
१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जगर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको खोजी भइरहेको छ ।
स्थानीयले दिएको जानकारी अनुसार उक्त परिवार बस्ने घर अन्य गाउँलेको भन्दा टाढा र एकान्त ठाउँमा छ ।
उनीहरुको घरको नजिकै एक्ले हायू भन्ने अर्का छिमेकीको घर रहेको र उर्मिलाको परिवारले त्यहाँनजिकै भैँसी बाँध्ने गरेको खुलेको छ ।
‘शनिबारदेखि बेपत्ता हायू परिवारले भैँसीलाई घाँसपात खुवाएका रहेनछन्, भ्याएनन् होला भनेर एक्ले हायूको परिवारले नै भैँसीलाई घाँसपात गरिदिँदा रहेछन्,’ स्थानीय सुमन कोइरालाले अनलाइनखबरसँग भने ।
उनका अनुसार तीन दिनसम्म भैँसी हेर्न नआएपछि हेर्न जाँदा घरमा कोही नभएको र सामानहरू भद्रगोल अवस्थामा देखिएको छ ।
‘तीन दिनसम्म पनि भैँसी हेर्न नआएपछि के भएछ भनेर हेर्न जाँदा घरका कोही नभएको र सामानहरू भद्रगोल भएको देखेछन्,’ कोइरालाले भने ।
‘अरुको घरबाट हायूको घर पुग्नै १५–२० मिनेट लाग्छ’ उनले भने ।
त्यसपछि उनीहरुले वडाध्यक्ष रबिन श्रेष्ठलाई आज बिहान ९ बजेतिर खबर गरेपछि यो घटना बाहिर आएको उनले बताए ।
प्रतिक्रिया 4