
११ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटक आगमन १५ प्रतिशत वृद्धि गर्ने लक्ष्य राख्दै नयाँ बजेट निर्माण गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा बोर्डले यस्तो लक्ष्य राखेको जनाएको छ । साथै, पर्यटकबाट हुने आयमा समेत कम्तीमा १५ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य छ ।
चालु आव कम्तीमा ५० स्रोत बजारमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने बोर्डले जनाएको छ ।
यसले नेपाललाई एक आकर्षक र सुरक्षित गन्तव्यका रूपमा स्थापित गर्ने बोर्डको भनाइ छ । यस आवमा पर्यटन व्यवसायमा ५ हजार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
कम्तीमा २५ नयाँ पर्यटकीय पूर्वाधारको संरक्षण गर्नेसमेत बोर्डले जनाएको छ । यस वर्ष बोर्डको सेवा विस्तार गर्न प्रादेशिक कार्यालय खोलिने भएको छ ।
बोर्डले १ अर्ब ५९ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यसमध्ये पर्यटक आगमनबाट हुने आम्दानी पर्यटन सेवा शुल्क गत आवको तुलनामा ३२ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । जसमार्फत बोर्डले १ अर्ब १३ करोड आम्दानीको लक्ष्य राखेको छ । यो बोर्डको आम्दानीको मुख्य स्रोत हो ।
यसबाहेक टिम्स सेवा शुल्कबाट ९ करोड, निजी क्षेत्रको सहभागिताबाट उठ्ने ८ करोड ४४ लाख, बोर्डको बचत १९ करोड ८५ लाख र टिम्स बचत २ करोड २० लाख जोडेर बोर्डले बजेट सार्वजनिक गरेको हो ।
प्रतिक्रिया 4