
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न माग गर्दै एक दिने शैक्षिक हड्ताल गरेका छन्।
- हड्तालले ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ र सरकारले वार्ता र संवादमा आउन आग्रह गरेको छ।
२ साउन, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थीहरू शुक्रबार बिहान नियमितझैं विद्यालय गए । तर पढाइ भएन । विद्यालय पुगेपछि मात्र बन्द भएको थाहा पाए । ‘विद्यालय बन्द भन्ने थाहा नै थिएन,’ विद्यालयबाट फर्किदै गरेका विद्यार्थीले भने ।
शुक्रबार बिहान कोही विद्यार्थी विद्यालय पुगेर फर्किए । कोही बीच बाटोबाटै । कतिपय विद्यार्थी बन्दको सूचना पाएपछि बाटोमा खेलिरहेको अवस्थामा भेटिए । बन्दको प्रभाव नभएको केही स्थानमा भने केही विद्यालय खुलेका छन् । तर अधिकांश विद्यालय बन्द भएको देशभरबाटै रिपोर्टहरू आएका छन् ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक दिने शैक्षिक हड्तालका कारण विद्यार्थीहरू घर फर्किएका हुन् ।
शिक्षा निःशुल्क हुनुपर्ने माग
त्यसपछि अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र साहलाई शैक्षिक हड्ताल गर्नुको कारणबारे सोधखोज गर्दा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग राखेर देशभर एक दिने शैक्षिक हड्ताल गरिएको बताए ।
‘संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ । तर प्रधानमन्त्री र शिक्षामन्त्रीले निजीलाई प्रोत्साहन गरेर अभिव्यक्ति दिइरहनु भएको छ । शिक्षामा व्यापारीकरण भयो,’ अध्यक्ष शाहले भने, ‘सामुदायिकमा समेत शुल्क लिन पाउने गरी विद्येयक अगाडि बढेको छ । शिक्षा निःशुल्क हुनुपर्यो । राज्यले जिम्मा लिनुपर्छ भनेर हड्ताल गरेका हौँ ।’
हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । समितिमा निजी विद्यालय कम्पनी र शैक्षिक गुठीमा स्थापना र सञ्चालन गर्न सक्नेगरी सहमति जुटेको छ । निश्चित समय दिएर निजी विद्यालयलाई गुठीमा ल्याउने विषयमा विमर्श भए पनि सहमति जुट्न नसकेपछि कम्पनी र गुठी जुनअन्तर्गत पनि सञ्चालन गर्न पाउने सहमति जुटेको हो ।
संविधान र अनिवार्य निःशुल्क शिक्षा ऐन २०७५ ले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ । संविधानविपरीत विद्यालय शिक्षा विधेयक अगाडि बढेको बताउँदै विद्यार्थी संगठनले शैक्षिक हड्ताल गरेको बताएको छ ।
७० लाख विद्यार्थीको पठनपाठन प्रभावित
तर, हड्तालको कारण ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । ‘बाध्य भएर हड्ताल गरेका हौँ । पहिलो चरणमा प्रधानमन्त्री र मन्त्रीलाई ध्यानाकर्षण गराएको हो । छलफल गरेको हो तर सुनुवाइ नभएपछि बन्द गर्न बाध्य भयौं,’ अध्यक्ष साहले भने ।
सरोकारवाला निकायहरूले पनि विद्यालय बन्द रहेको बताएका छन् । उनीहरूले डर र त्रासका कारण विद्यालय बन्द गरिएको बताए । ‘सरकारले सुरक्षा दिन सक्दैन । प्रेसर आएकाले बन्द गरेका छौं,’ एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेले भने ।
प्याब्सन उपाध्यक्ष दीपिका रिमालले पनि देशभरबाट विद्यालय बन्दको जानकारी आएको बताइन् । ‘विद्यालयहरू बन्द भएका छन् । आजको सट्टा अर्को कुनै बिदामा मिलाएर पढाउछौँ । क्यालेन्डरअनुसार जानुपर्ने हुन्छ,’ उनले भनिन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी सामुदायिक विद्यालयहरू पनि बन्द भएको बताउँछन् । ‘धेरै ठाउँबाट बन्द भएको जानकारी आएको छ,’ अध्यक्ष सुवेदीले भने ।
बन्दको विकल्प खोज्न अभिभावको अनुरोध
अभिभावकहरूले विद्यार्थीको पढ्न पाउने अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन् । ‘यहाँ डरले बन्द हुने ठाउँ हो । विद्यार्थीले पढ्न पाउने अधिकार हो,’ अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यार्थीको माग सरकारले सम्बोधन गर्नुपर्यो । नभए सिंहदरबार बन्द गर्नुपर्यो ।’
विद्यालय बन्दको विकल्प खोज्नुपर्ने तर्क अभिभावकहरूको छ । ‘२०६२/०६३ पछि दलहरूले नै विद्यालय शान्ति क्षेत्र भएकोले बन्द नगर्ने प्रतिबद्धता जनाएका छन् । तिनै दलहरू बन्द गर्छन् । गुणस्तरीय शिक्षाको विषयमा बहस गर्न सकिन्छ । तर बन्द गर्ने आन्दोनलको शैली फेरिनुपर्छ,’ भण्डारीले भने ।
सत्तारुढ दल निकटका विद्यार्थीसँग संगठनले भने बन्दको विरोध जनाएका छन् । ‘शिक्षा ऐन जारी हुनु अत्यावश्यक छ । त्यो विद्यार्थीमैत्री हुनुपर्नेमा दुईमत छैन । तर आन्दोलनका अन्य वैकल्पिक र प्रभावकारी उपाय उपलब्ध हुँदाहुँदै पठनपाठन ठप्प पार्नेगरी विद्यालय बन्द गराउनु विद्यार्थी आन्दोलनको मुल मर्म र भावना विपरीत हो,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालले भने ।
सरकारले भने वार्ता र संवादमा आउन आग्रह गरेको छ । ‘बन्द गर्नु राम्रो होइन, सन्देश राम्रो जाँदैन । छलफलमा आउँदा राम्रो हुन्थ्यो,’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4