+
+
Shares

अनलाइन टिभी पत्रकार संघले जारी गर्‍यो एआई आचारसंहिता

काठमाडौँमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता घोषणा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १६:३२

५ साउन, काठमाडौँ । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो ।

काठमाडौँमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता घोषणा गरेका हुन् । उनले एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको बताए ।

एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने सम्भावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यकता महसुस गरिएको अध्यक्ष भण्डारीले बताए ।

सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासङ्घका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी अधिकारीले अनलाइन टिभी एआई आचारसंहिता नै नेपालको पहिलो एआई आचारसंहिता भएको दाबी गरे ।

अनलाइन टिभी पत्रकार सङ्घले एआई आचारसंहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उनले भने, ‘यस्तै अभ्यास सबै क्षेत्रमा अत्यावश्यक भइसकेको छ ।’

सङ्घले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति–२०८१ का मर्म र उद्देश्यलाई मध्यनजर गर्दै एआई आचारसंहिता जारी गरिएको उल्लेख छ ।

एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचारसंहिताको पहिलो बुँदामा लेखिएको छ ।

त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ ।

व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्ने गरी एआईको प्रयोग नगरिने अनलाइन टिभी पत्रकार सङ्घले प्रतिबद्धता गरेको छ ।

अनलाइन टिभी पत्रकार सङ्घमा आबद्ध सबै अनलाइन टिभी पत्रकारले आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने र त्यसको अनुगमन सङ्घले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचारसंहितामा लेखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिए ।

इन्टरनेटमा श्रव्यदृश्य पत्रकारिता गर्दै आएका सञ्चारकर्मीको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार सङ्घले यसअघि २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?