+
+
Shares

नीति तथा कार्यक्रममा लिपुलेकको विषय उल्लेख नहुनु अपूर्ण : सांसद ठगुन्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा स्पष्ट समेट्न माग गरे।
  • सांसद ठगुन्नाले सन् १८१६ को सुगौली सन्धिअनुसार ती क्षेत्र नेपालको अभिन्न भू–भाग भएको र भारतले झन्डै ४०० वर्ग किलोमिटर भूमि अतिक्रमण गरेको बताए।
  • ठगुन्नाले नीति तथा कार्यक्रममा सीमा विवादलाई मात्र नभई भारतीय अतिक्रमणका रूपमा स्वीकार गरी स्वामित्व फिर्ताको स्पष्ट प्रतिवद्धता आउनुपर्ने र सडक निर्माणको बजेट घटाइएकोमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

३१ वैशाख, काठमाडौं । नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा समेट्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद ठगुन्नाले अतिक्रमित भूमिमा नेपालको स्वामित्व स्थापना गर्न ठोस कूटनीतिक पहलको आवश्यकता रहेको बताएका हुन् ।

सांसद ठगुन्नाले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदी पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग भएको बताए ।

भारतले झन्डै ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरी सैनिक ब्यारेक राखेको र सोही क्षेत्रमा सडक निर्माण गरेर चीनसँग व्यापार शुरु गर्न लागेकोमा सरकारको ध्यानाकर्षण उनल गराए ।

सांसद ठगुन्नाले राष्ट्रिय स्वाधीनता जोगाउन सीमा क्षेत्रका जनतालाई राज्यको मूलधारमा जोड्नुपर्नेमा जोड पनि दिए ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सीमा विवाद मात्र होइन, यो भारतद्वारा बल प्रयोग गरी कब्जा गरिएको नेपालको भूमि हो,’ उनले भने, ‘नीति तथा कार्यक्रममा यसलाई सीमा विवादका रूपमा मात्र उल्लेख गरिनु अपूर्ण छ । यसलाई भारतीय अतिक्रमणका रूपमा स्वीकार गर्दै स्वामित्व फिर्ताको स्पष्ट प्रतिवद्धता आउनुपर्छ ।’

आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५० लाख विनियोजन गरिएको तुसारपानी–टिङ्कर–लिपुलेक सडकमा हालको बजेट घटाएर ३ करोड ३० लाखमा सिमित गरिएको भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण पनि गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?