
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली-अमेरिकी गायक अनिस ‘ओकिली’ सापकोटाले जन्मदिनमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्।
- ओकिलीले अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै गीतमा शब्द, संगीत र स्वर आफैँले प्रदान गरेका छन्।
- उनले १९९० को दशकमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए र अहिले क्यालिफोर्नियास्थित स्याक्रामेन्टोमा बस्दै आएका छन्।
काठमाडौं । ९० को दशकमा ‘मेरी ओकिली, झ्यालबाट हेरेजस्ता गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटा गीत–संगीत प्रेमीका लागि नौलो नाम होइनन् ।
नेपाली-अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एसियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । पेशागत रूपमा उनी ‘ओकिली’ नामले चिनिन्छन् ।
यी गीतमार्फत नेपाली डायस्पोरामा लोकप्रियता पाएका ओकिलीले जन्मदिनमा नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर पनि नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनले यो गीतमा शब्द, संगीत र स्वर आफैँले प्रदान गरेका छन् ।
‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइ/दिदीबहिनीका लागि गीत गाइरहें, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने ।
उनले लगभग ३ महिनामा यो गीतलाई तयार गरेका हुन् । पप/सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको वर्णन गरेका छन् । यसपटक म्युजिक भिडियोमा समेत उनी आफैं प्रस्तुत भएका छन् ।
गीतमा ओकिलीसँगै एरिसा श्रेष्ठले मोडलिङ गरेकी छन् । गीतको भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्, जसमा छायांकन, सम्पादन, रङ संयोजन र निर्देशन उनकै छ । अमेरिकाको रमणीय थलोमा खिचिएको गीतले दर्शकको ध्यान तान्नेमा ओकिली विश्वस्त छन् ।
‘एउटा प्रेमभावको गीत तयार गर्ने इच्छा यसपटक पुरा भएको छ । यो गीतले प्रेमको काल्पनिक संसारमा वर्णन गरेको छ । जेम्स दाईले खेल्ने प्रस्ताव राख्नुभएपछि म आफैँ अगाडि आएको हुँ । आफ्नो गीतको भावलाई उतार्न सकेको छु भन्ने विश्वास छ’, ओकिली भने ।
पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन् । प्रचारप्रसारसँगै तयार गर्न पनि सजिलो हुने भएकाले उनले यसपटक एउटा गीत मात्र लिएर आएको बताए । उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन् । उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
नेपाली-अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् ।
अहिले उनी अमेरिकाको क्यालिफोर्नियास्थित स्याक्रामेन्टोमा बस्दै आएका छन् ।
प्रतिक्रिया 4