
News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार ३ बजे सेयर बजार बन्द हुँदा नेप्से परिसूचक १२ अंक बढेको थियो, तर २० मिनेटपछि २ अंक घटेको देखियो।
- नेप्सेले भारित औसत मूल्य गणनामा प्राविधिक समस्या देखिएको र प्राविधिक टिमले अध्ययन गरिरहेको सूचना सार्वजनिक गर्यो।
- प्राविधिक समस्या समाधानपछि बजारको परिसूचक नेप्से ७ अंकले बढेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो।
१२ साउन, काठमाडौं । सोमबार ३ बजे सेयर बजार बन्द हुने वित्तिकै नेप्से परिसूचक १२ अंक बढ्यो । तर यो अंक करिब २० मिनेटपछि परिवर्तन भयो र २ अंक घटेको देखियो ।
कारोबार बन्द भएको करिब २० मिनेटपछि भारित औसत मूल्य समेत समायोजन भइ आउने हुँदा हरेक दिन नेप्सेको अंक परिवर्तन हुँदै आएको छ । सोमबार कारोबार बन्द हुँदा १२ अंक बढेको बजार बन्द हुँदा २ अंक घटेको विषयलाई पनि सोही अर्थमा बुझिएको थियो ।
तर भारित औसत गणना अन्तिम १५ मिनेटको मात्रै हुने गरेको छ । अर्थात् २ : ४५ बजेदेखि ३ बजेसम्मको भारित औसत मूल्यका आधारमा कम्पनीको मूल्य र नेप्सेको अन्तिम अंक तय हुन्छ ।
सोमबार भने २ : ४५ बजे नै नेप्से अघिल्लो दिनको तुलनामा करिब ३ अंक बढेको थियो, त्यसपछि बजार बन्द हुँदासम्म नै बढिरह्यो । त्यसैले भारित औसत मूल्यपछिको गणना त्रुटिपूर्ण रहेको भन्दै लगानीकर्ताले सामाजिक सञ्जालमार्फत आलोचना गर्न थाले ।
लगत्तै नेप्सेले पनि भारित औसत मूल्य गणनाका क्रममा प्राविधिक समस्या देखिएको भन्दै प्राविधिक काम भइरहेको सूचना सार्वजनिक गर्यो । प्राविधिक टिमले गरेको अध्ययनका क्रममा सिस्टमले समेट्नुपर्ने भारित औसत मूल्य गणना त्रुटिपूर्ण भएको पाइयो ।
अन्ततः प्राविधिक समस्या समाधानपछि बजारको परिसूचक नेप्से ७ अंक बढ्यो ।
भारित औसत मूल्य गणना अन्तिम १५ मिनेटको लिनुपर्नेमा सोमबार अन्यथा पर्न गएको हुन सक्ने प्राविधिक टिमले उल्लेख गरेको छ । ‘प्राविधिक टिमले यसको विस्तृतमा अध्ययन गरिरहेकै छ’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ।
बजार बन्द हुनुभन्दा अन्तिम १५ मिनेटको समय लिनुपर्नेमा अन्यथा पर्न गएको हुन सक्ने अनुमान प्राविधि टिमले गरेको छ । सोमबारको कुनै पनि कारोबारमा यसले कुनै समस्या नल्याउने नेप्सेले स्पष्ट पारेको छ । ‘कारोबारलाई यसले कुनै समस्या ल्याएको हुँदैन, जुन मूल्यमा कम्पनीको किनबेच भएको छ, सोही मूल्यमा सबैको राफसाफ हुन्छ’ पराजुलीले भने ।
प्रतिक्रिया 4