+
+
Shares

ठेक्का रद्द भएको ५ महिनापछि धुलिखेल–खावा सडकको नयाँ बोलपत्र आह्वान

अघिल्लो पटक ठेक्का पाएको गौरी पार्वती निर्माण सेवाले सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि गत २५ फागुनमा सूचना प्रकाशन गरी सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको थियो ।

कपिल कोइराला कपिल कोइराला
२०८२ साउन १ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको धुलिखेल–खावा सडकको लागि १४ महिनामा काम सक्ने गरी नयाँ ठेक्का आह्वान गरेको छ।
  • सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पुरानो ठेक्का रद्द गरी ४२ करोड रुपैयाँको स्रोत सुनिश्चित भएको बताए।
  • ठेक्का तोडिएपछि निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेकोमा अदालतले खारेज गरेपछि नयाँ बोलपत्र आह्वान गर्न बाटो खुलेको थियो।

१ साउन, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको धुलिखेल–खावा सडकको लागि नयाँ ठेक्का आह्वान भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको धुलिखेल–खावा सडक आगामी १४ महिनामा काम सक्नेगरी बिहीबार बोलपत्र प्रकाशन गरेको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पुरानो ठेक्का रद्द गरेर १४ महिनामा काम सक्नेगरी नयाँ ठेक्का आह्वान गरेको जानकारी दिए ।

‘नेपाल सरकारबाट ४२ करोडको स्रोत सुनिश्चित भएको र १४ महिनाको अवधि तोकेर नयाँ बोलपत्र आह्वान भएको छ,’ योगेशले भने ।

नयाँ ठेक्कामा पनि आगामी वर्षको मनसुन सुरु नहुँदै सडकको कालेपत्रे गर्ने काम सक्नेगरी ठेक्का सम्झौता हुने उनको भनाइ छ ।

पुरानो भन्दा केही स्थान जस्तै: जिल्ला प्रशासन र समन्वय, धुलिखेल क्याम्पस लगायतका संरचना जोगाउन ‘स्लोप प्रोटेक्सन वाल’ तथा विभिन्न स्थानमा पहिरो झर्न नदिनको लागि वाल लगाउन नयाँ

अनुमानित योजना तयार भएको र अन्य काम भने अघिल्लो डिजाइन अनुसार नै हुने प्रमुख सिनियर डिभिजनल इन्जिनियर योगेशले जानकारी दिए ।

‘पिचको काम आगामी चैत–बैशाखभित्रै सकिने गरी र बाँकी काम १४ महिना भित्र गर्ने गरी अनुमानित योजना तयार भएको छ,’ योगेशले भने ।

उनका अनुसार ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डीबीएम र अस्फाल्ट कालोपत्र गर्ने गरी सडक निर्माण हुनेछ । नेपालमा हालै मात्र प्रयोगमा आएको कालोपत्रको विधि मुग्लिन–पोखरा सडकखण्डमा समेत प्रयोग गरिएको छ ।

अरनिको राजमार्गको धुलिखेल खावा सडकको पुरानो ठेक्का रद्द भएपछि सडक निर्माणमानै अन्योल भएको थियो ।

ठेक्का रद्ध भएपछि अदालत गएको पुरानो निर्माण व्यवसायी गौरी पार्वती निर्माण सेवाले सडक डिभिजन कार्यालय भक्तपुरविरुद्ध उच्च अदालत पाटनमा हालेको मुद्दा न्यायाधीश डाल कुमार श्रेष्ठ र डील्लीराज श्रेष्ठको सयुक्त इजलासले खारेज गरेको थियो । मुद्दा खारेज भएसँगै सडक निर्माणका लागि नयाँ बोलपत्र आह्वान गर्न बाटो खुलेको थियो ।

अघिल्लो पटक ठेक्का पाएको गौरी पार्वती निर्माण सेवाले सडक बनाइसक्नुपर्ने मिति सकिएको ११ महिनासम्म पनि निर्माण सम्पन्न नगरेपछि गत २५ फागुनमा सूचना प्रकाशन गरी सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेको थियो ।

धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्ध गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

नेपालको उत्तरी छिमेकी चीनसँगको सीमा कोदारी जाने बाटो समेत भएकाले धुलिखेल–खावा सडकको विशेष महत्व छ ।

तर, यो सडक स्तरोन्नतिका काम समयमै नसकिँदै सीमा व्यापार प्रभावित हुँदै आएको छ ।

साथै सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुंगा लगायतका क्षेत्रका बासिन्दाका लागि काठमाडौंसँगको पहुँचमार्ग समेत भएकाले निर्माण कार्य समयमै नसकिँदै यात्रुले निकै सास्ती व्यहोर्दै आएका छन् ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?