१२ साउन, चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि गत आर्थिक वर्षमा विनियोजन भएको साढे १० करोड रकम फ्रिज भएको छ ।
रंगशाला निर्माणको जिम्मा लिएको हिमालयन कालिञ्चोक बीबीआर जेभीले समयमा नै कामको गति बढाउन नसक्दा रंगशालाका लागि संघीय सरकारबाट विनियोजन गरिएको रकममध्ये ७ करोड ३४ लाख ३० हजार १ सय ६५ र बागमती प्रदेश सरकारबाट विनियोजन गरिएको ३ करोड २० लाख रकम फ्रिज भएको हो ।
संघीय सरकारले गत आर्थिक वर्ष २५ करोड रकम रंगशाला निर्माणका लागि विनियोजन गरेकोमा १७ करोड ६५ लाख मात्रै खर्च भएको छ । यस्तै बागमती प्रदेश सरकारले १० करोड रकम विनियोजन गरेकोमा ६ करोड ८० लाखको मात्रै काम भएको छ ।
गत आर्थिक वर्षमा रंगशाला निर्माणमा जम्मा ६९.८७ प्रतिशत रकम खर्च भएको छ । निर्माण कम्पनीले ३ वटा रनिङ बिलबाट १७ करोड ६५ लाख ६९ हजार ८ सय ३४ रुपैयाँ भुक्तानी लिएको छ भने पेश्की स्वरुप १३ करोड ६० लाख रकम अघिल्लो आर्थिक वर्षमा नै लिएको छ ।
सुस्त कामप्रति असन्तुष्ट महानगर
रंगशालाको असार मसान्तसम्म भौतिक प्रगति जम्मा २७.४९ प्रतिशतमात्रै थियो । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर विनय ढकालले भीआईपी प्याराफिट ढलानको काम सकिएसँगै भौतिक प्रगति ३५ प्रतिशतको हाराहारीमा पुगेको दावी गरे ।
ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गरेको भन्दै भरतपुर महानगरपालिकाले असन्तुष्टि जनाउँदै आएको छ ।
संघीय सरकार तथा प्रदेश सरकारबाट विनियोजन भएको रकम फ्रिज हुने संकेत पाएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले गत जेठ १० गते निर्माण कम्पनीका प्रमुख विकास गौतमलाई निर्माणस्थलमा बोलाएर रकम फ्रिज नहुने गरी काम गरिदिन र कामको गति बढाउन आग्रह गरेकी थिइन् । ठेकेदार गौतमले असार मसान्तसम्म ४० प्रतिशत काम सक्ने प्रतिबद्धता पनि जनाए । तर, काम भने ३० प्रतिशत पनि पुर्याउन नसक्दा साढे १० करोड रकम महानगरको खातामा आएर पनि फ्रिज भएको छ ।

भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सन्तोष आचार्यले संघीय सरकारबाट अनुदानमा आएको रकम काम हुननसकेर फ्रिज हुनु दु:खद भएको बताए । ‘फेरि–फेरि रकम ल्याउन समस्या हुन्छ सक्छ, दिएको रकमको काम नगरेपछि भन्ने ठाउँ पनि रहन्छ’ इन्जिनियर आचार्यले भने, ‘प्रदेशको रकम फेरि माग गर्न सकिन्छ, रकम नआए भार महानगर माथि पनि थपिन सक्छ ।’
महानगरले असार मसान्तसम्म ४० प्रतिशत काम सके लक्ष्यअनुसार नै काम भएको मानिने भन्दै गति बढाउन भने पनि ठेकेदारले गति बढाउन सकेनन् । न्यून जनशक्ति, निर्माण सामग्रीको अभाव तथा अन्य विभिन्न बाहना गर्दै ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गर्दै आएका छन् ।
‘कामदार धान रोप्न गए, क्रंक्रिट हाल्ने पाइपको सामान आएन’
गत जेठको दोस्रो हप्ता महानगरपालिकाको टोली रंगशालामा पुग्दा करिब १ सयको हाराहारी मात्रै कामदार रहेको दाबी ठेकेदार पक्षको थियो । महानगरले आवश्यक सबै सहजीकरण गर्न तयार रहेको भनेर आश्वासन दिए पनि कामको गति बढ्न सकेन । अहिले पनि रंगशालामा जम्मा ९० जना जति कामदार रहेको ठेकेदार कम्पनीका साइट म्यानजेर ढकालले बताए । उनले कामदार धान रोप्न घर गएकाले कम संख्या भएको जनाए ।
रंगशालाको दोस्रो भीआईपी टावर ढलान गर्न तयारी पुरा भएको तर क्रंक्रिट हाल्ने पाइपको सामान आउँदै गरेकाले ढिलाइ भएको प्रोजेक्ट म्यानेजर ढकालले बताए । उनले २/३ दिनमा सामान र धान रोप्न गएका कामदार पनि आइपुग्ने र दोस्रो भीआईपी टावर ढलान गर्ने बताए ।
पहिलो भीआईपी टावरको माथि पिलरका लागि रडको काम पनि छिट्टै अगाडि बढाउने उनको भनाइ छ । पूर्व तर्फको प्याराफिटको काम पनि अगाडि बढाउने तयारी गरिएको म्यानेजर ढकालले बताए ।
ठेकदारले अहिलेसम्म २ सय मिटरमा ड्रेन कभर राख्ने, ११५ मिटर कम्पाउण्ड वाल लगाउने काम गरेको छ । रंगशालाका प्रोजेक्ट म्यानेजर ढकालले मैदान तथा पिचको काम भने दशैं पछाडि मात्रै हुने बताए ।
रंगशालामा ५ वटा पिचहरु तयार गरिने छन् । २०८१असार २३ गते ठेक्का सम्झौता भएर काम थालिएको क्रिकेट रंगशालाको काम तोकिएको अवधिभित्र नै सक्ने ठेकेदारको दावी छ । पर्याप्त वर्षा नभएर काम गर्न सहज वातावरण भए पनि ठेकेदारले कामको गति बढाउन नसक्दा निर्धारित समयमा काम सक्ने चुनौती पनि थपिएको छ ।
२०८३ पुस २२ गते काम सक्ने गरी २०८१ असार २३ गते ठेक्का सम्झौता भएको थियो । गत चैतमा मात्रै निर्माण थालिएको काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्याराफिटको काम तीव्र गतिमा भए पनि यहाँको रंगशालाको भौतिक प्रगति कमजोर छ ।
धुर्मुस–सुन्तलीले नसकेपछि महानगरले लिएको थियो स्वामित्व
सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले नेतृत्व लिएर बनाउन थालेको रंगशाला बजेटको अभाव भएपछि काम बीचमा नै रोकिएको थियो । फाउण्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट झण्डै २ वर्ष रोकिएको थियो ।
महानगरले स्वामित्व लिएर संघीय, प्रदेश तथा महानगर आफैंले समेत लगानी गर्ने गरी २०८१ साउनबाट रंगशालाको काम ठेक्कामार्फत अगाडि बढेको हो ।
७८ करोड रूपैयाँमा बनाइसक्ने गर्ने गरी ठेक्का लगाएर पहिलो चरणको काम थालेको रंगशालामा पहिलो चरणमा १० हजार जना दर्शक अट्ने प्यारापिट तयार हुनेछ । यसअघि, धुर्मस सुन्तली फाउण्डेसनले ३ हजार जना अट्ने गरी प्याराफिट तयार गरिसकेको छ ।
महानगरका इन्जिनियर आचार्यका अनुुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको भीआईपी टावर बनाइने छ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् ।
राष्ट्रिय गौरवको परियोजनालाई चालु आर्थिक वर्ष केन्द्र सरकारले छुट्याएन बजेट
रंगशालाका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ९ करोड र भरतपुर महानगरले ४ करोड रकम विनियोजन गरेका छन् । गत वर्ष प्रदेशले १० करोड र महानगरले ५ करोड रकम विनियोजन गरेका थिए । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय २०८० माघ २३ गते गरेको थियो ।
नगर प्रमुख दाहालले दोस्रो चरणमा थप १५ हजार जना अट्ने प्यारापिट, कुर्सी र फ्लड लाइटको काम गरिने बताइन् ।
रंगशालामा ३० हजार जना अट्ने प्यारापिट बनाउन २८६ वटा पिलर धुर्मस–सुन्तली फाण्डेसनले यसअघि नै उठाएको थियो । संघीय मन्त्रिपरिषद्को २०८० कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4