
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले श्रम संसार पोर्टललाई नागरिक एपमा जोडेर रोजगारदाता र रोजगारी खोज्नेहरूलाई सहज सेवा प्रदान गर्न थालेको छ।
- मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले श्रम संसार पोर्टलको नागरिक एपमा एकीकरण उद्घाटन गरेका छन्।
- नागरिकहरूले नागरिक एपको संस्करण २.०.८३ मा अद्यावधिक गरी मोबाइलबाटै रोजगारी खोज्न र आवेदन दिन सक्ने भएका छन्।
१२ साउन, काठमाडौं । सरकारले रोजगारदाता र रोजगारी खोजिरहेकाहरुलाई जोड्न तयार पारेको श्रम संसार पोर्टल नागरिक एपमा जोडिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम संसार अनलाइन पोर्टल नागरिक एपमा जोडिएको हो ।
मन्त्री शरतसिंह भण्डारी र योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका छन् । श्रमसंसार पोर्टल, नागरिक एपसँग जोडिएसँगै एकीकृत रूपमा विभिन्न सेवा प्रदान गर्ने श्रम मन्त्रालयले जनाएको छ ।
यो एकीकरणसँगै अब नागरिकहरूले आफ्नो मोबाइलमा रहेको नागरिक एपमार्फत नै रोजगारीका अवसरहरू खोज्न र सीधै आवेदन दिन सक्ने भएका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारको ‘डिजिटल नेपाल’ फ्रेमवर्कलाई साकार पार्ने र नागरिकमैत्री शासन प्रवर्द्धन गर्ने दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा भएको बताए ।
प्रविधिको प्रयोगमार्फत युवाहरूलाई रोजगारीसँग सहजै जोड्न सक्ने बताउँदै उनले यस सुविधाले रोजगारी खोज्ने प्रक्रियालाई सरल, पारदर्शी र झन्झटमुक्त बनाउने विश्वास व्यक्त गरे ।
राज्यले थुप्रै सेवा दिने गरेको तर, त्यो लक्षित समुदायमा पुग्न नसकेको बताए । त्यसका लागि नै डिजिटल नेपालको विकास भईरहेको बताए ।
यस नयाँ व्यवस्था अनुसार, नागरिकहरूले अब विभिन्न वेबसाइट चाहार्नुपर्ने वा रोजगारीको आवेदनका लागि कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन् ।
नागरिक एपभित्रै श्रमसंसार पोर्टलमा पहुँच स्थापित भएपछि प्रयोगकर्ताले आफ्नो योग्यता अनुसारको रोजगारी खोज्ने र आवश्यक कागजातसहित सोही एपबाट आवेदन दिने सुविधा प्राप्त गर्नेछन् ।
यो सेवा प्रयोग गर्नका लागि नागरिकहरूले आफ्नो नागरिक एपलाई पछिल्लो संस्करण २.०.८३ भर्सनमा अद्यावधिक (अपडेट) गर्नुपर्नेछ ।
यो नयाँ संस्करण एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्मका लागि उपलब्ध गराइएको छ । मन्त्रालयले सबै नागरिकलाई एप अद्यावधिक गरी नयाँ सुविधाको लाभ लिन अनुरोध गरेको छ।
प्रतिक्रिया 4