
११ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नै संघीय निजामती सेवा विधेयक संसद्मा आएको बताएका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा संसद्मा आएको विधेयकमा कुलिङ पिरियडको प्रावधान नरहेको उनले बताएका छन् ।
शनिबार माओवादी अध्यक्ष प्रचण्डले कुलिङ पिरियडको प्रावधानबारे भएको गडबडीबारेको छानबिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत पर्नुपर्ने आरोप लगाएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले आफूले नै प्रचण्डबाट जवाफको अपेक्षा गरेको बताए ।
‘तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबीन गर्नु पर्ने भनेर मन्तव्य दिनुभएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’ भट्टराईले लेखेका छन्, ‘निम्न विषयमा तताईंको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु ।’
भट्टराईले प्रचण्डलाई तीन वटा प्रश्न गरेका छन् ।-
१. हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौ । आज पनि हामी यो अड़ानमा कायम छौं ।
२. तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अड़ानमा हो भने मेरो प्रश्न छ– २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस ।
३. प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख़्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठछ होईंन र? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की? आफनै बोली आफैलाई गलापासो नहोस !
प्रतिक्रिया 4