+

तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

२०८२ साउन  १ गते १६:१७ २०८२ साउन १ गते १६:१७
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिरहुत टाइगर्सले मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको सातौं संस्करणको फाइनलमा राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जितेको छ।
  • प्रतियोगिता सप्तरी क्रिकेट संघद्वारा आयोजित भएको थियो र विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे भने उपविजेताले १ लाख रुपैयाँ पायो।
  • प्रतियोगिताको उत्कृष्ट खेलाडी दिवान पुन, उत्कृष्ट ब्याटर भोला शाह र उत्कृष्ट बलर चित्र बहादुर बिस्ट घोषित भएका छन्।

१ साउन, काठमाडौं । तिरहुत टाइगर्सले लगातार दोस्रोपटक मेयर कप सप्तरी प्राइड लिग क्रिकेटको उपाधि जितेको छ। बिहिबार सम्पन्न प्रतियोगिताको सातौं संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।

सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य पाएको तिरहुत टाइगर्सले १५. ३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

टाइगर्सका ओपनर भोला शाहले अविजित अर्धशतक बनाउँदै जितमा अहम योगदान दिए। उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। भोलाले दोस्रो विकेटको लागि निरज यादवसँग अविजित ७९ रनको साझेदारी गरे। निरजले अविजित १८ रन बनाउदा अभिनाश कर्णले १३ रन योगदान दिए। रोयलका नितेश यादवले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको राजविराज राजदेवी रोयलले २० ओभरमा ९ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। रोयलको लागि रोहन विकले सर्वाधिक २३ रन योगदान दिए। यस्तै अभिषेक तिवारीले १९ तथा जितु यादवले अविजित १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टाइगर्सको बलिंगतर्फ श्रवन यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा ३२ रन खर्चिए। यस्तै चित्र बहादुर बिस्ट र अनिल यादवले २/२ विकेट लिए भने राहुल मण्डल र अजय यादवको नाममा १/१ विकेट रह्यो।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको उपाधि सहित विजेता तिरहुत टाइगर्सले २ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता राजविराज राजदेवी रोयलले १ लाख रुपैयाँ पायो।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी राजविराज राजदेवी रोयलका दिवान पुन घोषित भए जसले २५ हजार रुपैयाँ पाए। प्रतियोगिताभर उनले ४ खेलमा १०१ रन बनाउनुको साथै ६ विकेट पनि लिए।

यस्तै उत्कृष्ट ब्याटर ४ खेलमा १३८ रन बनाएका तिरहुत टाइगर्सका भोला शाह घोषित भए भने उत्कृष्ट बलर ४ खेलमा १३ विकेट लिएका टाइगर्सकै चित्र बहादुर बिस्ट भए। उनीहरूले समान १५ हजार रुपैयाँ पाए। प्रतियोगिताको उदीयमान खेलाडी रोयल तिरहुत टाइगर्सका अनिल यादव घोषित भए।

८ दिन सञ्चालन भएको प्रतियोगितामा सप्तरी जिल्लाका ८ टिम सहभागी थिए।

सप्तरी प्राइड लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय