्डारी प्रधानमन्त्री ओलीको राष्ट्रपति बन्ने सपना साकार पारेर आफूलाई दुई-दुई पटक राष्ट्रपति बनाइदिएको पैंचो तिर्न पार्टीमा फर्किन लागेकी हुन् भनेर शंका गर्ने ठाउँ छैन भन्न मिल्दैन। यस्ता षडयन्त्रमूलक वातावरण निर्माण गर्न कमरेड ओली खप्पिस नै छन्। तर यस्तो हो र त्यसको सुइँको एमाले पंक्तिमा पुग्यो भने त्यो साकार हुनेवाला छैन। त्यसले ओली देउवा गठबन्धनलाई समेत प्रभावित गर्नेछ र ओली झन् कम्जोर हुनेछन्। त्यसमाथि यी सबै कुराको निर्क्योल चौरासीको पर्वले गर्ने कुरा त छँदैछ।
श्रीमती भण्डारीमा राजनीतिको लामो अनुभव छ। संसार देख्ने हेर्ने मौका पाइन्। यस्तो एक्सपोजरले मानिसमा रूपान्तरण ल्याएको हुन सक्छ। उनले कूटनीतिक सम्पर्क बढाउने मौका पनि पाएकी छन्। राष्ट्रपतिको बालकोनी आशनमा बसेर सात-सात वर्ष र बाहिर बसेर अर्को दुई वर्ष उनले मुलुकको सत्ता राजनीतिलाई तटस्थ भावले नियालिसकेकी छन्। आफू समेत लागेर बनाएको पार्टी ओलीजीका कारण निष्प्राण प्राय: हुँदै गएको पनि देखेकी होलिन्। वाम आन्दोलनको दुरवस्था पनि नियालेकी होलिन्। चौरासीको चुनौती पनि आकलन गरेकै होलिन्।
उपरोक्त कारणले उनी म मुलुकका लागि केही गर्छु र रूपान्तरण ल्याउँछु भनेर राजनीतिमा फर्किन लागेकी हुन् भने त्यो स्वागतयोग्य कुरा हो। उनको सपना साकार पार्न सजिलो भने छैन। ओली एण्ड कम्पनीसँगको भिडन्त चानचुने कुरा होइन। पार्टीमा उनका कदम रोक्न अहिलेदेखि नै तगारा खिप्न लागेको देखिन्छ। पार्टी बाहिर देउवा समक्ष समेत हारगुहार गर्दै ओलीजी पुगेका समाचार आइरहेका छन्। उनी आफ्नो स्वार्थ रक्षार्थ कतिसम्म गर्न सक्छन् भन्ने अनुमान गर्न सहज छैन। त्यसमाथि यस मुद्दामा देउवाको पनि स्वार्थ मिल्छ। उनी पत्नी आरजुलाई स्थापित गर्न चाहन्छन्।
नेपाली सेनाको परमाधिपति भइसकेकी श्रीमती भण्डारीको राजनीतिमा पुनरागमनले व्यवस्थामा नै आँच पुग्छ, गलत परम्परा बस्छ भनेर नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीसँगको भेटमा हाँ–मा–हाँ मिलाए भन्ने समाचार आएको छ। त्यो ओलीका प्रतिको देउवाको घटिया चाकरी हो। परम्परा सपार्ने हो भने त ती दुवैले आ-आफ्नो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिएर आफू अभिभावक भई बस्नुपर्दछ। आर्यघाट पनि सत्ताकै घोडामा पुग्छु भन्ने कामना भएकाहरूले देशको भविष्यप्रति गोहीको आँसु चुहाउनुले केही अर्थ राख्दैन।
अत: श्रीमती भण्डारी मुलुकको दुरवस्था देखेर आफ्नो कर्तव्य सम्झी म मुलुकको रूपान्तरणका लागि यसो गर्छु र परिणाम ल्याएर देखाउँछु भन्दै दृढप्रतिज्ञ भएर राजनीतिमा फर्किएकी हुन् भने उनले खुलेर एमाले पार्टीपंक्तिलाई अपिल गर्नुपर्छ र पार्टी अध्यक्ष ओली विरुद्ध बगावत गराउन सक्नुपर्छ। शालीन र भद्र तरिकाले प्रस्तुत भएर पार लाग्ने वाला छैन। ओलीको एउटा तुरुपले भण्डारीका सारा योजना तुहाउन बेर लाग्दैन। अत: भण्डारी मुलुकका लागि मोही खोज्न तयार भएर आएकी हुन् भने उनले आफ्नो ढुङ्ग्रो जतिसक्दो छिटो सार्वजनिक गर्नुपर्दछ।
अहिलेको नेपालको मुख्य चुनौती सुशासन हो। त्यस्तै मुख्य आवश्यकता आर्थिक रूपान्तरण हो। यी दुई मुद्दालाई सम्बोधन गर्न विदेशमा रहेका नेपाली उद्यमी व्यवसायी र विज्ञ मानव संसाधनका साथै अन्तर्राष्ट्रिय प्रविधि र पूँजी समेतलाई आकर्षित गर्न सक्नुपर्छ। यसको प्रत्याभूति दिन सक्ने ठोस नीति तथा कार्यक्रमका साथ प्रस्तुत हुनसके श्रीमती भण्डारीको राजनीतिमा पुनरागमनको अर्थ हुन्छ अन्यथा कसिंगरमाथि फोहोर थप्नु मात्रै हो।
प्रतिक्रिया 4