
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् ।
बीपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
राज्य व्यवस्था समितिबाट सर्वसम्मत रुपमा प्रतिनिधि सभामा पठाइएको संघीय निजामति विधेयकमा कुलिङ पिरियडमा दुई वर्षे प्रावधान राखिएको थियो । तर, प्रतिनिधि सभाबाट दुई वर्षे समयावधि हटाएर पारित भयो ।
समितिबाट पठाएको र संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि अहिले संसदीय छानबिन समिति बनाएर अध्ययन भइरहेको छ ।
राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रश्ताव राखेका छन् । तर काँग्रेस यसमा अडिग रहेको काँग्रेस नेताहरुको भनाइ छ ।
यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताएका हुन् ।
‘कुलिङ पिरियडको बारेमा कुरा छ । यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा नेपाली काँग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागू हुनैपर्छ’, उनले भने ।
भूमि विधेयक लगायत महत्वपूर्ण विषयहरुमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने पनि उनले बताए ।
गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने उनको आग्रह छ ।
प्रतिक्रिया 4