
News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ नजिकको खोलामा आएको बाढीले चार वटा काठेपुल बगाएको छ।
- बाढीले तिल गाउँ जोड्ने काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र बुद्धको स्तुपामा क्षति पुगेको छ।
- साउन १२ गते दिउँसो चार बजेतिर आएको बाढीले खेतबारीमा रोपिएको उवामा पनि क्षति पुर्याएको छ।
१४ साउन, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ नजिकको खोलामा आएको बाढीले चार वटा काठेपुल बगाएको छ ।
बाढीले तिल गाउँ जोड्ने ४ वटा काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र खोला छेउमा रहेको बुद्धको स्तुपामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।
खेतबारीमा रोपिएको उवामा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । साउन १२ गते दिउँसो चार बजेतिर हुम्लाको तिल गाउँमा एक्कासी बाढी आएको थियो ।
घटनास्थलमा सुनखानी प्रहरीचौकीबाट ५ जनाको टोली गएर क्षतिको विवरण संकलन गरेर ल्याइएको डिएसपी पोखरेलले बताए ।
प्रहरी टोलीसँग स्थानीयले गुन्छुसा खोलामा आएको बाढीले क्षति पुगेको बताएका थिए । क्षतिको सम्पूर्ण विवरण आउन भने बाँकी नै रहेको डिएसपी पोखरेलले बताए ।
हुम्लाको तिलगाउँमै गत जेठ १ गते पनि बाढी आउँदा क्षति पुगेको थियो । त्यतिबेला गाउँको सिरानमा रहेका हिमतालको पानी चुहिएर बाढी आएको विज्ञ टोलीले निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया 4