
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरी स्वेच्छाचारी क्रियाकलाप गरेको चार नेताले आरोप लगाएका छन्।
- वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र अन्य नेताले अध्यक्ष लिङ्देनका कारण पार्टीमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
- पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लावतीको घरमा भएको बैठकमा नवराज सुवेदीलाई पूर्ववत् जिम्मेवारीमा राख्ने निर्णय भएको दाबी गरिएको छ।
१ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको चार नेताको आरोप छ ।
वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका हुन् ।
‘विधानको व्यवस्था अनुरुपको विधि, संख्या र सीमा नाघेर एकलौटी रुपमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधानको अक्षरशः पालना हामी सबैको प्रमुख कर्तब्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दु:खद घटनाक्रम हो ।’
पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको घरमा भएको बैठकमा नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले पूर्ववत् जिम्मेवारीमै रहेको बताएको विज्ञप्तिमा दाबी गरिएको छ ।
बैठकमा लिङ्देन, लोहनी, पूर्वअध्यक्ष पशुपति शम्सेर जबरा, नवराज सुवेदी, नेता हरिबहादुर बस्नेतको उपस्थिति भएको बेला अध्यक्षले उक्त अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।
सुवेदीलाई अध्यक्ष लिङदेनले भनेको बोलीबारे लेखिएको छ, ‘दाइ पार्टीमा पूर्ववत् रुपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस् ।’ सुवेदीलाई अनुशासन समितिबाट हटाइएकोप्रति आपत्ति जनाइएको छ ।
महामन्त्री राणा भारतमा क्यान्सरको उपचार गरिरहेको बेला सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको उनीहरुको दाबी छ ।
क्रियाशील नेतालाई श्रृंखलावद्ध रुपमा कारबाही हुँदा पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरु उब्जिएको उनीहरुले विज्ञप्तिमा लेखेका छन् ।
प्रतिक्रिया 4