
काठमाडौं । “वाह ! यस्तो पो मुक्तक !” शीर्षकमा दियालो साहित्य सरगमले मुक्तक गायन कार्यक्रम सम्फन्न गरेको छ ।
कार्यक्रमका मुख्य आकर्षण विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वरमा ऐतिहासिक मुक्तक गायन सम्पन्न भएको हो । सन्तोषले मुक्तककारत्रय शान्ति शर्मा, शिवराम खड्का र गणेशप्रसाद खतिवडाका ३/३ वटा मुक्तक गाएका थिए ।
नेपाली गजल गायनको स्वर्ण दशक अभियानमा गजलकार घनेन्द्र ओझा र सङ्गीतकार सन्तोष श्रेष्ठ जुटिरहेका बेला मुक्तक गायन कार्यक्रम भएको आयोजक दियालो साहित्य सरगमका अध्यक्ष शान्ति शर्माले बताइन् ।
शनिबार आयोजित कार्यक्रममा शान्ति शर्मा, शिवराम खड्का,गणेशप्रसाद खतिवडाका मुक्तक गाइएको थियो । वाद्यवादकद्वय रमेश डङ्गोलले तबला र डम्बर खड्काथोकीले बाँसुरीमा साथ दिएका थिए ।
रत्नविरही घिमिरे, सविता बराल, सृजना सरोवर र राधा कणेलले आफ्ना ५/५ वटा मुक्तक वाचन गरेका थिए ।
सहप्राध्यापक कोषराज न्यौपानेले आफ्नै मुक्तक वाचन गरेर कार्यक्रम उदघाटन गरेका थिए ।
प्रमुख अतिथि प्राध्यापक डाक्टर देवी नेपालले दियालोले स्थापना कालदेखि वर्तमानसम्म पनि नेपाली साहित्यका विभिन्न विधामा केही न केही नयाँ काम गर्दै बताउँदै भने, ‘आज दियालोले नेपालको इतिहासमा नै पहिलोपटक मुक्तकलाई गायनमा प्रस्तुत गरेर नयाँ इतिहासको थालनी गरेको छ र सन्तोष श्रेष्ठले नेपालमै पहिलो ऐतिहासिक मुक्तक गायन सम्पन्न गरेर इतिहास कायम गरेका छन् ।’
दियालो साहित्य सरगमका अध्यक्ष शान्ति शर्माको अध्यक्ष्यतामा आयोजित कार्यक्रममा दियालो साहित्य सरगमका कोषाध्यक्ष प्रकाश बस्नेतले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव गणेशप्रसाद खतिवडाले गरेका थिए ।
कार्यक्रममा गायन, वाद्यवादन र वाचनमा सहभागीहरूलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4