१२ साउन, गोरखा । गत बुधबार, गोरखाको कभर्ड हलको वातावरण भावुक देखिन्थ्यो । किनकि त्यहाँ गोर्खालीलाई सितोरियो कराते चिनाउने ग्याम्जो लामाको बिदाइ कार्यक्रम थियो । ‘घ्याच्चो गुरु’को उपमा पाएका लामाले करिब ३० वर्षको कराते प्रशिक्षकको यात्रा टुंग्याउँदै थिए । त्यसैले त्यो भावुक वातावरण भित्र लामाको संघर्ष, समर्पण र सफलताको कहानी लुकेको थियो ।
२०५० सालदेखि गोरखामा सितोरियो कराते प्रशिक्षकका रूपमा काम लामालाई नै गोरखामा करातेको बीजारोपण गरेको श्रेय दिने गरिन्छ ।
बाल्यकालको संघर्ष र मार्सल आर्टको रहर
चितवनमा २०२४ सालमा जन्मिएका ग्याम्जो लामाको बाल्यकाल संघर्षपूर्ण रह्यो । १२ वर्षको कलिलो उमेरमा घर छाडेर काठमाडौं छिरेका उनले बौद्धमा गलैँचा बुन्ने काम सुरु गरे । सानैदेखि मार्सल आर्ट सिक्ने उनको रहर थियो, तर त्यसबेला मार्सल आर्टमाथि राज्यले प्रतिबन्ध लगाएको थियो । वनकालीमा लुकिछिपी कराते सिकाइन्छ भन्ने सुइँको पाएपछि उनी दिनभर काम गरेर साँझमा कराते सिक्न जान थाले ।
उनले सुरुमा मानबहादुर ग्यावा तामाङसँग वादरियो कराते प्रशिक्षण लिए । केही वर्षपछि उनी सितोरियो करातेतर्फ आकर्षित भए र बौद्धमै सितोरियो करातेमा जोडिए ।
चार वर्षको प्रशिक्षणपछि उनले ब्राउन बेल्ट र त्यसपछि ब्ल्याक बेल्ट प्राप्त गरे । २०४६ सालमा बहुदल आएपछि मार्सल आर्ट खुल्लारूपमा सिकाउन थालियो, र २०५० सालमा नेपालबाटै ब्ल्याक बेल्ट दिने व्यवस्था भएपछि उनले ब्ल्याक बेल्ट पनि लिए ।
गोरखामा करातेको बिजारोपण
ब्ल्याक बेल्ट पाएसँगै राष्ट्रिय खेलकुद परिषद्ले उनलाई करारमा गोरखा खटायो । तर, पहिलो पटक गोरखा आउँदा प्रशिक्षार्थी नभेटिएपछि उनी एक महिनामै काठमाडौं फर्किए ।
२०५२ सालमा थप तालिम लिएर उनी पुन: प्रशिक्षकका रूपमा गोरखा फर्किए । सुरुमा उनी आफैं बिहान–बेलुकी अभ्यास गर्थे, जुन देखेर स्थानीयहरू आफ्ना छोराछोरीलाई सिकाउन अनुरोध गर्न थाले। यसरी क्रमश: प्रशिक्षार्थीहरू थपिँदै गए।
२०५७/५८ पछि देशमा द्वन्द्व चर्किएर संकटकाल घोषणा हुँदा, तत्कालीन जिल्ला विकास समिति सभापति चेतमान श्रेष्ठले उनलाई जौवारीको विद्यालयमा प्रशिक्षण दिन खटाए । द्वन्द्वको समयमा गाउँमा गएर कराते सिकाउनु सहज थिएन । ज्यानको जोखिम मोलेरै उनले त्यहाँ एक वर्ष कराते सिकाए । यो क्रममा प्रहरी र माओवादी दुवै पक्षबाट उनले थुप्रै अप्ठ्यारा भोगे, जसका यादहरू उनको मस्तिष्कमा अझै ताजै छन् ।
उनले नि:शुल्क प्रशिक्षण दिन्थे । सरकारबाट मासिक १२ सय तलब पाउँथे, तर महिनौंसम्म तलब आउँदैनथ्यो । एक वर्षको तलब नआएपछि काठमाडौं गएर बुझ्दा, नौ महिनाको तलब किर्ते हस्ताक्षर गरेर अरूले खाइदिएको थाहा पाए । ‘एक वर्ष कराते सिकाउँदा तीन महिनाको तलब मात्र लिएर गोरखा फर्किएँ,’ उनले भने, ‘नौ महिनाको तलब त मेरो कीर्ते हस्ताक्षर गरेर कसैले खाइदिएछ ।’
बाधा र उपलब्धि
गोरखा बसाइमा उनले थुप्रै तिता–मिठा अनुभवहरू सँगाले । केही समूहले उनीमाथि कुटपिटको प्रयास समेत गरे र ‘बाहिरको मान्छे’ भन्दै गोरखाबाट लखेट्न खोजे । तर, उनी निरन्तर आफ्नो काममा खटिरहे । उनले जिल्लाका विभिन्न ठाउँमा सितोरियो कराते सिकाए र गोर्खालीलाई यो खेल चिनाए ।
उनले प्रशिक्षण दिएका धेरैजसो विद्यार्थीहरू नेपाली सेना र नेपाल प्रहरीमा भर्ना भएका छन् । ब्रिटिस र सिंगापुर लाहुरे हुनेहरू पनि उत्तिकै छन् । केहीले खेल क्षेत्रमै आफ्नो पहिचान बनाएका छन् । उनका प्रशिक्षार्थीहरूले जिल्लादेखि अन्तर्राष्ट्रिय स्तरसम्मका प्रतियोगितामा पदकहरू समेत जितेका छन्, जसमा प्रशिक्षक लामा गर्व गर्छन् ।
आर्थिक संघर्ष र भविष्यको योजना
तीस वर्षसम्म प्रशिक्षकका रूपमा गोरखामा रहँदाका स्मृतिले उनी भावुक बने । गह भरियो ।
‘वर्षौंअघिदेखि चढेको बाइक फेर्न फेर्न र नयाँ मोबाइल बोक्न सकेको छैन,’ लामा भन्छन्, ‘२०५२ सालदेखि कोठा भाडामा बस्दै आएको छु ।’
जागिर अवधिभर घडेरीको एउटा टुक्रासमेत जोड्न नसकेकोमा उनी कहिलेकाहीँ चिन्ता व्यक्त गर्छन् । ‘लोभ गरेको भए त मैले पनि पैसा राम्रै कमाउँथे होला,’ उनले भने, ‘तर मैले आफ्नो तलब कटाएर खेलाडीहरूलाई ड्रेस सिलाइदिन्थेँ, आफ्नै पैसा खर्च गरेर जिल्ला बाहिरका प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराउन लैजान्थेँ, खेलाडीलाई ‘डाइट’का लागि पनि आफैंले खर्च गर्थें ।’
आर्थिक हिसाबमा फड्को मार्न नसकेको पनि सम्मानका केही प्रमाणपत्र र आत्मसन्तुष्टिलाई नै आफ्नो उपलब्धि ठाने ।
उनले आफ्ना छोराछोरीलाई पनि करातेमा जोडे । दुई छोरीको विवाह भइसकेको छ । दुई छोरामध्ये सक्षम सितोरियो करातेका खेलाडी हुन् भने बुद्ध अहिले गोरखामा प्रशिक्षक छन् ।
२०६१ सालमा स्थायी भएका लामाले गत जेठ ५ गते मुख्य प्रशिक्षकबाट अवकाश पाए । करातेमा ५ डानसम्म प्राप्त गरेका उनी हाल नेपाल कराते महासंघ गोरखाका अध्यक्ष पनि हुन् । उनलाई केही दिनअघि सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको थियो ।
प्रशिक्षकबाट अवकाश पाए पनि कराते खेलको विकासमा निरन्तर लागिरहने उनको लक्ष्य छ । राज्यले खेलाडीलाई दिने सेवा सुविधा सन्तोषजनक नभएकोमा भने उनको गुनासो छ । जिल्लामा कराते प्रशिक्षक अभाव भएकाले गोरखा नगरपालिकालाई करारमा भए पनि राख्न उनले सुझाव समेत दिएका छन् ।
प्रतिक्रिया 4