
३२ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार काठमाडौंमा महत्त्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बनाउन सरकार अग्रसर हुनुपर्ने बताए ।
‘निजी व्यवसायीहरूले देश विकासको लागि चाहे विदेशी मुद्रा भित्र्याउने कुरा गरौं चाहे एक्सपोर्टको कुरा गरौं उनीहरूले आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि नेपाल र नेपाली जनताको हितका लागि योगदान गर्ने भएको हुनाले नेपाल सरकारका पोलिसी मेकर र अन्य सरोकारवाला निकयाहरूले निजी क्षेत्रलाई लगानी गर्नको लागि इन्करेज गर्नको लागि कन्जुस्याइँ गर्न नहुने मेरो धारणा छ,’ अध्यक्ष ढकालले भने ।
निजी क्षेत्रले व्यवसायिक लाभका लागि मात्र नभई मुलुकमा विदेशी मुद्रा भिर्त्याउने, वस्तु तथा सेवा निर्यात गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने लगायत राष्ट्रको हितमा काम गरिरहेको उनले बताए ।
‘यसले कर उठाउने, रोजगारी सिर्जना गर्ने र वस्तुको निर्यातमा समेत महत्त्वपूर्ण योगदान हुनेछ । यसतर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया 4