
१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जनालाई मन्त्री नियुक्तको तयारी गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको उनी निकट सांसदले जानकारी दिए । ‘हामी तीन जनालाई मन्त्री नियुक्त गर्दैछौं । अब प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउँदैछौं । १० बजेपछि सपथ गराउन खोज्दैछौं’, ती सांसदले अनलाइनखबरसँग भने ।
बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छ ।
मंगलबार संसदीय दलको अविश्वास प्रस्तावको पक्ष–विपक्षमा मतदान हुँदा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाले १५ मत मात्रै पाएका थिए भने उनको विपक्ष २२ मत थियो । कांग्रेसको बागमती प्रदेश सभामा ३७ जना सांसद छन् ।
संसदीय दलको नेता रिक्त भएसँगै आज नयाँ नेता चयनका लागि मतदान हुँदैछ ।
प्रदेश सभा सचिवालयस्थित दलको कार्यालयमा दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदातको समय तोकिएको छ ।
दलको नेतामा इन्द्रबहादुर बानियाँ उठ्ने निश्चित छ । लामा पक्षबाट पनि उम्मेदवार रहने जनाइएको छ ।
प्रतिक्रिया 4