+
+
Shares
बलिउड :

‘सैयारा’ हिट भएपछि तरण आदर्शले देखेका ५ पाठ : फिल्ममेकरले के सिक्ने ?

‘सैयारा’को बक्सअफिस सफलताले भारतीय फिल्म निर्माणको पछिल्लो शैली र दर्शकीय रुचिमा प्रश्न तेसाएको छ । भारतीय फिल्मका विश्लेषक तरण आदर्शले ‘सैयारा’को सफलताबाट ५ वटा पाठ सिक्न सकिने जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय बक्सअफिसमा मोहित सुरी निर्देशित हिन्दी फिल्म ‘सैयारा’ले ३ दिनमा ८३.०७ करोड भारु कमाइसकेको छ।
  • नेपाली बक्सअफिसमा ‘सैयारा’ले तीन दिनमा झण्डै १ करोड नेरु कमाएको छ र अधिकांश दर्शक युवा छन्।
  • फिल्मले भारतीय फिल्म उद्योगलाई पुनः सुरु, ऊर्जावान र पुनर्जीवित बनाएको छ भने निर्देशक सुरीले नयाँ शैली र दर्शकीय रुचिमा प्रश्न उठाएका छन्।

काठमाडौं । अहिले बजारमा मोहित सुरी निर्देशित हिन्दी फिल्म ‘सैयारा’को चर्चा छ । भारतीय बक्सअफिसमा यसले ३ दिनमा ८३.०७ करोड भारु कमाइसकेको छ ।

नेपाली बक्सअफिसमा तीन दिने कमाइ झण्डै १ करोड नेरु छ । यसका अधिकांश दर्शक युवा छन् । मल्टिप्लेक्स मात्र होइन, भारतका साना बजारका हलमा समेत फिल्मले हाउसफूल व्यापार गरिरहेको छ ।

‘आशिकी’जस्ता सुपरहिट म्युजिकल फिल्म बनाएका निर्देशक सुरीको यो नयाँ फिल्मले बक्सअफिस रेकर्ड मात्र बनाएको छैन, रिलिजअघि देखि नै दर्शकलाई हलसम्म तान्न उत्प्रेरित बनाइरहेको थियो ।

यशराज ब्यानरले निर्माण गरेको फिल्ममा अहान पाण्डेले क्रिस कपुर नामक पात्रको भूमिका निर्वाह गरेका छन् जो सफलता पाउन संघर्ष गरिरहेका संगीतकर्मी हुन् । अनित पड्डा वानी वत्राको रोलमा छिन् जो गीतकार हुन् जसलाई अल्जाइमर रोग पुष्टि भएको छ ।

कथा जेसुकै भएपनि, ‘सैयारा’को बक्सअफिस सफलताले भारतीय फिल्म निर्माणको पछिल्लो शैली र दर्शकीय रुचिमा प्रश्न तेसाएको छ । भारतीय फिल्मका विश्लेषक तरण आदर्शले ‘सैयारा’को सफलताबाट ५ वटा पाठ सिक्न सकिने जनाएका छन् ।

उनी लेख्छन्, ‘यसवर्ष थिएटर व्यवसायमा उतारचढाव आएको छ- कभी खुशी, ज्यादा गम र धेरै पटक, हामीले दर्शकलाई पहिले जस्तो थिएटरमा नआएकोमा दोष दिएका छौं । तर, समस्या हामी र उद्योगसँग छ ।’ उनले ‘सैयारा’बाट औंल्याएका ५ पाठ :

१) हामीले त्यस्ता फिल्म बनाउन बन्द गर्‍यौं जसले युवालाई सयौं र हजारौंको संख्यामा सिनेमाघरमा आउन बाध्य पारोस् । सहरमा मात्र होइन, साना बजारका थिएटरमा पनि ।

२) हामीले युवा केन्द्रित चलचित्र बनाउन बन्द गर्‍यौं जसले युवा पुस्तालाई मात्र नभई परिवार र ज्येष्ठ नागरिकलाई पनि आकर्षित गर्छ (म आफैंलाई पनि समावेश गर्दैछु) ।

३) हामीले हामीलाई भावुक बनाउने फिल्म बनाउन छोड्यौं… सामाजिक सञ्जालमा सैयाराको प्रतिक्रिया सबैले देख्न सक्छन… व्यक्तिगत रूपमा, फिल्म हेर्दा धेरै पटक मेरो आँखा रसाएको थियो र अन्तिम दृश्यले मलाई आँसु झार्न बाध्य बनायो ।

४) हामीले फिल्म निर्माण प्रक्रियाको पहिलो चरणको सामग्रीमा ध्यान केन्द्रित गर्न छोड्यौं… हामीले संगीतलाई केवल फिलरको रूपमा व्यवहार गर्दै, बाँकी रहेका धुनहरूलाई किनारा लगायौं ।

५) धेरैका लागि, स्टार पावर नै सर्वस्व बन्यो । लेखन र संगीतमा उपेक्षा स्पष्ट रूपमा देखिन्थ्यो ।

यी पाँच कुरा उल्लेख गर्दै तरण लेख्छन्, ‘उत्कृष्ट संगीत र हृदयस्पर्शी भावनाले सञ्चालित एउटा युवा प्रेमकथाले सधैं दर्शकलाई पाउनेछ ।’

‘जब कुनै फिल्मले ठूलो व्यापार गर्छ, यसले नयाँ आशा र आत्मविश्वास ल्याउँछ । सैयाराले यो काम मात्र गरेको छैन- यसले उद्योगलाई पुनः सुरु गरेको छ, पुनः ऊर्जावान बनाएको छ, र पुनर्जीवित गरेको छ । यसले आत्मविश्वास फिर्ता ल्याएको छ र कसरी ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?