
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मितेरी सहकारी ठगी प्रकरणमा सुरेश अधिकारीलाई पक्राउ गरेको छ।
- ठगी प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री र सुरेश अधिकारीले संगठित रूपमा रकम ठगी गरी कम्बोडियाको क्यासिनोमा लगानी गरेको पाइएको छ ।
- सीआईबीले ठगीसँगै लिखतसम्बन्धी र क्रिप्टो, हुण्डीसम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाएको छ।
२ साउन, काठमाडौं । ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बर्दियाको बासगढी गाउँपालिका-७ घर भएका सुरेश अधिकारीलाई पक्राउ गरेको हो । काठमाडौंबाट पक्राउ परेका अधिकारीले माकलबारीमा होटल सञ्चालन गरेर बसेका थिए ।
उनी पनि ठगी प्रकरणमा मुख्य व्यक्ति ज्योतिबहादुर भण्डारीका सहयोगी रहेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।
‘ज्योतिबहादुरको सहयोगीको रूपमा अधिकारीले काम गरेको देखिन्छ । उनीमार्फत नै रकमको व्यवस्थापन समेत भएको देखिएपछि अनुसन्धान अघि बढाएका हौं,’ प्रवक्ता खड्काले अनलाइनखबरसँग भने ।
योसँगै मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि सीआईबीले इन्टरपोलको सहयोगमा कम्बोडियाबाट बर्दियाको बाँसगढी गाउँपालिका-७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारीलाई पक्राउ गरेको थियो । ४ असार राति भण्डारीलाई काठमाडौं ल्याइएको थियो ।
उनी पक्राउ परेपछि धादिङको धुनीवेशी नगरपालिका-९ घर भएका सुवास खत्री पक्राउ परेका थिए । उनलाई सीआईबीले १५ असारमा पक्राउ गरेको थियो । ज्योतिबहादुरसँग कनेक्सन भेटिएपछि खत्री पक्राउ परेका थिए ।
थप अनुसन्धानका क्रममा अहिले अधिकारी पक्राउ परेका हुन् । अहिले पक्राउ परेका अधिकारी र ठगीका मुख्य व्यक्ति भण्डारीको घर एकै ठाउँ रहेको पाइएको छ । बाँसगढी-७ का उनीहरू पहिल्यैदेखि चिनजानका व्यक्ति हुन् ।
ठगी गरेर विदेशमा पुगेपछि नेपालमा बसेर अधिकारी र खत्रीले भण्डारीलाई सहयोग गरेको भेटिएको सीआईबीको भनाइ छ ।
‘भण्डारी र अधिकारी एकै गाउँका हुन् । भण्डारी विदेश पुगेपछि नेपाल बसेर उनले भनेअनुसार सबै काम अधिकारीले गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
संगठितमा अनुसन्धान
यो ठगी प्रकरणमा सुरुवाती क्रममा सीआईबीले ठगीको कसुरमा मात्रै म्याद लिएर अनुसन्धान अघि बढाएको थियो । तर अनुसन्धानको क्रममा भने योजनबद्ध तरिकाले तीन भन्दा बढी व्यीक्तको समूह बनाएर ठगी गरेको पाइएपछि अहिले मुद्दा कन्भर्ट गरिएको छ ।
अहिले भने ठगीको कसुरमा समेत अनुसन्धान अघि बढाइएको प्रवक्ता खड्काले बताए । भण्डारीले अधिकारी, खत्री सहितका व्यक्तिसँग मिलेमतो गरी संगठित रूपमा ठगी गरेको पाइएपछि ठगीका साथै संगठितको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।
संगठितमा कन्भर्ट भएसँगै प्रहरीले अनुसन्धानका लागि पनि ६० दिनको म्याद पाउनेछ । यसका साथै क्रिप्टो, हुण्डी र लिखतसम्बन्धी कसुरमा पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ ।
ठगी गरेको रकम क्रिप्टो र हुण्डीमार्फत विदेश पुगेको बताइएको छ ।
यता, ठगीका मुख्य व्यक्ति ज्योतिबहादुरको दुई फरकफरक नागरिकता र पासपोट भएकाले उनीमाथि लिखतसम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाइएको सीआईबीले बताएको छ ।
कास्कीबाट उनले १०५४८… नम्बरको राहदानी लिएका थिए । उनै भण्डारीले बर्दियाकै अर्कै नम्बर ११३६४… नम्बरको राहदानी लिएको प्रहरीको भनाइ छ ।
त्यसैगरी नागरिकता पनि दुई फरक नम्बरमा दुई फरक जिल्लाबाट लिएको पाइएको छ । कास्कीबाट १५८८३ नम्बरको नागरिकता लिएका भण्डारीले बर्दियाबाट भने १४८०३ नम्बरको नागरिकता लिएको प्रहरीको भनाइ छ ।
कम्बोडियाको क्यासिनोमा लगानी
ठगी गरेर हुण्डी र क्रिप्टोमार्फत विदेश पुर्याइएको रकम ज्योतिबहादुरले क्यासिनोमा लगानी गरेको सीआईबी स्रोतको भनाइ छ । सीआईबीको हिरासतमा रहेका उनले कम्बोडियाको क्यासिनोमा लगानी गरेको बताएको स्रोतको दाबी छ ।
यद्यपि, यसबारे अनुसन्धान भइरहेकाले अहिले केही बताउन नमिल्ने सीआईबीका प्रवक्ता एसपी खड्का बताउँछन् ।
‘ठगी गरेको रकम र लगानीबारे अनुसन्धान भइरहेको छ । यसका तथ्य प्रमाणहरू जुटाउने काम गरिररहेका छौं । विदेश पुगेको भने देखिएको छ । कहाँ लगानी गरे भन्ने विषय अनुसन्धानकै चरणमा छ,’ एसपी खड्काले भने ।
अहिले सीआईबीको हिरासतमा रहेका तीनैजना भण्डारी, खत्री र अधिकारी मितेरी सहकारीका कुनै सदस्य पनि होइनन् । उनीहरू सञ्चालक समिति तथा पदाधिकारीमा पनि छैनन् । भण्डारीले भने मितेरी सहकारीको महाप्रबन्धक रहेकी ज्योति गुरुङ (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी)मार्फत रकम लिएर ठगी गरेका थिए ।
यसरी ठगी गरेका ज्योतिलाई खत्री र अधिकारीले सहयोग गरेको र त्यो रकम विदेश पुर्याइएको सीआईबीको अनुसन्धानले देखाएको छ । उक्त रकम भण्डारीले कम्बोडियामा क्यासिनोमा लगानी गरेको स्रोतको दाबी छ ।
सहकारीको रकम ज्योति गुरुङमार्फत लिएर भण्डारीले ठगी गरेको आरोप छ । रकम ठगी गरेपछि गुरुङ र भण्डारी दुवैजना देश छाडेर फरार भएका थिए ।
त्यसपछि ज्योति गुरुङले नै मितेरी सहकारीका पदाधिकारीलाई भण्डारीसँग सम्पर्क गराएकी थिइन् । आफूले लगेको रकम सबै उहाँ (ज्योतिबहादुर भण्डारी) ले तिर्नुहुन्छ भन्दै ह्वाट्स एपमार्फत सम्पर्क गराएकी थिइन् । पछि उल्टै भण्डारीले ठगेको पाइएको छ ।
ज्योति गुरुङमार्फत मितेरी सहकारीका पदाधिकारीहरूसँग सम्पर्क भएपछि भण्डारीले अनलाइन फिसिङमा पारेर उल्टै ठगी गरेका थिए ।
सहकारी ठगी गरी भागेर थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियासम्म पुगेका भण्डारीले विदेशमै रहेका बेलामा मितेरी सहकारीका संस्थालाई अनलाइनमार्फत सम्पर्क गरी प्रलोभन (फिसिङ) मा पारी ठगी गरेको थिए ।
सहकारीको रकम तिर्ने भन्दै विदेशमै रहेका बेला ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेका थिए ।
ज्योति गुरुङले भनेअनुसार आफूले सहकारीलाई तिर्नुपर्ने सावाँ-ब्याजसहितको रकम १४ करोड ८१ लाख रुपैयाँ तिर्ने बताएका भण्डारीले केही दिनमै रकम हालेको भन्ने विश्वाससहितका कागजात संस्थाका पदाधिकारीलाई पठाएका थिए ।
मितेरी सहकारीका सचिव कृष्णबहादुर रानाको ग्लोबल आईएमई बैंकको इन्द्रचोकस्थित शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको छु भन्दै उनले ह्वाट्स एपमार्फत संस्थाका पदाधिकारीलाई बताएका थिए ।
त्यसका लागि टोकनको फोटो समेत पठाएर विश्वास दिलाउने काम गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँभन्दा बढी रकम पठाएको र रकम बुझ्नका लागि ट्याक्ससमेत तिर्नुपर्ने भन्दै पटकपटक उल्टै रकम हाल्न लगाएर ठगी गरेको पाइएको छ ।
प्रतिक्रिया 4