
४ साउन, काठमाडौं । दिनभरको दौडधुप सकेर प्रधानमन्त्री केपी शर्मा ओली साँझ करिब सवा ७ बजे मन्त्रिपरिषद् बैठकमा सहभागी भए ।
आजको मन्त्रिपरिषद् बैठक नियमित थियो ।
प्रत्येक साता आइतबारको निरन्तरता स्वरुप आह्वान भएको आजको बैठक साँझ ६ बजे नै बोलाइएको थियो । तर, सवा घण्टा ढिलोगरी सुरु भयो ।
झण्डै डेढ घण्टा बसेको यो बैठकको सुरुमा मन्त्रालयगत एजेण्डामाथि केही छलफल भयो । आवश्यक निर्णयहरू पनि भइहाले ।
त्यसपछि प्रधानमन्त्री ओली नै पछिल्लो पटक सरकार परिवर्तनबारे सार्वजनिक मिडियामा आइरहेका विषयवस्तुबारे प्रष्ट पार्न खोजे ।
अनलाइनखबरको सम्पर्कमा आएका दुई मन्त्रीका अनुसार, प्रधानमन्त्रीले नै सत्तारुढ मुख्य घटक नेपाली कांग्रेससँगको सम्बन्धमा कुनै समस्या नआएको ब्रिफिङ बैठकमा गरे ।
ती मन्त्रीहरूको भनाइमा, अबको ११ महिनापछि सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने र देउवासँग आफू निरन्तर संवादमा रहिरहेको सुनाए । ‘देउवाजीसँग निरन्तर सम्पर्कमै छु । हरेक गतिविधि सरसल्लाहमै भइरहेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्री भन्छन्, ‘हामी पूर्ववत: सहमति अनुसार अघि बढ्ने कुरामा टसमस भएका छैनौं ।’
उनले मन्त्रीहरूलाई निरन्तर सक्रिय भएर काम गर्न पनि निर्देशन गरेका थिए ।
सोही प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नामै लिए ।
‘शेखर कोइराला लगायत कांग्रेसका केही नेताहरू हामीसँग यति सांसद छन् भन्ने तरिकाले अघि बढेको पनि देखिएको छ,’ प्रधानमन्त्रीले क्याबिनेटमा भने, ‘तर, उहाँलाई विपक्षीहरूले उक्साइरहेका छन् । अहिले केही हुनसक्ने अवस्था छैन ।’
अर्का एक मन्त्रीका अनुसार, दिउँसो पार्टी कार्यालय च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘वान टु वान’ वार्ता गरेका ओलीले त्यसबारे पनि बैठकमा केहीबेर बोले ।
उनले केही नेताहरू विपक्षीसहितको साथ लिएर पूर्वराष्ट्रपतिलाई अघि बढाउन हिँडेको भए पनि त्यस्तो सम्भव नहुने बताएका थिए ।
‘हामी पार्टीभित्र एकढिक्का छौं । आजको भेटघाटले त झनै बलियो बनाएको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले थपे, ‘पार्टी फुटेर भन्दा पनि जुटेरै अघि बढ्ने कुरा भएको छ । आजको भेटघाट महत्त्वपूर्ण नै रह्यो ।’
उनले आन्तरिक कुरा नखोले पनि मिडियामा देखिएका कुरालाई मत्थर पार्नेगरी क्याबिनेटका सदस्यहरूलाई ब्रिफिङ गरेको मन्त्रिपरिषद् स्रोतले अनलाइनखबरलाई बताएको छ ।
प्रतिक्रिया 4