
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिगमा असन्तुष्टि चुलिएको छ।
- अध्यक्ष पुष्प ओलीले आफूखुसी सर्कुलर गरेको भन्दै आठ जना नेताले असन्तुष्टि जनाएका छन्।
- असन्तुष्ट पक्षले जिम्मेवारी बाँडफाँटमा आफू नजिकका व्यक्तिलाई अवसर दिइएको आरोप लगाएका छन्।
९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग –वाईसीएल) अध्यक्ष पुष्प ओलीले आफूखुसी सर्कुलर गरेको भन्दै विवाद देखिएको छ ।
तीन दिन अघि गरिएको सर्कुलरलाई लिएर उपाध्यक्ष नवराज ऐरसहित आठ जनाले संगठनात्मक जिम्मेवारी बाँडफाँटप्रति आपत्ति जनाएका हुन् । असन्तुष्टि राख्नेहरूमा अधिकांश पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका छन् ।
संगठनको बैठकमा लिखित असहमति राखेको ऐरले अनलाइनखबरसँग बताए ।
‘जिम्मेवारी बाँडफाँट गर्दा आफ्ना खल्तीका मान्छेलाई बनाउने उद्देश्यले विधिलाई तोडतोड गरिएको’ असन्तुष्ट पक्षको असहमतिमा भनिएको छ । वाईसीएलका ईञ्चार्ज रामप्रसाद सापकोटा र अध्यक्ष ओलीले संगठनभित्र चरम व्यक्तिवादी प्रवृत्ति विकास गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ । जिम्मेवारी दिँदा योग्य, सक्षम, समर्पित र सिनियर कार्यकर्तालाई बेवास्ता गरेर आफू नजिकका व्यक्तिलाई अवसर दिइएको असन्तुष्ट पक्षको भनाइ छ ।
विधान सम्मेलन छिटो गर्नुपर्ने र जिम्मेवारी बाँडफाँटमा भएको विभेद सच्याइनुपर्ने असन्तुष्ट पक्षको माग छ । कार्यालय सचिवलाई विना पारिश्रमिक हटाइएको निर्णय सच्याउन माग गरिएको छ । कार्यालय सचिव सीता नेपाली शान्ति प्रक्रियादेखि नै कार्यरत थिइन् । उनले पारिश्रमिक बापत १४ लाख रुपैयाँ पाउनुपर्ने असन्तुष्ट पक्षका नेताहरूको दाबी छ ।
प्रदेश तहमा कार्यविभाजन सकेपछि प्रदेशको सिफारिसमा जिल्ला इन्चार्जको कार्यविभाजन गर्ने पूर्व सहमतिलाई लत्याउने कार्य भएको ऐरले बताए । सचिवालय गठन समेत प्रदेशकै सिफारिस आधारमा कार्यालय बैठकबाट टुंग्याउने भनिएपनि त्यस अनुसार नभएको असन्तुष्ट पक्षले जनाएको छ । केन्द्रिय कमिटीमा थपघट नगर्ने भनिएपनि आफूखुसी निर्णय गरेर थप्ने कार्य भएको जनाइएको छ ।
संगठनमा जिम्मेवारी प्रदान गर्दा एक पक्षीय गरिएको भन्दै असन्तुष्ट पक्षका संगठनका नेताहरूले सामाजिक सञ्जालमा स्टाटस लेखेर इञ्चार्ज दीपशिखाप्रति खनिएका छन् ।
वाईसीएलका उप महासचिव सुरज खातीले केन्द्रीय सदस्य र पदाधिकारी बनाउँदा पदहरू बेचेको गम्भीर आरोप लगाएका छन् ।
‘हजारमा केन्द्रीय सदस्य र लाखमा पदाधिकारी बेचेर गुजारा चलाउने हाम्रो वाईसीएलको अजिङ्गर बिदाइ नहुञ्जेल एउटा गुटेहरूको मात्रै संगठन बन्छ,’ खातीले लेखेका छन् ।
वाईसीएलका केन्द्रीय सदस्य अनिल शेर्पालीले ‘तपाईंको घरमा महँगो लेबल बोटल किनेर ल्याइदिन सकिन्नँ,’ भन्दै ईञ्चार्जलाई लक्षित गरेर स्टाटस लेखेका छन् । ‘तपाईंको प्रालिको सदस्य चाहिँ जसोतसो बन्नै पर्यो । त्यसको विकल्प छैन,’ शेर्पालीले लेखेका छन् ।
संगठनभित्र शत प्रतिशत सहमति भन्ने नहुने वाईसीएल इञ्चार्ज दीपशिखाले अनलाइनखबरसँग बताए । उनले भने, ‘कमिटीले गर्ने कुरा हो । यसमा मेरो भूमिका हुँदैन । पार्टीभित्र समस्या बनाउने एउटा पक्षले यहाँ पनि त्यस्तै व्यवहार देखाएका छन् ।’
प्रतिक्रिया 4