+
+
Shares

गाउँसभामै अध्यक्षका ‘बाउन्सर’ को खुकुरी प्रदर्शन ! ग्रामथान बजेटविहीन

खुकुरी प्रदर्शन भएको घटनाको १२ दिनपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधि जाहेरी लिएर प्रहरी समक्ष पुगेका छन् । जनप्रतिनिधिहरूबीचको विवादले उग्र रूप लिँदा पालिका बजेटविहीन भएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ साउन १० गते १९:५७
तस्वीरमा ग्रामथान गाउँपालिकाको कार्यालय र अध्यक्ष नमोनारायण माझी।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष र जनप्रतिनिधिबीचको विवादले बजेट पास हुन नसक्दा प्रशासनिक काम प्रभावित भएको छ।
  • साउन ७ गते उपाध्यक्षसहित ९ जनाले खुकुरी प्रदर्शन गर्ने चार जना माओवादी केन्द्रका कार्यकर्ताविरुद्ध जाहेरी दिएका छन्।
  • अध्यक्ष नमोनारायण माझीले खुकुरी प्रदर्शनको आरोप अस्वीकार गर्दै विपक्षीले विवादलाई ठूलो मुद्दा बनाएको दाबी गरेका छन्।

१० साउन, विराटनगर । मोरङको  ग्रामथान गाउँपालिकामा जनप्रतिनिधिहरूबीचको विवादले उग्र रूप लिँदा पालिका बजेटविहीन भएको छ ।

गत असार २७ गतेको गाउँ सभामा अध्यक्ष र अन्य जनप्रतिनिधिबीचको विवादका क्रममा अध्यक्ष नमोनारायण माझीका समर्थकले खुकुरी प्रदर्शन गरेका थिए ।

त्यसपछि गाउँ सभा बस्न सकेको छैन । जसकारण पालिका बजेटविहीन भएको हो ।

खुकुरी प्रदर्शन भएको घटनाको १२ दिनपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधि जाहेरी लिएर प्रहरी समक्ष पुगेका छन् ।

७ वटा वडा रहेको ग्रामथानमा उपध्यक्ष गुणावती धामी थारु, वडा नम्बर १ का वडाध्यक्ष सुरेश कुमार माझी, २ काको वडाध्यक्ष यादव खतिवडा, ४ का वडाध्यक्ष बद्रीनारायण माझी, वडा नम्बर ५ का वडाध्यक्ष भेषनारायण चौधरी, ६ का वडाध्यक्ष वीरनारायण चौधरी, ७ का वडाध्यक्ष विरेन्द्र चौधरी, कार्यपालिका सदस्य देवीकुमारी चौधरी उसादेवी चौधरीले चार जना माओवादी केन्द्रका कार्यकर्ताविरुद्ध जाहेरी दिएका हुन् ।

माओवादी केन्द्रबाटै निर्वाचित वडा नम्बर ३ का अध्यक्ष रमेशकुमा भगतको नाम भने निवेदकको लिस्टमा छैन ।

साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा दर्ताका लागि दिएको जाहेरीमा मोरङमा ग्रामथान गाउँपालिका– १ का ४५ का   राजेश भागत सोही वडाका विष्णु माझी वडा नम्बर २ का  राजन माझी र गयालाल माझीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन माग गरिएको छ ।

तर प्रहरीले ‘राजनीतिक विवाद’ भन्दै जाहेरी दर्ता गरेको छैन ।

‘हामी जाहेरवाला र गाउँपालिकाको अध्ययक्षबीच नीति तथा कार्यक्रमका विषयमा विवाद भएकोमा एक्कासी विपक्षी मध्येको राजन माझीले सेक्युरिटी गार्डको खुकुरी लिई विपक्षीहरुले सभा हलको ढोकाछेकी हामीलाई बाहिर निस्की भनि हामीलाई काट्ने कुट्ने भनि धाकधम्की दिई अपशब्द प्रयोग गरी गालीगलौज तथा हुलदङ्गा गरी डर त्रासको माहोल बनाई अशान्त वातावरण बनाई दिएको हुदाँ विपक्षीहरुले गाउँपालिका सार्वजनिक स्थलमा गाउँसभा चलिरहेको अवस्थामा सभा विथोल्ने, सभाबस्न नदिने सभामा सहभागी भै छलफल गर्नबाट बञ्चित गर्ने उद्देश्यले सार्वजनिक शान्तीमा खलल गर्ने गरी गरेको कार्य कानुन विपरीतको कार्य भएकाले विपक्षीलाई पक्राउ गरी हदैसम्म सजाय गरी कारबाही गर्न अनुरोध गर्दछु ।’ जाहेरीमा भनिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष गुणावती धामी थारुका अनुसार, गाउँपालिकामा खुकुरी प्रदर्शन गर्नेहरु अध्यक्ष नमोनारायण माझीले राखेका ‘बाउन्सर’हरू हुन् ।

गत मंसिरमा भएको उपनिर्वाचनमा माझी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । अध्यक्षका समर्थकले जनप्रतिनिधिलाई धम्की दिइरहेको उपाध्यक्षले बताइन् ।

‘अध्यक्षले अहिले बाउन्सर राख्या छ, गाउँसभामा बाउन्सरले खुकुरी लिएर कुद्‌यो,’ उनले भनिन्, ‘सम्पूर्ण घटनाको सीसीटीभी फुटेज पनि सुरक्षित छ, जुन प्रहरीले समेत हेरिसकेको छ ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक नारायण चिमरियाले घटनाबारे अनुसन्धान भइरहेको र वास्तविकता बुझेपछि मात्र जाहेरी दर्ताको प्रक्रिया अघि बढ्ने बताए ।

‘सबै कुरा हेरेर वास्तविकता बुझेर जे जे गर्नु पर्ने हो हामी गर्छौ‌,’ उनले भने,‘जाहेरी दर्ता नगरेको भन्ने होइन, प्रारम्भिक विषय हेर्देछौ‌ ।’

गाउँपालिका अध्यक्ष नमोनारायण माझीले भने खुकुरी प्रदर्शनको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । उनले सामान्य विवादलाई विपक्षीले ठूलो मुद्दा बनाएर पालिकालाई असफल बनाउन खोजेको दाबी गरे ।

आफूले समाधान गर्न सक्ने विषयलाई अतिरञ्जित बनाएको उनको आरोप छ ।

‘मैले गाउँ सभा बोलाउँदा उहाँहरू बहिष्कार गर्नुहुन्छ,’ अध्यक्ष माझीले भने, ‘खुकुरी देखाएको के प्रमाण छ ? कार्यकर्ता बोलेका छैनन्, सुरक्षा गार्डले आफ्नो कुखुरी बोक्नु सामान्य हो ।’

असार १० गते अध्यक्ष माझीले एकतर्फी रुपमा बजेट पेश गरेका थिए । तर विवादका कारण पारित हुन नसक्दा राजस्व संकलन,योजना कार्यान्वयन र अन्य प्रशासनिक काम पूर्ण रूपमा प्रभावित भएको छ ।

अध्यक्ष माझी बजेट पास नहुनुमा विपक्षी जनप्रतिनिधिको असहयोगलाई दोष दिन्छन् । उपाध्यक्ष थारू अध्यक्षले नै बजेट पास गर्न चासो नदेखाएको बताउँछिन् ।

‘म  गाउँपालिका अध्यक्ष हुँ, तर उहाँहरू माओवादीको अध्यक्ष भन्नु हुन्छ,’ उनले भने,’ गाउँसभा राख्छु उहाँहरू बहिष्कार गर्नुहन्छ ।’

उनले बजेट पास नहुँदा राजस्व संकलन र पालिकाको काम रोकिएको  बताउँदै उनले भने, ‘गाउँपालिकालाई असफल बनाउने प्रयास भइरहेको छ ।’

सुरक्षाका नाममा पालिकामा बाउन्सर राखेर डरको वातावरण सिर्जना गरेका कारण समस्या भएको उपाध्यक्षको आरोप छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?