
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता भएका छन् र उनीहरूले गत ८ साउनमा घरमै सुँगुर काटेर खाएको पाइएको छ।
- स्थानीय प्रशासन, प्रहरी र बासिन्दाले सोमबारदेखि बेपत्ता उर्मिला हायु परिवारको खोजी सुरु गरेका छन् र रामेछापमा पनि खोजी भइरहेको छ।
- गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले घर एकलासमा भएकाले ढिलो थाहा पाइएको र घर नजिकै आगो लागेको देखिएको बताए।
१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता हुनुअघि घरमै सुँगुर काटेर खाएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीकाअनुसार बेपत्ता हायु परिवारले गत बिहीबार (८ साउन) मा घरमै सुँगुर काटेर खाएको पाइएको हो ।
‘गाउँलेको भनाइअनुसार बिहीबार सुँगुर काटेर खाएको बुझिएको छ । त्यसपछि उनीहरू बेपत्ता भएको भन्ने छ,’ एसपी सुवेदीले अनलाइनखबरसँग भने ।
एकान्तमा भएको उर्मिला हायुको १६ जनाको परिवार बेपत्ता भएकाले खोजी जारी छ ।
सोमबार बिहानदेखि स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र प्रहरीले खोजी सुरु गरेका छन् ।
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार अहिले बेपत्ता भएको उर्मिला हायुको परिवारको घर एकलासमा भएकाले ढिलो गरेर थाहा पाइएको बताए ।
घर नजिकैको एक छाप्रोमा आगो लगेर निभाइएको जस्तो पनि देखिएको छ । काठहरू डढेका छन् । केही लुगाहरू झुन्डिएको देखिन्छ । पकाउने भाँडाहरू पनि घर बाहिरै देखिन्छ । तर जस्ताले छाएको हायुको घरमा भने कोही छैनन् ।
हायुको बसोबास रामेछापमा पनि बाक्लो रहेकाले अहिले रामेछापमा पनि खोजी सुरु गरिएको एसपी सुवेदीले बताए ।
‘रामेछापमा भएका कोही आफन्तकोमा गए कि भनेर बुझ्ने काम गरेका छौं । तर फेला पार्न सकिएको छैन,’ उनले भने ।
केही स्थानीयहरूले भने धरै ऋण भएकाले सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीलाई बताएका छन् । तर यसको यकिन हुन नसकेको प्रहरीले बताएको छ ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायु घर अलपत्र छाडेर बेपत्ता भएपछि स्थानीय पनि अहिले खोजीमा जुटेका छन् ।
यसैबीच रामेछापका डीएसपी भोलाकुमार भट्टले पनि खोजी हायु परिवारको खोजी कार्य सुरु भएको बताए ।
‘हामीले हायु बस्ती भएका एक/दुई ठाउँमा खोजी गर्यौं । तर भेटिएको छैन । अन्य ठाउँमा पनि खोजी गर्दैछौं,’ भट्टले भने ।
प्रतिक्रिया 4