
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखराका शिव बास्तोलाले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादको बीच कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन्।
- रञ्जिता श्रेष्ठले स्वास्थ्य कारण देखाउँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई सुम्पिएकी हुन् तर, पार्टीभित्र विरोध भइरहेको छ।
- पोखराको लिचीबगैंचा जग्गा हडप्ने प्रकरणमा रञ्जिताको नाम जोडिएर दबाब बढेपछि जिम्मेवारी हस्तान्तरण गरिएको हो।
१२ साउन, पोखरा । भनिन्छ, ‘व्यापार र राजनीति भनेको उस्तै-उस्तै हुन्, उपयुक्त समय र मौका छोपेर निर्णय गर्न सक्यो भने पछाडि फर्किनुपर्दैन, तर कतिबेला के आइपर्छ भन्ने पत्तो पनि हुँदैन ।’
यो भनाइ व्यापार र राजनीति दुवैमा मौका छोपेका पोखराका शिव बास्तोलाको जीवनमा ठ्याक्कै मेल खान्छ ।
शिवले वर्कसपबाट अटोमोबाइल हुँदै घरजग्गा व्यापार चम्किएको बेला ‘रियलस्टेट’को कारोबार थाले । शिवले २०औं वर्ष व्यापार व्यवसायका विभिन्न क्षेत्रमा लगानी गरे, केहीमा सफल भए, केहीमा आंशिक सफल । २०७१ सालमा शिवलाई एकाएक राजनीतिको भोक जाग्यो । उनी प्रवेश गरेका पार्टीले टुटफुट बेहोरे ।
मौका छोपेर राजनीति गर्दा उनले महत्वपूर्ण जिम्मेवारी भने प्राप्त गर्दै गए । राप्रपाबाट राजनीति थालेका शिवले अहिले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवादको फाइदासमेत प्राप्त गर्दै कार्यवाहक अध्यक्षकै जिम्मेवारी प्राप्त गरेका छन् ।
अस्तिसम्म राजनीतिको केन्द्रमा खासै चर्चामा नआएका शिवलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि भने उनको खोजी र चासो भइरहेको छ । उनी नाउपाका वरिष्ठ नेता थिए ।
पोखराको लिचीबारी बगैंचा हडप्ने प्रपञ्च गरिएको घुस प्रकरणमा मुछिएपछि पार्टीभित्रै दबाब झेलिरहेकी रञ्जिताले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखराकै बास्तोलालाई दिएकी हुन् ।
स्वास्थ्यको कारण देखाउँदै रञ्जिताले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि बास्तोला यतिबेला राजनीतिक चासोको केन्द्रमा छन् ।
व्यापारमा आर्थिक लगानी, राजनीतिमा फाइदा
पोखराका रैथाने बास्तोला व्यापारमा २०७१ सालमा कमल थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालमा प्रवेश गरेका हुन् । तत्कालीन राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङमार्फत राप्रपा प्रवेश गरे, त्यो पनि केन्द्रीय सदस्यको जिम्मेवारीसहित ।
२०औं वर्ष व्यापार व्यवसायमा लगानी गरेका शिव राजनीतिमा भने १० वर्षमै प्रदेशदेखि संघसम्मको सरकार निर्माणदेखि सञ्चालनमै प्रभाव पार्ने पार्टीको कार्यवाहक अध्यक्षसम्म पुगेका छन् ।
शिवले पोखराको नयाँ बजार र बुद्धचोकमा लामो समय वर्कसप हुँदै अटोपाट्र्स, गाडीलगायत अटोमोबाइलको क्षेत्रमा व्यापार गर्थे । उनले माओवादी शान्ति प्रक्रियामा आएपछि चम्किएको घरजग्गाको कारोबार गर्न पनि थालेका थिए ।
घरजग्गाको कारोबार खस्किएपछि अन्योल जस्तै उनले पनि मार खेपेका थिए । रिसोर्टमा लगानी गर्न भन्दै जग्गा किन्दा मुद्दा-मामिलासम्म हुन पुगेको थियो । व्यवसायी तथा मिडिया सञ्चालक रामेश्वर थापासँग शिवको जग्गा कारोबारको विषयमा विवाद हुन पुगेको थियो । उनले पनि पोखरामा आदर्श नेपाल नामको दैनिक पत्रिकासमेत खरिद गरेर सञ्चालन गरेका थिए । उनको ट्राभल एजेन्सी र रियल स्टेट कम्पनी अहिले पनि छ ।
२०७८ सालमा भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपा फुट्यो । कमल थापाले राप्रपा छोडेर खोलेको राप्रपा नेपालको २०७९ सालमा सहमहामन्त्रीको जिम्मेवारी पाए ।
२०७९ मंसिरको चुनावमा सूर्य चिह्न लिएर मकवानपुरबाट थापा उम्मेदवार बने र पराजय भोगे । चुनावमा न पार्टीको उम्मेदवार भए न पार्टी नै बन्न सक्ने सम्भावना शिवले देखे ।
ठिक त्यही बेला जेलभित्रैबाट रेशम चौधरीले चलाएको पार्टी नागरिक उन्मुक्तिले भने देशभर चर्चामात्रै कमाएको थिएन, पहिलो पटकमा प्रदेशदेखि संघ सरकारसम्मै प्रभाव पार्ने गरी मत ल्याएको थियो ।
‘जेलमै बसेर पनि पार्टी चलिरहेको छ र जनताले राम्रो मत दिइरहेका छन् । रेशमजी निकै हक्की र जुझारु नेता पनि लागे म नाउपातिर लाग्ने निधो गर्न थालेको हुँ,’ शिवले अनलाइनखबरसँग भने, ‘मैले रेशमजीलाई जेलमै गएर भेटें र पार्टीमा लाग्ने सल्लाह गरें ।’
नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ अध्यक्ष हुँदा शिव केन्द्रीय सचिव नै हुन सफल भए । १५ जेठ २०८० मा नाउपाका संरक्षक रेशम चौधरी छुटेको भए पनि फागुनमा पुस २६ र २७ मा महाधिवेशन डाकिएको थियो ।
त्यो अधिवेशनले रेशमलाई अध्यक्ष र शिवलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । रेमशसहितको पदाधिकारीलाई अद्यावधिक गर्न नाउपाले निर्वाचन आयोगमा निवेदन दियो । तर निर्वाचन आयोगले टीकापुर घटनाको फौजदारी कसुरमा आममाफी पाएका रेशमलाई अध्यक्ष हुन अयोग्य ठहर गर्दै रञ्जितालाई नै मान्यता दियो ।
आयोगको निर्णयपछि नाउपाभित्र समेत चर्को विवाद सुरु हुन थाल्यो । रेमश आयोगको निर्णयविरुद्ध सर्वोच्च गए । तर शिवले भने रञ्जितालाई साथ दिए । रञ्जिता नेतृत्वमा शिवले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाए भने अहिले वरिष्ठ नेता थिए ।
नाउपाभित्रको आन्तरिक कलह जारी थियो । पछिल्लो पटक पोखराको लिचि बगैंचा प्रकरणमा रञ्जिता पनि मुछिएपछि थप दबाब सिर्जना भयो । घुस प्रकरणको अडियो उनकै भएको पुष्टि भएपछि पार्टीभित्रबाट उनको राजीनामासमेत माग भइरहेको थियो ।
यही बेला रञ्जिताले स्वास्थ्यको कारण देखाउँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी उनै शिवलाई दिएकी छन् । उनको यो निर्णयको पार्टीभित्रबाट विरोध भइरहेको छ ।
शिवको काँधमा नाउपाको भारी
राजनीतिमा प्रवेश गरेको छोटो समयमै शिवको काँधमा आन्तरिक विवादमा फसेको नाउपा कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त भएको छ ।
त्योबेला ठूलो र गम्भीर सोच लिएर राजनीतिमा नछिरेका शिवका निम्ति अहिले विवादित नाउपाको जिम्मेवारी गह्रुंगो छ । तर सबैलाई मिलाएर लैजानेलाई आफ्नो पहिलो जिम्मेवारी हुने उनी बताउँछन् ।
‘एकता नै प्रमुख मेरो एजेन्डा हो । मलाई रेशम पक्ष कि रञ्जिता पक्ष भनेर धेरैले सोध्नुहुन्छ । तर म नाउपा पक्षको हो । म दुवैको नेतृत्वमा समितिमा रहें ।
म दुवैको हो,’ उनले अनलाइनखबरसँग भने, ‘पार्टीलाई अध्यावधिक गर्ने, छुटेका साथीहरूलाई जोड्दै जाने र सर्वोच्चमा गएको मुद्दालाई पनि मिल्छ भने फिर्ता लिने प्रयास मेरो नेतृत्वमा हुनेछ ।’
रञ्जिताले शिवलाई कार्यवाहकको जिम्मेवारी दिए पनि रेशमले भने कुनै जवाफ दिएका छैनन् । ‘उहाँसँग कुरा हुन पाएको, भएको छैन । तर उहाँको पनि चाहना पार्टीलाई एक ढिक्का बनाउने नै हो, म त्यसरी नै काम गर्छु,’ उनले भने ।
पार्टीलाई सर्वस्वीकार्य बनाउन लाग्ने उनले बताए । लामो समय नेतृत्व गरौं भन्ने आफूलाई नभएको तर पार्टी चाहिँ बनाउनु पर्ने उनको भनाइ थियो ।
‘बहुमत साथीहरू उता भए पनि रामबहादुरजी, योगेन्द्र घिसिङजी लगायतले अब यो पार्टीलाई कसरी हुन्छ, एक कठ्ठा गरेर लानुपर्यो भन्नुभएको छ,’ उनले भने ।
नाउपाको प्रमुख पदाधिकारीमध्येकै भूमिका पाएपछि शिव पछिल्लो समय काठमाडौंमा बस्न थालेका थिए । तराई, मधेशमा प्रभाव रहेको नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने शिव भने खासै प्रभाव नभएको पोखराका छन् ।
‘सुरुमा त यो पार्टीलाई थारुको मात्र पार्टी भन्थे । तर होइन यो पहिचालको मुद्दा बोकेको सबैको पार्टी हो । नेवारको छोरीले नेतृत्व गरिसक्नुभयो, अहिले खसआर्यमा आइपुगेको छ,’ शिवले भने, ‘यो पार्टी सबै जाति, भाषा, संस्कृति मान्नेहरूको, समग्रमा नेपालीको हो ।’
लिची बगैंचा प्रकरणको प्रश्न
पोखरा-१६ अमरदीपमा रहेको लिची बगैंचा प्रकरणमा रञ्जिताको नाममात्रै जोडिएन, घुस लेनदेन भएको भनिएको अडियोमा उनकै आवाज भएको पुष्टिसमेत भएको छ ।
पोखराको प्रख्यात करिब १३५ रोपनी जग्गा हडप्ने खोजिएको प्रकरणमा रञ्जिता जोडिएपछि धेरै दबाब भएका कारणले पनि रञ्जिताले कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई सुम्पिएकी छन् ।
विधानअनुसार भन्दै रञ्जिताले पोखराकै बास्तोलालाई जिम्मेवारी दिनु र लिचिबारी प्रकरण पनि पोखराकै भएकाले कतिपयले यसलाई जोडेर हेरेका छन् । त्यसमाथि शिवले पनि घरजग्गाको कारोबार गर्ने गरेका थिए ।
रञ्जिताले पनि श्रेष्ठ लेख्ने र शिवले पनि पोखराकै श्रेष्ठ विवाह गरेकाले अलि नजिकको दिदी-भाइको जस्तो सम्बन्ध रहेको उनी बताउँछन् । तर बास्तोलाले भने लिचिबारी प्रकरण आफूले समाचार पढेपछि मात्रै थाहा पाएको बताए ।
‘मैले पनि समाचार पढेर नै लिची बगैंचाबारे थाहा पाएको हुँ । त्यसभन्दा अगाडि कुनै पनि जानकारी थिएन र मैले जिम्मेवारी पाउनुसँग यसको कुनै सम्बन्ध पनि छैन’, बास्तोलाले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4