
९ साउन, काठमाडौं । बागमती प्रदेशमामा नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास गरिएको छ ।
संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्री शुक्रबार राजीनामा दिएका छन् ।
युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
‘मन्त्री पदमा रहेर संसदीय दलको नेताविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न नमिल्ने उहाँहरूले राजीनामा दिनुभएको हो,’ कांग्रेसका एक सांसदले भने ।
संसदीय दलको नेताबाट हटाएर उनलाई मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने गरी पहल समेत सुरु भएको छ ।
बागमती प्रदेशका पार्टी सभापति समेत रहेका इन्द्र बानियाँले संसदीय दलको नेताप्रति सांसदहरुले असन्तुष्ट रहेको जानकारी गराए ।
बानियाँले अनलाइनखबरसँग भने, ‘हिजो उहाँ राजीनामा गर्न तयार हुनुहुन्थ्यो । आज राजीनामा नदिने जस्तो गर्नुभयो ।’
संसदीय दलको नेता परिवर्तन गर्ने गरी अघि बढेको बानियाँले बताए । पार्टीभित्र बानियाँ र लामा दुवै संस्थापन पक्षका हुन् ।
१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए ।
ती नेता भन्छन्, ‘२१ सांसदको हस्ताक्षर तयार भइसकेको छ । इन्द्र बानियाँको पक्षमा २५ पुग्ने सम्भावना छ । अविश्वासको प्रस्ताव दर्ता गरेपछि निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।’
प्रतिक्रिया 4