
५ साउन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यहरूले राष्ट्रिय महाधिवेशनमा राखिएको ७० वर्षे उमेर हदको व्यवस्था हटाउँदा पार्टी नेतृत्वले दिएका तर्कमाथि प्रश्न उठाएका छन् ।
सोमबार सुरु केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरुले विगतमा नेतृत्वको बहिर्गमनको विधि निर्माण भए पनि अहिले व्यक्तिलाई हेरेर विधि बदलिएकामा आपत्ति जनाए ।
नेताहरू रचना खड्का, दीवाकर देवकोटा, अरविन्द सिंह लगायतले यस्तो विषय उठाएका हुन् ।
उनीहरूले उमेर हद, वरिष्ठ उपाध्यक्ष पद राख्दा र हटाउँदा लिइएका आधार नै व्यक्ति केन्द्रित भएको भन्दै अब त्यस्तो हुन नहुने बताएका हुन् । उनीहरूले पहिले किन उमेर हद राखियो, अहिले किन हटाइयो, दुवै प्रश्नको जवाफ नेतृत्वले दिनुपर्ने माग राखेका छन् ।
‘एउटा समयमा यी विषय क्रान्तिकारी हुने, अर्को समयमा अनावश्यक र प्रतिगामी हुने त होइनन्,’ खड्काले राखिन्, ‘हामी कुनै पनि व्यक्तिलाई केन्द्रित गरेर विधि बनाउने वा हटाउने नगरौं । यस्तो प्रवृत्तिले पार्टी निर्माणमा वाधा पुग्छ ।’
केन्द्रीय सदस्यहरू सिंह र देवकोटाले पनि उमेर हदका बारेमा स्पष्ट व्यवस्था गरेर जाँदा नै पार्टीमा जीवन्तता आउने बताए ।
विधान महाधिवेशनमा जानुअघि बसेको केन्द्रीय कमिटीमा नीति र विधिमा कम, व्यक्ति विशेषलाई निर्विकल्प देखाउने कोसिसका रुपमा छलफल भइरहेको भन्दै नेताहरूले आपत्ति जनाएका छन् ।
‘विधान महाधिवेशनमा नेतृत्वको छलफल हुँदैन भन्दै बहसमा प्रतिबन्ध लगाइयो, अहिले चाहिँ व्यक्ति विशेषलाई निर्विकल्प देखाउने गरी बहस केन्द्रीय कमिटी बैठकभित्रै आयोजना गरिनु अनुचित छ,’ सिंह र देवकोटाले भनेका छन् ।
प्रतिक्रिया 4