
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले ‘कुलिङ अफ पिरियड’ को प्रावधानमाथि सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको व्यवहारप्रति गम्भीर रहेको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला र प्रवक्ता डा. प्रकाशशरण महतले एमालेको व्यवहारप्रति सशंकित भएको अभिव्यक्ति दिएका छन् ।
मंगलबार नेताहरूले ‘कुलिङ अफ पिरियड’ बारे बोल्ने क्रममा राष्ट्रिय सभामा एमालेका सांसदले राखेको संशोधन फिर्ता नलिए सत्ता गठबन्धनमा नै संकट आउनसक्ने चेतावनी दिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिए । एमालेका पाँच सांसदले कुलिङ अफ पिरियडमा संशोधन प्रस्ताव राखेका छन् ।
एमालेका सांसदहरूले संशोधन प्रस्ताव राखेपछि साझेदार दल कांग्रेस संशकित भएको हो । ४३ औं बीपी स्मृति दिवसमा महामन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउनु पर्ने बताए ।
प्रतिनिधि सभाबाट पारित भएको प्रावधानमा समेत कुलिङ पिरियडको प्रावधानमा चलखेल गरिएको भएको थियो । राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको भन्दा फरक प्रावधानसहित प्रतिनिधि सभाबाट पारित भएपछि छानबिनका लागि समिति समेत गठन भएको छ ।
समितिमा सर्वसम्मत रुपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्तिनेप्रति एमालेलाई शर्माले सचेत बनाए । एउटै दलभित्र त एकमत हुन नसक्ने अवस्थामा गठबन्धन दलहरूका बेग्लाबेग्लै मतहरूबाट साझा मत खोज्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो । छानबिन समिति बनेको छ । जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ,’ उनले भने, ‘तर राष्ट्रिय सभामा फरक रुपमा संशोधन प्रस्ताव आए दुईवटा दलको समझदारी हो, त्यो समझदारीमा एक ढंगको दरार उत्पन्न गर्छ ।’
अत्यन्तै प्रतिकूलता र जटिलताको बीचबाट गठबन्धनको सरकार बनेको उल्लेख गर्दै शर्माले कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा र सहकार्य रहेको बताए ।
मंगलबार नै बीपी स्मृति दिवसमा आयोजित एक कार्यक्रम नेता डा. कोइरालाले समेत कुलिङ अफ पिरियडमा एमालेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । कोइरालाले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गरेर कुलिङ अफ पिरियडको प्रावधान राख्नका लागि अडान लिनुपर्ने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकलाई सदनमा पारित गर्ने क्रममा सांसदहरूले पनि अध्ययन नगरेर गल्ती गरेको कोइरालाले स्वीकारे । कोइरालाले यसमा आफ्नो समेत गल्ती भएको स्वीकार्दै समिति सभापति रामहरि खतिवडाले समेतले गल्ती गरेको बताए । खतिवडालाई कोइरालाले भने, ‘हस्ताक्षर गरेर मात्रै हुन्छ । पढ्नु पर्दैन ?’ विधेयकका प्रावधान सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरूले कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव हाले कांग्रेसको मूल्य मान्यतामाथि नै आक्रमण गर्ने कार्य भएको कोइरालाले बताए ।
पार्टी प्रवक्ता डा. महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेस अब कम्परमाइज गर्न नसक्ने बताएका छन् । संसदीय समितिबाट पठाएको व्यवस्थाभन्दा संसदबाट पारित भएको व्यवस्था अर्कै परेपछि संसदीय छानबिन समिति गठन भएको महतले बताए ।
एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्तावप्रति राखेकोप्रति महतले आपत्ति जनाए । कांग्रेसको पूर्ववत अडान रहेको बताउँदै महतले कम्परमाइज नगर्ने बताए । महतले भने, ‘यो समितिबाट सर्वसम्मत रुपमा अघि बढेको हो । यसमा कांग्रेसले कम्परमाइज गर्न सक्दैन । कुलिङ पिरियड लागु हुनैपर्छ ।’
प्रतिक्रिया 4