
४ साउन, गुल्मी । कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डमा अवस्थित हर्मिचौर–अर्वेनी सड खण्ड वर्षेनी पहिरो खस्दै आएको छ ।
कालिगण्डकी गाउँपालिका–२ को गरगरे भीर र वडा नम्बर–६ को बरल्वा क्षेत्रमा पानी परेपछि वा अत्यधिक घाम लाग्दा समेत सडक माथिबाट ठूला चट्टानसहित पहिरो खस्ने गरेको छ ।
सडकमा दैनिक यात्रा गर्ने सवारी चालक र यात्रुहरू जोखिम मोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । ‘कति बेला पहिरो खस्ला भन्ने डरले यात्रुहरू सास थामेर यात्रा गर्छन्’, सवारी चालक रामु पाण्डेले बताए ।
स्थानीयका अनुसार सो स्थानमा वर्षेनी ठूलो धनजनको क्षति हुने जोखिम कायमै रहेको छ ।
सरोकारवालाहरूले दीर्घकालीन योजना बिना यस समस्याको समाधान असम्भव रहेको भन्दै भौगोलिक जोखिम मुल्याङ्कन गर्दै आधुनिक प्रविधिबाट पहिरो नियन्त्रण गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।
कालीगण्डकी गाउँपालिका–गुल्मीका अध्यक्ष वेदबहादुर थापाले पहिरो नियन्त्रणका लागि वैज्ञानिक तथा उपयुक्त विधि अपनाउनुपर्ने बताउँछन् ।
तर, ठोस समाधानतर्फ उनको ध्यान गएको छैन । वर्षा सुरु भएलगत्तै सडक झनै असुरक्षित बन्छ ।जोखिम न्यूनिकरणका लागि सम्बन्धित कार्यालयसँग समन्वय गर्दै आएको अध्यक्ष थापाको दाबी छ ।
चट्टानसहितको भीर चार वर्ष पहिले नेपाली सेनाले बम विष्फोट गरी खोलेको कालिगण्डकी करिडोरको ट्याक अहिले कालोपत्रेको काम भइरहेको छ ।
रिडी हर्मिचौर सडक खण्डको २१ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएकाले हस्तान्तरणको कार्य बाँकी रहेको कालीगण्डकी करिडोर गौडाकोट, राम्दी मालढुङगा सडक योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले बताए ।
६२ करोड ३६ लाखको लागतमा २०७७ साल भदौ १४ गते सम्झौता भई २०८१ साउनमा सम्पन्न गर्ने गरी शर्मा सगुन जेभीले निर्माण कार्य गरेको खत्रीले बताए ।
यस्तै हर्मिचौर वलेवा खण्डको ४५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रेको काम कालिका कन्ट्रक्सनले गरिरहेको छ ।
कुल ३ अर्व ३३ करोडको लागतमा सम्पन्न हुने उक्त सडकको ७० प्रतिशत भन्दा बढी भौतिक प्रगति भइसकेको छ । चालु आर्थिक वर्षमा कालोपत्रे गर्ने कार्य सम्पन्न हुने इन्जिनियर खत्रीले बताए ।
कार्यालय र निर्माण व्यवसायीबीच २०७९ मंसिर २६ गते सम्झौता भई २०८२ मंसिर २५ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ । निर्माण व्यवसायीले तोकिएको समय अवधि भन्दा पहिले नै निर्माणको कार्य सम्पन्न गर्ने कार्यालयको दाबी छ ।
प्रतिक्रिया 4