
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनिएको नयाँ महसुल अर्थात ट्यारिफ लागू हुने यसअघि तय भएको जुलाई ९ को म्यादलाई सारेर अगस्ट १ सम्म पुर्याइएको छ ।
यससँगै भारत र अमेरिकाबीचको व्यापार वार्ता पनि जारी रहेको छ। दुवै देशहरूबीच छिट्टै नै अन्तरिम व्यापार सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ ।
यद्यपि अमेरिकाले भारतलाई उसको कृषि र दुग्धजन्य पदार्थको बजार खुल्ला गर्न माग गरिरहेको भएता पनि भारतले आफ्नो कृषि र डेरी क्षेत्रको सुरक्षामा सम्झौता नगर्ने संकेत दिएको छ ।
भारतले ‘नन–भेज मिल्क’ (मांसाहारी दूध) प्रतिको सांस्कृतिक संवेदनशीलतालाई इंगित गर्दै अमेरिकी दुग्धजन्य उत्पादनको भारतमा आयातलाई स्वीकृति दिएको छैन ।
मिडिया रिपोर्टहरूका अनुसार, कृषि क्षेत्र र डेरी उत्पादनहरूका सन्दर्भमा भारतले स्पष्ट रूपमा भनेको छ कि आफ्ना नागरिकहरूको सुरक्षाका लागि यस विषयमा कुनै पनि प्रत्यक्ष सञ्झौता स्वीकार गर्न सकिंदैन ।
भारतले अमेरिकी डेरी उत्पादनहरूमाथि कडा नियमहरू लागू गर्न चाहन्छ, ताकि आयात गरिएको दूध त्यस्ता गाईहरूबाट प्राप्त भएको होस् जसले जनावरको मासु वा रगत भएको आहार खाएका नखाएका होउन् ।
डेरी क्षेत्रका विषयमा भारतले रक्षात्मक दृष्टिकोण अपनाएको छ । किनकि यो क्षेत्र करोडौं भारतीय नागरिकहरुको जनजिविकाको स्रोत हो । यस क्षेत्रमा धेरैजसो साना किसानहरू सामेल रहेका छन् । तर, अमेरिकाले भने यसलाई भारतले लगाएको अनावश्यक व्यापारिक अवरोध भन्दै आएको छ ।
विज्ञहरुका अनुसार यदि भारत र अमेरिकाबीचको वार्ता सफल नभएमा पनि ट्रम्पले भारतमाथि २६ प्रतिशत ट्यारिफ पुन: लागू गर्ने सम्भावना चाहिं छ। ट्रम्प प्रशासनले भारत लगायतका विभिन्न २३ वटा देशहरूलाई हालै पत्र पठाउँदै नयाँ महसुल लागू गर्ने अन्तिम म्याद अगस्ट १ सम्म थप गरिएको जानकारी दिएको छ ।
वास्तवमा, अमेरिका भारतसँगको लगभग ४५ अर्ब डलरको व्यापार घाटा कम गर्न चाहन्छ। जसका लागि उसले कृषि तथा डेरी निर्यातका लागि भारतीय बजार खुला गरिनुपर्ने माग गर्दै आएको छ।
डेरी क्षेत्र खुल्ला गर्दा के हुन्छ नोक्सान ?
भारतको ग्रामीण अर्थतन्त्रमा डेरी क्षेत्रको महत्वपूर्ण योगदान रहेको मानिन्छ। भारत सरकारको प्रेस सूचना ब्यूरोका अनुसार, सन् २०२३-२४ मा भारतमा २३.९२ करोड टन दूध उत्पादन भएको थियो । कुल दूध उत्पादनको आधारमा भारत विश्वको नम्बर १ स्थानमा रहेको छ।
उक्त वर्ष भारतले ६३ हजार ७३८ टन दुग्धजन्य उत्पादन निर्यात गरी करिब २ अर्ब ७२ करोड भन्दा धेरै अमेरिकी डलर आम्दानी गरेको थियो। भारतले सबैभन्दा धेरै दुग्ध उत्पाद संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, अमेरिका, भूटान र सिंगापुर मा निर्यात गरेको थियो।
भारतले डेरी उत्पादनको आयातमा उच्च कर लगाउने नीति अपनाएको छ। जस अनुसार चीजको आयातमा ३० प्रतिशत, नौनीमा ४० प्रतिशत र धुलो दूधको आयातमा ६० प्रतिशत कर लागद्छ। सोही कारणले गर्दा न्युजिल्याण्ड र अष्ट्रेलिया जस्ता देशका सस्ता डेयरी उत्पादनहरू पनि भारतमा आयात गर्दा महँगो पर्न जान्छ।
यदि भारतले अमेरिकी दुग्ध उत्पादनहरूलाई आफ्नो बजारमा निर्यातका लागि अनुमति दियो भने त्यसबाट भारतीय डेरी उद्योगमा गम्भीर असर पर्नसक्छ।
भारतीय स्टेट बैंकले हालै प्रकाशन गरेको रिपोर्टअनुसार अमेरिकाबाट डेरी उत्पादन आयात गर्न अनुमति दिइएमा भारतीय दुग्ध उत्पादनको मूल्य कम्तीमा १५ प्रतिशतले घट्नेछ । जसका कारण भारतीय किसानहरूले प्रत्येक वर्ष १.०३ लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक नोक्सान बेहोर्नुपर्नेछ ।
रिपोर्ट अनुसार विदेशी दुग्धज्नय उत्पादन आयात खुला भएमा भारत दुग्ध उत्पादन गर्ने देशबाट दुग्ध उपभोक्ता देश बन्ने जोखिममा पर्न सक्छ।
के हो मांसाहारी दूध ?
भारतले आफूबाट ठूलो परिमाणमा डेरी उत्पादन किनोस् भन्ने अमेरिका चाहन्छ । तर, भारतले चाहिं आफ्नो आस्था र सांस्कृतिक मान्यताका कारणले पनि अमेरिकी दुग्धजन्य उत्पादन आयात गर्न अस्वीकार गरेको छ ।
भारतमा ठूलो जनसंख्या शाकाहारी छ। तर, अमेरिकामा उत्पादित अधिकांश दूध यस्ता गाईबाट उत्पादन हुन्छ जुन गाईहरू जनावरको मासु मिसिएको आहारा खुवाएर पालिएका हुन्छन् । भारतमा धार्मिक दृष्टिले यस्तो दूध स्वीकार्य मानिंदैन । त्यस्ता गाईको दूधलाई भारतमा ‘नन-भेज मिल्क’ अर्थात मांसाहारी दूध भनेर चिनिन्छ ।
अमेरिकी डेरी उद्योगहरूमा गाईहरूलाई छिटो तौल बढाउन यस्तो मांसाहारी आहारा खुवाइन्छ, जसमा जनावरको मासु वा रगत मिसाइएको हुन्छ । यस्तो आहारालाई ‘ब्लड मील’ पनि भनिन्छ।
सिएटल टाइम्समा प्रकाशित एक लेखमा भनिएको छ- अमेरिकामा गाईहरूलाई यस्तो दाना खुवाइन्छ जसमा सुँगुर, माछा, कुखुरा, घोडा तथा बिरालो र कुकुरसम्मको मासु समेत प्रयोग हुन्छ। गाईवस्तुलाई प्रोटिनका लागि सुँगुर र घोडाको रगत पनि खुवाइन्छ। गाईहरूलाई मोटा बनाउनका लागि तिनै जनावरहरूको बोसो समेत खुवाउने गरिन्छ ।
के हो रक्त आहार ‘ब्लड मील’ ?
वास्तवमा ‘ब्लड मील’ मासु प्याकिङ व्यवसायको एक अतिरिक्त उत्पादन (बाइ–प्रोडक्ट) हो । यसलाई अन्य जनावरहरूलाई खुवाउने दाना बनाउन प्रयोग गरिन्छ।
जनावरहरूलाई मारिसकेपछि तिनको रगत संकलन गरी सुकाएर विशेष किसिमको आमारा बनाइन्छ, जसलाई ‘ब्लड मील’ भनिन्छ।
यो लाइसिन नामक एमिनो एसिडको राम्रो स्रोत मानिन्छ, जुन गाईका लागि आवश्यक पर्ने ९ वटा एमिनो एसिडहरूमध्ये एक हो । त्यसैले पश्चिमा मुलुकमा ब्लड मीललाई पशुपालन व्यवसायमा विशेष रूपमा प्रयोग गरिन्छ । दूध दिने जनावरहरूलाई स्वस्थ राख्न र अधिक दूध उत्पादन गराउन नियमित रूपमा ब्लड मील खुवाइन्छ ।
दुधालु पशु बाहेकका पशुपालन उद्योगमा समेत यस्तो दाना व्यापक रूपमा प्रयोग गरिन्छ। साथै यसलाई माटोमा नाइट्रोजनको मात्रा बढाउन मलको रूपमा पनि प्रयोग गरिन्छ।
गाईको शरीरले पचाएर अवशोषित गर्नसक्ने विभिन्न ९ प्रकारका आवश्यक एमिनो एसिडहरू हुन्छन् । जसमध्ये लाइसिन र मिथियोनाइन निकै महत्त्वपूर्ण मानिन्छन् ।
गाईले प्रोटिनको सट्टा एमिनो एसिड सहज रुपमा पचाउन सक्छ। त्यसैले गाईलाई प्राय: ब्लड मील र मकै खुवाइन्छ। ब्लड मीलबाट लाइसिन प्राप्त भने मकैबाट मिथियोनाइन प्राप्त हुन्छ।
अमेरिकाको मिनेसोटा विश्वविद्यालयको एक अध्ययन अनुसार, यस्तो आहारा खुवाउँदा जनावरको रगतमा लाइसिनको सन्तुलन अस्थिर हुन सक्छ। त्यसैले यसको विकल्पका रूपमा सोयाबीन पनि लाइसिनको राम्रो स्रोत हुन सक्छ ।
– बीबीसीबाट
प्रतिक्रिया 4