+
+
Shares

चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट पुग्दैछ अन्तरिक्ष

जब यो स्याटेलाइट चीनबाट अन्तरिक्षमा उड्नेछ, त्यसले चेपाङ समुदायको गर्व र नेपालको वैज्ञानिक भविष्यलाई एक कदम अघि बढाउने विश्वास विद्यार्थीको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार ३२ गते २१:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको नवोदय माध्यमिक विद्यालयका चेपाङ विद्यार्थीहरूले \'स्लिपर्स टु स्याट\' परियोजनामार्फत स्याटेलाइट बनाएर नेपालको अन्तरिक्ष अनुसन्धानमा ऐतिहासिक कदम चाले।
  • परियोजना अन्तरगत १२० विद्यार्थीलाई तालिम दिइएको थियो र ९ जना मुख्य जिम्मेवारीका लागि छानिएका थिए, जसले १४ महिनामा स्याटेलाइट निर्माण सम्पन्न गरे।
  • स्याटेलाइट १५ सेप्टेम्बरमा चीनबाट प्रक्षेपण गरिनेछ र ग्राउन्ड स्टेसनमार्फत डाटा संकलन तथा विश्लेषण गर्ने काम चेपाङ विद्यार्थीहरूले गर्नेछन्।

३२ असार, काठमाडौं । प्रविधिको युगमा हरेक नयाँ पुस्ता केही नयाँपन लिएर आउँछ । चेपाङ समुदायका विद्यार्थी पनि नयाँ-नयाँ कुरा अन्वेषण गर्दैछन् । त्यसको पछिल्लो उदाहरण हो- स्लिपर्स टु स्याट ।

चितवनको नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीले स्याटेलाइट बनाएर नेपालको अन्तरिक्ष अनुसन्धानमा ऐतिहासिक कदम चाले ।

‘स्लिपर्स टु स्याट’ परियोजनामार्फत यी किशोर-किशोरीले सीमित स्रोतसाधन र अथक मिहिनेतको बलमा स्याटेलाइट बनाए, जुन १५ सेप्टेम्परमा छिमेकी मुलुक चीनबाट प्रक्षेपण गर्ने तयारी छ ।

‘स्लिपर्स टु स्याट’ परियोजना २०८१ मा सुरु भएको थियो । अन्तरिक्ष प्रतिष्ठान नेपालको पहलमा चितवनको नवोदय र अन्तोदय माध्यमिक विद्यालयबाट १२० जना विद्यार्थी तालिमको लागि छनोट भए । ७ दिनको तालिममा उनीहरूलाई आधारभूत इलेक्ट्रोनिक्स, कम्प्युटर सञ्चालन र कोडिङ सिकाइयो ।

‘हामीलाई सुरुमा स्याटेलाइट भनेको के हो, केही थाहा थिएन,’ परियोजनामा सहभागी विद्यार्थी अमृत चेपाङले भने, ‘कम्प्युटर अन-अफ गर्न पनि डर लाग्थ्यो । हामीले कहिल्यै कम्प्युटर चलाएका थिएनौं । तर मेन्टरहरूले सरल तरिकाले सिकाउनुभयो ।’

तालिममा विद्यार्थीलाई इलेक्ट्रोनिक्सका सामान्य सामग्री, क्यामेराबाट फोटो खिच्ने, चित्र बनाउने र कोडिङका आधारभूत ज्ञान सिकाइयो । कक्षा ८ र ९ मा अध्ययनरत यी विद्यार्थीमध्ये ९ जना स्याटेलाइट निर्माणको मुख्य जिम्मेवारीका लागि छानिए । उनीहरूको चयन तालिममा देखाएको सक्रियता र सिकाइको आधारमा भएको थियो । सम्बन्धित विद्यालयले यसमा धेरै सहयोग गरेको ‘स्लिपर्स टु स्याट’का प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारी बताउँछन् ।

कम्प्युटर चलाउन नजान्ने विद्यार्थीलाई लिएर स्याटेलाइट बनाउने कुरा सोचेजस्तो सहज थिएन । यो यात्रा निकै चुनौतीपूर्ण रह्यो । चेपाङ विद्यार्थीले स्कुलको पढाइ, गृहकार्य र परियोजनाको जिम्मेवारीलाई सन्तुलन गर्नुपर्थ्यो । विद्यालय तहमा चलेको यस्तो परियोजना र नियमित पढाइलाई अगाडि बढाउन पनि सोचजस्तो सहज थिएन । बिहान स्कुलमा नियमित कक्षा पढ्थे, दिउँसो ४:३० देखि ६ बजेसम्म स्याटेलाइटको काम गर्थे । बेलुका स्कुलका गृहकार्य सक्थे ।

स्याटेलाइटको काममा यी ९ जना विद्यार्थीलाई सघाउन ६ जना मेन्टर थिए । उनीहरूले स्याटेलाइटका विभिन्न मिसनमा काम गरे । विद्यार्थी अमृतका अनुसार स्याटेलाइटमा चारवटा मुख्य मिसन छन् ।

पहिलो, क्यामेरा मिसन जसले पृथ्वीको सतहमा पानीको मात्रा र प्राकृतिक अवस्था अध्ययन गर्न सहयोग गर्छ ।

दोस्रो, इपिडियम मिसन जसले भूकम्प आउनुभन्दा केहीअघि पृथ्वीको सतहमा हुने स-साना हलचल पत्ता लगाउँछ ।

तेस्रो, एडिसीएस (एटिट्युड डिटर्मिनेसन एन्ड कन्ट्रोल सिस्टम) जसले चुम्बकको प्रयोगले स्याटेलाइटको दिशा नियन्त्रण गर्छ ।

र, चौथो, डिजिटिबिटर जसले सूचनाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्छ ।

यी मिसनहरूका लागि स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, इलेक्ट्रोनिक पावर सिस्टम र कम्युनिकेसन सिस्टमजस्ता ‘बस सिस्टम’हरू राखिएको छ ।

यहीबीचमा विद्यार्थीले थ्रीडी प्रिन्टिङदेखि कोडिङसम्मका प्राविधिक कामहरू सिके । ‘हामीले विस्तारै कोडिङ र थ्रीडी चित्र बनाउन सिक्यौं,’ अमृतले भने, ‘सुरुमा सामान्य चित्र बनायौं, पछि थ्रीडी डिजाइनमा काम गर्यौँ ।’

यसरी १४ महिनाको अथक प्रयासपछि १५ असार २०८२ मा स्याटेलाइट निर्माण सम्पन्न भयो । यो स्याटेलाइट अब ग्राउन्ड स्टेसनमार्फत सञ्चालन हुने र डाटा संकलन गर्ने चरणमा छ । कम्प्युटर छुँदा पनि बिग्रेला कि भनेर डराउने यी विद्यार्थीले स्याटेलाइट बनाएकोमा अभिभावक आश्चर्यचकित छन् ।

शीतल प्रजा, सुहान प्रजा, सजिना चेपाङ, एलिसा प्रजा, बिनामाया प्रजा, शिवकुमार चेपाङ, सुमिना तितुङ, रानासिंह चेपाङ र अमृत राजा आफ्नो यो फड्कोबाट खुसी छन् ।

‘हामीलाई सुरुमा विश्वासै थिएन, हामी स्याटेलाइट बनाउन सक्छौं भनेर । झन् हाम्रो बुवा-ममीलाई यी कुरामा विश्वास नै थिएन । तर अहिले ‘तिमीहरूले साँच्चै त्यस्तो बनाएका हौ’ भन्नुहुन्छ,’ अमृतले सुनाए ।

गाउँकै स्कुलमा चेपाङ विद्यार्थीले स्याटेलाइट बनाउनु आफैँमा आश्चर्यजनक थियो । अभिभावकले त जीवनमा आफ्ना सन्तानले यस्ता काम गर्लान् भन्ने विश्वासै गरेका थिएनन् ।

शीतल प्रजा, सुहान प्रजा, सजिना चेपाङ, एलिसा प्रजा, बिनामाया प्रजा, शिवकुमार चेपाङ, सुमिना तितुङ, रानासिंह चेपाङ र अमृत राजा आफ्नो यो फड्कोबाट खुसी छन् ।

‘घरमा बुवा-आमाले त पत्याउनुभएको थिएन । पत्याउनु पनि कसरी ? अहिलेको अवस्थामा हाम्रो समुदायको नाम अन्तरिक्षसम्म पुग्ने कुरा अहिलेको लागि त सपनाजस्तै थियो नि,’ अमृतले भने ।

चितवनको ग्रामीण क्षेत्रमा बस्ने यी विद्यार्थीको पारिवारिक पृष्ठभूमि सामान्य छ । अधिकांश परिवारहरू चिउरी बेचेर र स-साना खेतीपाती गरेर जीविकोपार्जन गर्छन् । त्यसैले स्याटेलाइट बनाउँछौँ भनेर सुनाउँदा साथीहरूले समेत उडाए । जिस्क्याए । गाउँमा कसैको लागि यो कुरा विश्वसनीय थिएन ।

अब यी विद्यार्थीको सोच पनि फेरिएको छ । सुरुमा शिक्षक बन्ने सपना देखेका यी विद्यार्थी ‘स्लिपर्स टु स्याट’ सफल भएसँगै आफ्ना सपनालाई अन्तरिक्षसम्म तन्काउन सफल भएका छन् । अमृत पनि अब विज्ञान पढ्ने सोचमा छन् । उनलाई इन्जिनियर बन्नु छ ।

अमृतले उत्साहित हुँदै अनलाइनखबरसँग भने, ‘मलाई त अन्तरिक्ष अनुसन्धानमै काम गर्ने मन छ ।’

यता, स्याटेलाइटको काम सकिए पनि प्रोजेक्टबाट बाहिरिने समय भएको छैन । पढाइ सँगसँगै स्याटेलाइट प्रक्षेपणपछि ग्राउन्ड स्टेसनबाट हुने डाटा संकलन र विश्लेषणको कामलाई निरन्तरता दिनुछ । स्याटेलाइटले भूकम्पको पूर्वसूचना, पृथ्वीको पानीको मात्रा र अन्य वैज्ञानिक जानकारीहरू प्रदान गर्ने भएकाले त्यसको नियमित अपडेट उनीहरुले राख्नुपर्ने हुन्छ । अन्तरिक्ष प्रतिष्ठान नेपालसँगै सहकार्य गरेर यी काम चेपाङ विद्यार्थीले गर्नेछन् ।

जब यो स्याटेलाइट चीनबाट अन्तरिक्षमा उड्नेछ, त्यसले चेपाङ समुदायको गर्व र नेपालको वैज्ञानिक भविष्यलाई एक कदम अघि बढाउने विश्वास यी विद्यार्थीको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालमा कार्यरत ऋषभ अधिकारी, जो स्लिपर्स टु स्याटका प्रोजेक्ट म्यानेजर पनि हुन्, उनी पनि यसरी चेपाङ विद्यार्थीले गरेको मिहिनेत अन्तरिक्षमा घुम्नु गर्वको कुरा रहेको बताउँछन् ।

हुन पनि चितवनको नवोदय माध्यमिक विद्यालयमा चेपाङ समुदायका विद्यार्थीले बनाएको स्याटेलाइट नेपालको अन्तरिक्ष अनुसन्धानमा ठूलो कदम हो । त्यो पृष्ठभूमिका विद्यार्थीले यो तहको काम गर्नु सामान्य हैन । कारण, अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले नेतृत्व गरेको ‘स्लिपर्स टु स्याट’ परियोजनाले ग्रामीण विद्यार्थीलाई अन्तरिक्ष प्रविधिमा जोड्यो ।

‘हाम्रो लक्ष्य सीमित स्रोत-साधन भएका विद्यार्थीलाई अवसर दिनु थियो,’ अधिकारीले भने, ‘यो स्याटेलाइट, जुन २०८२ असारमा सम्पन्न भयो, अब सेप्टेम्बर १५ मा चीनबाट प्रक्षेपण हुने तयारीमा छ ।’

चेपाङ विद्यार्थीसम्म पुगेको यो परियोजनाले विभिन्न चरण पार गर्नुपर्यो । सुरुवातमा परियोजना लमजुङ, मकवानपुर र चितवनका तीन स्कुलमा चारदिने तालिमबाट सुरु भएको थियो । लमजुङको भैरव र मकवानपुरको श्री राष्ट्रिय स्कुलमा तालिम दिइएको थियो । तर अन्त ढुवानी र पूर्वाधार समस्याका कारण अन्तरिक्ष प्रतिष्ठान नेपालले नवोदयलाई उपयुक्त ठान्यो ।

चितवनको करैयामा रहेको नवोदयको पहुँच र ल्याब संरचनाले काम सहज बनायो । त्यहीँको अन्तोदयका विद्यार्थीलाई पनि नवोदयमै तानियो, छात्रवृत्ति मिलाएर । यसमा स्थानीय प्रधानाध्यापक र अभिभावकको साथ राम्रै मिल्यो । अन्ततः अन्तोदय स्कुलका तीनजनालाई नवोदयमै ल्याएर प्रोजेक्ट सम्पन्न गराइयो । स्याटेलाइट बनेपछि ती तीनजना विद्यार्थी फेरि अन्तोदय स्कुलमै फर्किएको अधिकारीले बताए । ‘यो प्रोजेक्टको लागि टाढाको विद्यालयमा आउन रुचि देखाउनुले पनि विद्यार्थीमा कति प्यासन थियो भन्ने देखिन्छ,’ अधिकारीले भने ।

यसरी सबै व्यवस्था भए पनि सिकाउन सहज थिएन । किनकि, विद्यार्थीले कम्प्युटर सुनेका थिए, छोएका थिएनन् । राम्रोसँग छुन, खोल्न पनि डराउँथे । टिमले आधारभूत कम्प्युटर सञ्चालन, कोडिङ र थ्रीडी डिजाइन सिकायो । ‘हामीले एकदम सरल भाषा र धेरै धैर्यताले सिकायौं । उनीहरूको जिज्ञासाले पनि हामीलाई हौसला दिएको थियो,’ अधिकारीको अनुभव छ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?