
News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार दीपकराज गिरी र केदार घिमिरेको सहकार्य र सम्बन्ध लामो समयदेखि रहेको छ र उनीहरूले हिट फिल्म र श्रृंखला दिएका छन्।
- भदौ ६ गते प्रदर्शनमा आउन लागेको फिल्म 'माग्ने राजा'को स्पेशल शोमा दीपकराज र कैलाश कार्कीले केदारको रोलमा अभिनय गरेका थिए।
- कमेडी नाइट विथ च्याम्पियन्सको विशेष एपिसोडमा दीपकराज र केदारबीचको सम्बन्ध र सहकार्यलाई सकारात्मक निष्कर्षमा प्रस्तुत गरिएको थियो।
काठमाडौं । कलाकार दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’को सहकार्य र सम्बन्ध नौलो कुरा रहेन । लामो समयदेखि यी दुईजनाले हिट फिल्म र श्रृंखला दिएका छन् ।
यी दुईको सहकार्य रहेको ‘छक्कापञ्जा’ बक्सअफिस हिट फिल्म हो, जुन पाँचौं श्रृंखलासम्म निरन्तर रह्यो । त्यसपछि यी दुईले केही समय आ-आफ्नै ढंगले फिल्म गरिरहेका छन् ।
दीपक नयाँ फिल्मको स्क्रिप्ट लेखनमा ब्यस्त छन् भने केदार शीर्ष भूमिका रहेको ‘माग्ने राजा’को रोलमा । यी दुईको सम्बन्ध र उतारचढावलाई बुधबार राती प्रसारित टिभी शो ‘कमेडी नाइट विथ च्याम्पिन्स’ले प्रस्तुत गरेको छ ।
भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’ स्पेशल शोमा प्रभात लामा दीपकराज र कैलाश कार्कीले केदारको रोलमा दमदार अभिनय गरे । मनमुटावदेखि मित्रतासम्मको रोचक कथामा यी दुईले दर्शकलाई हँसाए ।
‘छक्का पञ्जा’सँग जोडिएका सन्दर्भ र टिप्पणीदेखि सम्बन्ध चिसोपन र हार्दिकतापनलाई कमेडीको विषय बनाइएको थियो । दुवैजना दीपक र माग्नेको चरित्रमा प्रस्तुत थिए ।
उक्त प्रस्तुति हेरेपछि केदारले भने, ‘दीपकजी र मेरो सम्बन्ध सधैं राम्रो छ । बीचमा केही गफ भए होला, तर अब हामी फेरि पनि सहकार्य गर्न सक्छौं ।’ यस जवाफले उनीहरूबीचको सम्बन्धमा कुनै कटुता नरहेको स्पष्ट बुझन सकिन्छ ।
केदारलाई फिल्म ‘माग्ने राजा’बाट ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको भन्ने कुरा यो शोमा चर्चित बन्यो । निर्माता मुनाल घिमिरेले केदारलाई ६१ लाख रुपैयाँ पारिश्रमिकको रुपमा नदिएको बताउँदै यसअघिको आफ्नो अभिव्यक्ति सच्याए ।
‘छक्कापञ्जा’ श्रृंखलामा राजाको भूमिकामा देखिँदै आएका दीपक र माग्ने राजाको रोलमा देखिएका केदारबीच ‘को राजा’ भन्ने विषयमा नोकझोक समेत चल्यो । यो प्रस्तुतिमा दर्शकले खुबै रमाइलो गरे ।
एपिसोडमा भरतमणि पौडेल ‘घरबेटी बा’को भूमिकामा देखिए भने सुमन कार्कीले कलाकार ‘शिवहरि पौडेल’ को अवतार लिएर आए । पवन भट्टराईले ‘हरिबहादुर’ को भेषमा रमाइलो गरे ।
‘माग्ने राजा’ विशेष एपिसोडमा हाँसोसँगै मित्रता, सहकार्य र गलत बुझाइलाई सकारात्मक निष्कर्षमा पुर्याउने प्रयास देखियो । शोमा निर्देशक ऋषि लामिछाने, निर्माता मुनाल घिमिरे, अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता शिशिर बाङ्देल पाहुनाको रुपमा सहभागि थिए ।
‘कमेडी नाइट विथ च्याम्पियन्स’ हरेक मंगलबार राति ९ बजे हिमालय टिभीमा र ओएसआर रियालिटीको युट्युब च्यानलमा आउँछ ।
प्रतिक्रिया 4