
५ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउने सोमबारको दिन पशुपति दर्शन गर्न आउनेहरुका लागि नि:शुल्क बस सेवाको प्रबन्ध मिलाएको छ ।
दर्शनार्थीका लागि चारवटा बसको व्यवस्था मिलाइएको कोषले जनाएको छ । ती बसले चक्रपथ परिक्रमा गर्ने छन् । बसमा यात्रा गर्दा भाडा नलिने कोषले जनाएको छ ।
नि:शुल्क बस सेवा साउनका चार वटै सोमबार निरन्तर रहने बताइएको छ ।
पशुपतिमा आउने भक्तजनका लागि मारवाडी समाजले नि:शुल्क भोजनको व्यवस्था पनि मिलाएको छ । यो व्यवस्था सोमबार बाहेकका दिन पनि निरन्तर हुने समाजले जनाएको छ ।
हिन्दुधर्मावलम्वीहरुले साउन महिनाको हरेक सोमबारलाई भगवान् शिवको प्रिय बार मानेर व्रत बस्ने र शिवको पूजाआराधना गर्ने गर्दछन् । साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
उनीहरुलाई सहज रुपमा पूजाआजाको प्रबन्ध मिलाउने उद्देश्यले पशुपतिनाथ मन्दिर चारवटै ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषले आज दिनभर पाँच लाख भक्तजन मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने पूर्वानुमान गरेको छ ।
प्रतिक्रिया 4