
९ साउन, काठमाडौं । नेपाली कांग्रेसले कात्तिकमा हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको विषयमा आजबाट छलफल सुरु गरेको छ ।
सभापति शेरबहादुर देउवाले छलफलका लागि रुपन्देहीमा हुने उपनिर्वाचन हुने गरी मुख्य एजेण्डा बनाएर शीर्ष नेताहरुलाई डाकेका थिए ।
देउवा निवास बुढानीलकण्ठमा शुक्रबार विहान भएको छलफल पछि चुनावी रणनीति र वस्तुस्थितिका बारेमा मुख्य गरेर छलफल भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । ‘रुपन्देही ३ मा समानुपातिकमा पहिलो पार्टी हौं । स्थानीय तहको निर्वाचनमा पनि पहिलो पार्टी हौं । प्राविधिक हिसाबले हारेका हौं,’ घिमिरेले भने, ‘भोटको अवस्था हाम्रो मजबुत छ भन्ने कुरा छलफल भएको छ ।’
बैठकमा उम्मेदवारका विषयमा भने केही छलफल नभएको घिमिरेले बताए ।
बैठकमा भूमि विधेयक र निजामती विधेयक माथि पनि छलफल भएको थियो ।
निजामती विधेयकमा एमालेका सांसदले राखेको प्रस्ताव पार्टीको रुपमा नभई सांसदले स्वतन्त्रता प्रयोग गरेको रुपमा उक्त दलले जानकारी गराएको घिमिरेले बताए । ‘एमालेले आधिकारिक रुपमा भन्नुभन्दा पनि आफ्नो सांसदहरुको स्वतन्त्रता प्रयोग गरेर संशोधन प्रस्ताव उनीहरुले राखेका छन्,’ घिमिरेले भने,‘उहाँहरुको समग्रमा के कुरा आएको छ भने सांसदहरुले स्वतन्त्रतापूर्वक संशोधन प्रस्ताव राखे ।’
प्रतिक्रिया 4