+
+
Shares

अध्यागमन सुधार्न गर्नुपर्ने १० काम

नेपाल भित्रिंदा होस् या बाहिरिंदा सेवाग्राहीहरू लम्बेतान लाइन, हैरानी र कर्कश बोली सुन्न बाध्य छन्। अध्यागमन समयमै सेवा दिन चुक्यो। सेवाको नित्य सुधारतर्फ ध्यान दिन चुक्यो अनि थुप्रै र पटके कमजोरी दोहोर्‍याइरह्यो। त्यसैले नाम कम, बढी बदनाम छ अध्यागमनको।

विष्णुप्रसाद कोइराला/गोकर्णप्रसाद उपाध्याय विष्णुप्रसाद कोइराला/गोकर्णप्रसाद उपाध्याय
२०८२ असार ३२ गते १०:३०
विदेशबाट फर्किंदै । तस्वीर : अनलाइनखबर फाइल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सेवामा प्रविधि अभाव, कर्मचारी अभाव र बजेटको कमीले सेवा प्रभावकारी हुन सकेको छैन।
  • राजनीतिक दलहरूले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग राखेका छन् र सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
  • लेखमा अध्यागमन सुधारका लागि प्रविधि सुधार, कर्मचारी उत्प्रेरणा, भीड नियन्त्रण, समन्वय र पास वितरण सुधार्नुपर्ने दस बुँदे सुझाव प्रस्तुत गरिएको छ।

दैनिक सयौं नेपाली तथा विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्छन्। पछिल्ला केही वर्षदेखि यो क्रम निकै बढेको छ। विमानस्थलमा घुइँचो यति छ कि सामाजिक सञ्जाल मात्र होइन, सञ्चारमाध्यमहरूमा समेत केही दिन बिराएर बिदाइ तथा स्वागतका लागि जम्मा भएको भीडको फोटोफिचर चल्छ। पोखरा र लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुनाले सबै यात्रुका लागि त्रिभुवन विमानस्थलमै भर पर्नुपर्ने अवस्था छ।

अर्थात्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले सेवा दिएकै छ। करोडौं राजस्व उठाएकै छ। लाखौं यात्रुलाई आउनेजाने अनुमतिको छाप लगाएकै छ। यति गर्दा पनि उसको मुहार सौम्य छैन बरु कुनै ‘हरर’ मुभीका खलपात्र जस्तो डरलाग्दो देखिन्छ। आखिर किन? कारण खोतल्ने हो भने यति भन्न सकिन्छ, नेपाल भित्रिंदा होस् या बाहिरिंदा सेवाग्राहीहरू लम्बेतान लाइन, हैरानी र कर्कश बोली सुन्न बाध्य छन्। अध्यागमन समयमै सेवा दिन चुक्यो। सेवाको नित्य सुधारतर्फ ध्यान दिन चुक्यो अनि थुप्रै र पटके कमजोरी दोहोर्‍याइरह्यो। त्यसैले नाम कम, बढी बदनाम छ अध्यागमनको।

राजनीतिज्ञ र प्रशासक दुवैको जिब्रोमा ‘अध्यागमन देशको मुहार हो’ भन्ने थेगो बनिसकेको छ। ‘अध्यागमन सुधारौं’ भन्दै मच्चिंदै गरिने भाषण, दिइने थरीथरी निर्देशन र तयार पारिने प्रतिवेदन मानौं ‘कपी-पेस्ट’का शृङ्खला लामो समयदेखि चलेका छन्। भाषणका कुरा व्यवहारत: नहुँदा निराशा झन्–झन् बढ्दो छ। ‘भिजिट भिसा’ प्रकरण त्यसैको पछिल्लो परिघटना हो । ‘भिजिट भिसा’ प्रकरणले संसद् तताएको धेरै दिन भइसकेको छ।

भिजिट भिसा वा अन्य भिसाको सेटिङमा बिचौलिया, एजेन्ट, स्वास्थ्य परीक्षणदेखि विदेशी मुद्रा सटही गर्ने संस्था, एअरलाइन्सदेखि भ्रमणमा लैजाने संघसंस्थासम्म प्रत्यक्ष-अप्रत्यक्ष जोडिएका हुन सक्छन्। त्यसैले सतही रूपमा नहेरेर जरासम्मै पुगेर जालो भत्काउनुपर्छ।

भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको भन्दै केही राजनीतिक दलले निष्पक्ष छानबिनको माग राखेर प्रतिनिधिसभामा लगातार प्रदर्शन गरिरहेका छन्। विपक्षी दलले सदन नै अवरुद्ध पार्दै प्रदर्शन गरेपछि सरकारले पूर्व मुख्यसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको छ। तैपनि केही दल सभा बहिष्कार गरिरहेका छन्।

समितिले कार्यादेश अनुरुप अध्ययन गर्ला। सत्यतथ्य बटुलेर पर्याप्त सुझाव देला। केही त्यसको प्रतीक्षामा छन्, केही विरोधमा। सुधार केवल अध्यागमनको मात्र नभई सम्बद्ध अन्य सरोकारवाला वा समग्र प्रणालीमै आवश्यक देखिन्छ। त्यसैले प्रस्तुत लेखमा हामीले त्रिभुवन विमानस्थलको अध्यागमन सेवाका साथै यात्रु आवागमनलाई सुधार्न गरिहाल्नुपर्ने १० कामको चर्चा गरेका छौं।

 . सेटिङको जालो भत्काऔं

चिलले टपक्क चल्ला टिपेर उडे झैं भिजिट वा अन्य कुनै भिसा व्यक्तिले कतै खोपीबाट थपक्क टिपेर हिंड्ने होइन। त्यसको निश्चित प्रक्रिया छ। निश्चित व्यक्ति, संस्थाको संलग्नता हुन्छ। तर, अपजस अध्यागमनका कर्मचारीले पाएको देखिन्छ। भिजिट भिसा वा अन्य भिसाको सेटिङमा बिचौलिया, एजेन्टहरू, वैदेशिक रोजगारमा पठाउन संलग्न हुने केही व्यक्ति वा संस्था, स्वास्थ्य परीक्षण गराउनेदेखि विदेशी मुद्रा सटही गर्ने केही संस्थाहरू, एअरलाइन्सदेखि तीर्थयात्रा, सांगीतिक कार्यक्रम, शैक्षिक वा अध्ययन भ्रमणमा लैजाने संघसंस्था जस्ता थुप्रै पात्र प्रत्यक्ष-अप्रत्यक्ष जोडिएका हुन सक्छन्। त्यसैले भिजिट भिसा वा अन्य भिसाको समस्यालाई सतही रूपमा नहेरेर जरासम्मै पुगेर जालो भत्काउनुपर्छ।

 . चाहिने कर्मचारी खटाऔं

बोर्डिङ पास बोकेर पहिलो तलामा उक्लिएपछि अध्यागमन प्रस्थान कक्ष। लहरै बाइस काउन्टरको आँगनीको घचारो र हैरानी बेग्लै छ। प्रतिसिफ्ट दुई जना सेक्युरिटी गार्डले ४-५ हजार यात्रुको लाइन व्यवस्थापन गर्नुपर्ने। उही गार्ड छिनमा विदेशीको लाइनमा पुग्नुपर्ने। छिनमै पल्लो कुनामा। कुनै बेला यात्रुलाई यता जान भनिरहेछ। छुट्नै लागेका फ्लाइटका यात्रुलाई भीडबाट निकालेर अलग्गै लाइनमा राखिरहेछ। गार्ड आजकै मितिमा थप्नुपर्छ।

भाषा, शिष्टता र प्रविधिको ज्ञान जाँचेर मापदण्डका आधारमा विभिन्न तहका कर्मचारी खटाउनुपर्छ। कर्मचारी दोहोर्‍याई-तेहर्‍याई फर्कीफर्की जाने प्रवृत्ति अन्त्य हुनुपर्छ। व्यक्तिभन्दा संगठनको आवश्यकतामा कर्मचारी पठाउनुपर्छ। अंग्रेजी प्रायः कमजोर हुने चिनियाँ र बंगलादेशी पर्यटक ठूलै सङ्ख्यामा नेपला भित्रिन्छन्। ती दुवैसँग कुनै ‘इस्यु’मा दोहोरो संवाद गर्नुपरे अध्यागमनका कर्मचारीलाई चिनियाँ या बंगलादेशी भाषा जान्ने कुनै एअरलाइन्सका स्टाफ गुहार्नुपर्छ। कहिलेकाहीं खोजेको बेलामा ती भेटिंदैनन्। कम्तीमा यी दुई भाषा बोल्ने जनशक्ति करारमा राख्‍ने व्यवस्था मिलाउनुपर्छ।

 . चेकजाँच घटाऔं

एआईको जमानामा पनि भीड अनुसार प्रविधि र उपकरण छैनन्। इ-गेट थप्नुपर्नेछ। काउन्टरहरू र सेवा प्रविधिमैत्री बनाउनुपर्नेछ। इन्टरनेटको गति बढाउनुपर्नेछ। तर, नयाँ उपकरण खरिद गर्ने अधिकार कार्यालयलाई छैन, मर्मतको लागि बजेट छैन।

२०५७/५८ सालतिर, द्वन्द्वकालमा एसएलसी चलिरहेथ्यो। त्यतिबेला पत्रिकामा छापिएको एउटा कार्टुन अहिले पनि दिमागमा छापिएको छ। जहाँ परीक्षार्थीले भन्दै गरेको देखिन्थ्यो “आज मेरो एसएलसी परीक्षा। गेटमा प्रहरीले जाँच्छ। भित्र छिर्नासाथ कुकुरले सुँघेर जाँच्छ। परीक्षा हलमा छिर्नुअघि गार्डले जाँच्छ। अनि मात्र मेरो जाँच छ।” त्यही कार्टुनको परावर्तन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ। चेकजाँच ठाउँठाउँमा छ। मूलद्वार प्रवेश गर्दा। भित्र छिर्दा। बोर्डिङ गर्दा। अध्यागमनमा। प्रस्थान अनुमतिपछि फेरि जुत्ता, घडी, बेल्ट फुकालेर मोबाइल, पर्स सबै झिकेर।

बोर्डिङ गर्दाको हैरानी बेग्लै। “टिकट हेर्नु, लगेज तौल जाँच गर्नु नि! क्षेत्राधिकारै नाघेर भिजिट भिसामा जानेको नाता प्रमाणितदेखि डलर साटेकोसम्म हेर्छन् बोर्डिङ गर्दा” भन्ने गुनासो गर्छन् यात्रुहरू। सुरक्षा जाँच एक ठाउँमा गरौं। त्रुटिरहित गरौं। प्रविधिमैत्री बनाऔं। सबै निकायले आ-आफ्नो कार्यक्षेत्रभित्र रहेर चेकजाँच गरौं। सबैले जथाभावी कागजात जाँच गर्दा यात्रुको हैरानी बढेको छ।

 . भनसुनलाई डाँडा कटाऔं

नियमले दिएभन्दा बढी सामान बोकेर जाने यात्रुको संस्कार र प्रवृत्ति छ। यसका उसका सामान बटुलेर लैजाने अनि एअरलाइन्स काउन्टरमा “दुई किलो त हो। मिलाइदिनु न!” भन्दै बाझ्ने। कुनैबेला एक जना अधिकृत मित्रले फोन गरेर “यार, मेरो फलानो आफन्त युरोप जाँदैछ। सामान ३-४ किलो बढी छ। एअरलाइन्सलाई भन्दे ल प्लिज!” भनेपछि उसको ‘रिक्वेस्ट’ एअरलाइन्सतिर ‘फरवार्ड’ गरियो। एकछिनपछि एअरलाइन्सको रेस्पोन्स- “सरको अनुरोध हार्न नसकेर दुइटा लगेजमा दुई-दुई किलोसम्म ‘एडजस्ट’ गर्न खोजेको। मेडमले घरबाट जोखेरै, जानेरै चौध किलो सामान बढी ल्याउनु भएछ। दुवै लगेजमा पाँच-पाँच र ह्यान्डक्यारीमा चार किलो बढी। नसक्ने भएँ सर मिलाउन।” लज्जित मुद्रामा फिस्स गर्नुबाहेक केही रहेन।

अझ इकोनोमी क्लासको टिकट काटेर बिजनेस क्लासमा राखिदिन भन्‍ने। लाइनमा उभिनै नपरे हुन्थ्यो ठान्ने। आफूलाई भीआईपी भन्दै लाइन बस्न नखोज्ने। आफैं नआई पासपोर्ट मात्र स्क्यान गरिदिन सहयोगी पठाउने। राम्रो सिट मिलाई दिन अनुरोध गर्ने। फर्किंदा लाइनमा कुर्नुपरे “विदेशमा यस्तो छ, नेपाल कहिल्यै सुध्रिदैन!” भन्दै फलाक्ने वर्ग पनि छ। भनसुन संस्कृति सुधारौं।

 . उपकरण नयाँ पठाऔं

देशको मुहार भनिने अध्यागमनसँग डेस्कका कर्मचारीलाई कालो चिया खुवाउनसम्म बजेट छैन। चर्को मूल्यसूचीका कारण एअरपोर्टभित्रको क्याफे रोजाइमा पर्दैन। अनि कर्मचारी कहाँबाट उत्प्रेरित हुनु? सुधारका ठूला–ठूला गफ गर्नुअघि सोचौं न।

अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक पचासभन्दा बढी फ्लाइटमा ७-८ हजारै यात्रु आउँछन् जान्छन्। राति ११ बजे एकै घण्टामा १०-१२ फ्लाइट हुन्छन्। फ्लाइट समय अध्यागमनले मिलाउने होइन। एकैपटक धेरै फ्लाइट हुँदा भीड हुन्छ। अनि अध्यागमनका कर्मचारीले काम गरेनन् भन्ने आरोप लाग्छ। एआईको जमानामा पनि भीड अनुसार दुरुस्त प्रविधि र उपकरण छैनन्। मान्छे हुन्, मेसिन होइनन् भन्ने हेक्का गर्दै नवीन उपकरण ल्याउनुपर्नेछ। इ-गेट थप्नुपर्नेछ। काउन्टरहरू र सेवा प्रविधिमैत्री बनाउनुपर्नेछ। इन्टरनेटको गति बढाउनुपर्नेछ। अध्यागमन डेस्कहरू माइक जडित छैनन्। जडित उपकरणले राम्ररी काम गर्दैनन्। नयाँ उपकरण खरिद गर्ने अधिकार कार्यालयलाई छैन, मर्मतको लागि बजेट छैन।

 . कर्मचारी उत्प्रेरणा जगाऔं

अध्यागमनमा कर्मचारी पठाइन्छ। नयाँ कर्मचारी एकाध घण्टे तालिमको भरमा काम गर्छन्। गल्ती गर्दै, सिक्दै जान्छन्। संसारभर विवेकको प्रयोग गर्न अधिकारसम्पन्न अध्यागमन अधिकृतलाई छुट हुन्छ, यहाँ यति बुँदे र उति बुँदेले तिनको अधिकारलाई संकुचित गरेको देखिन्छ। कर्मचारीलाई सट्टा बिदा बाहेक एक वर्षमा एक महिनाको तलब र १२-१५ दिनमा जबरजस्ती गरेर लिइने एक दिनको बिदा बाहेक उत्प्रेरणा छैन। २४सै घण्टा सेवा दिने अध्यागमनका कर्मचारीलाई रातिको ड्युटीमा घरसम्म छोडिदिने व्यवस्था छैन। भ्यानसहित तेह्र गाडी छन्। तर अधिकांश इन्धन अभावदेखि मर्मत नभएर थन्किएको ठाउँबाट सरेको देखिंदैनन्। कहिलेकाहीं महिनौं कर्मचारीको चरम अभाव खेप्ने अध्यागमनमा बाइसमध्ये केवल चार डेस्कबाट सेवा दिनुपरेको, तीनै कर्मचारी कुदाकुद गर्दै छिनमा ‘डिपार्चर’ छिनमै ‘अराइभल’मा पुगेर काम गरेको पनि देखिन्छ।

नेपालमा यति धेरै अधिकृत कर्मचारी भएको कार्यालय यही हो र कर्मचारी संख्याको आधारमा यति थोरै बजेट भएको कार्यालय पनि यही। कुनै मन्त्रीको सचिवालय वा क्वार्टरको मासिक खर्च लाखौं हुन्छ। तर, देशको मुहार भनिने अध्यागमनसँग डेस्कका कर्मचारीलाई कालो चिया खुवाउनसम्म बजेट छैन। एअरपोर्टभित्रको क्याफेमा खान चर्को मूल्यसूचीले सम्भव छैन। अनि कर्मचारी कहाँबाट उत्प्रेरित हुनु? सुधारका ठूलाठूला गफ गर्नुअघि सोचौं न।

 . गैरयात्रुको भीड हटाऔं

वर्षौंअघि विदेशिंदै गरेका एक जना आफन्तलाई ‘सिअफ’ गर्न बाइसजना पुगेछौं। विमानस्थल हो कि बिदाइस्थल ‘कन्फ्युज’ भइएको थियो त्यो दिन। तर, अवस्था अहिले पनि बदलिएको छैन। एक जनालाई बिदाइ गर्न सात-आठ जना पुग्ने प्रवृत्तिले मान्छेहरूको भीड एअरपोर्टमा उस्तै देखिन्छ। सहजीकरण चाहिने अवस्था बाहेक गैरयात्रुको प्रवेशमा रोक लगाए अनावश्यक भीड नियन्त्रण भई एअरपोर्टको मुहार उज्यालो हुन थाल्नेछ। अध्यागमनसँग प्रत्यक्ष नजोडिए पनि आवागमनसँग जोडिएको विषय भएकाले यसमा सुधार चाहिन्छ।

 . पास वितरण सुधारौं

पास झुण्ड्याएर अनधिकृत प्रवेश गरेर अध्यागमन हातामा यताउति गरिरहेकी एक महिला। केरकारपछि थाहा भयो अध्यागमन त के एअरपोर्टभित्र कुनै निकायको कर्मचारी हैनन्। उनले आफन्त भन्दै लाइन मिचेर ल्याएका यात्रु आफन्त पनि रहेनछन्। विशुद्ध बिचौलिया परिछिन्। पासवाली बिचौलिया।

अलग्गै पास युनिट छ विमानस्थलमा। कतिपयलाई सहजै पास दिने अफिसले अत्यावश्यक सेवामा खटिनुपर्ने अध्यागमन या अन्य निकायका कर्मचारीको पास कारणवश घरमै छुटे या हराए सहजै पास दिंदैन। परिचयपत्र देखाउ। ड्युटीलिस्टमा आफ्नो नाम देखाउ। केही हुनेवाला छैन। चिट्ठी मागिन्छ। तोक लगाइन्छ। माथि अध्यागमनमा यात्रु पासपोर्टमा छाप लगाउन पर्खेको पर्खियै, यता कर्मचारी पास लिन कुरेको कुर्‍यै।

 . क्यानलाई एक्टिभ बनाऔं

नेपाल नागरिक उड्डयन प्राधिकरण। बोलीचालीमा क्यान। उसको सम्पत्ति अध्यागमन र अन्य सेवा प्रदायक मानौं भोगचलन गरिरहेछन्। पानी, बिजुली, सरसफाइ, सुरक्षा सबै क्यानले हो हेर्नुपर्ने। यात्रुको सबैभन्दा भीड हुने प्रस्थान कक्षमा लाइनमा पर्खिने यात्रुलाई शौचालय छैन। कहिलेकाहीं घण्टौं लाइन बस्नुपर्दा यात्रु अध्यागमनलाई गाली गर्छन्। फ्रि वाईफाई लेखेको देख्दा यात्रुको मन खुसी हुन्छ तर मोबाइलले मुख लट्काइरहन्छ।

बत्ती बिग्रिए क्यानले फेर्ने हो। कतिपय बत्ती जूनकिरी झैं महिनौंसम्म पिलपिल गरिरहन्छन्। ठाउँठाउँमा पिउने पानी देखिंदैन। यात्रुको खचाखच भीडमा उकुसमुकुस गर्मी हुँदा क्यानसँगै हुने एसीको रिमोट कन्ट्रोल चल्दैन। अध्यागमन हाता साउण्डप्रुफ छैन। कोलाहल माहोलमा यात्रु, कर्मचारी ‘इरिटेट’ हुन्छन्। भुइँ फोहोर भए गुहार्नुपर्छ क्यानका सरसफाइ कर्मचारीलाई। यात्रुले त खोजेको सेवा नपाउँदा या भद्रगोल देख्दा डेस्कमा बसेका इमिग्रेसनकै कर्मचारीको नालायकी मान्ने हुन्। मुख्य जिम्मेवारी आफ्नै ठाउँमा होला, यस्ता काममा पनि क्यान सक्रिय र सतर्क बन्नुपर्छ।

 १०. समन्वय बढाऔं

त्रिभुवन विमानस्थलमा सेवा दिन अध्यागमन सहित ३२ सरकारी र अन्य थुप्रै निकाय छन्। आउने–जाने यात्रु र विमानस्थलको भौतिक सुरक्षा तथा अवैध क्रियाकलाप रोक्नदेखि भीड व्यवस्थापनको लागि सुरक्षा निकायहरू। यात्रुले ल्याउने सरसामान चेकजाँचको लागि भन्सार र सशस्त्र प्रहरी बल। राजस्व संकलन गर्न र मुद्रा साट्न बैंकहरू। सरकारी निकायहरूको आ-आफ्नै भूमिकाका बाबजुद ‘डिपार्टमेन्टल इगो’ पनि उत्तिकै हावी छ। विभिन्न निकायका कर्मचारी बीच मनमुटावदेखि हात हालाहालसम्म हुन्छ। एकले अर्का निकायको कार्यक्षेत्रमा हस्तक्षेप गर्न खोज्ने प्रवृत्ति समेत भएकोले निकायहरू बीच समन्वय र सहकार्य बढाउँदै जानुपर्छ।

 अन्त्यमा,

हालसम्म अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सुधारका प्रयास कम, गफ धेरै भए। अहिले उच्चस्तरीय समिति बनेर अर्को र आशलाग्दो प्रयास देखिएको छ। नतिजा समयले बताउला। तर पनि, अध्यागमनमा देखिने, अनुभूत हुने सुधारको लागि आफ्नो अनुभव समेतका आधारमा भन्छौं- नापेरै ठूला-ठूला गफ दिन, भाषण गर्न, निर्देशनमाथि निर्देशन थप्न र मिडियाबाजी गर्न रोक्नुपर्छ। माथिका सानातिना काम खुसुखुसु गर्न सके यात्रु खुसी हुनेछन्। टाउको निहुराएर सेवा दिइरहेका इमानदार कर्मचारी गर्व महसुस गर्नेछन्। सरकारलाई पनि “मेरो देशको अध्यागमन हेर्नुहोस्” भन्ने ठाउँ हुनेछ। अध्यागमनको विकल्प सुधारिएको अध्यागमन हो। त्यसैले विकल्प खोज्नेभन्दा सुधारहरू गर्दै अध्यागमनलाई सङ्लो बनाउँदै जानुपर्छ। यसमा विमानस्थलमा रहेका सुरक्षा निकायलगायत सबैले अध्यागमनलाई सघाउनुपर्छ। अब सुधारमा धार लगाऔं। सुधारबाटै पार लगाऔं।

(कोइराला प्रमुख अध्यागमन अधिकृत हुन् भने उपाध्याय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?