+
+
Shares

भारतीय सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट निर्यात हुने वस्तुमा २५ प्रतिशत भन्सार शुल्क अगस्ट १ देखि लागु हुने घोषणा गरेका छन्।
  • ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा ठूलो भएको र भारतको भन्सार शुल्क विश्वमै सबैभन्दा उच्च भएको उल्लेख गरेका छन्।
  • ट्रम्पले भारतले रसियासँग ठूलो परिमाणमा हतियार किन्ने र ऊर्जा खरिद गर्ने कारणले भन्सार शुल्क घोषणा गर्नुपरेको तर्क गरेका छन्।

१४ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले भारतसँग अमेरिकाको ब्यापार घाटा ठूलो रहेको भन्दै भन्सार शुल्क लगाउनु परेको बताएका छन् ।

‘भारतले अब अगस्ट १ तारिखदेखि २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ, माथि उल्लिखित कुराहरूको लागि अतिरिक्त जरिवानासमेत लाग्नेछ’, उनले लेखेका छन् ।

यससँगै भारतबाट अमेरिका निर्यात हुने वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लाग्ने भएको छ । दुई देशका प्रतिनिधिहरुबीच व्यापार सन्धीका लागि वार्ता चलिरहेकै बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

भारत मित्र भएपनि अमेरिकाले विगतमा द्विपक्षीय व्यापार नगरेको भन्दै ट्रम्पले भारतको भन्सार शुल्क अत्यन्तै उच्च भएको उल्लेख गरेका छन् ।

‘स्मरण रहोस्, भारत हाम्रो मित्र हो, तर विगतका वर्षहरूमा हामीले भारतसँग धेरै व्यापार गरेका छैनौं, किनभने उनीहरूको शुल्क (ट्यारिफ) विश्वमै सबैभन्दा उच्चमध्येका छन् र उनीहरूले सबैभन्दा कठिन र आपत्तिजनक गैर–आर्थिक व्यापार अवरोधहरू लागू गरेका छन्’, ट्रम्पले लेखेका छन् ।

साथै उनले भारतले रसियासँग ठूलो परिमाणमा हतियार किन्ने गरेको भन्दै उनले भन्सार शुल्क घोषणा गर्नुपरेको तर्क गरेका छन् ।

‘उनीहरूले सधैं आफ्नो सैन्य उपकरणको ठूलो भाग रुसबाट खरिद गरेका छन्, चीनसँगै रुसबाट सबैभन्दा धेरै ऊर्जा किन्ने देश हो भारत, जब सबैले रुसी आक्रमणबाट युक्रेनमा हत्या रोकिनु पर्ने चाहेका छन्- यी सबै कुरा राम्रो होइनन्’, ट्रम्पले लेखेका छन् ।

भारतले रुससँग हतियार किनेर आर्थिकरुपमा मजबुत बनाएको र रुसलाई युद्ध अपराध गर्न सघाएको तर्क ट्रम्पको छ । रुस र चीनसँग ऊर्जाजन्य सामग्री खरिद गर्ने गरेकोमा पनि भारतप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको असन्तुष्टि देखिन्छ ।

घोषणा गरिएको भन्सार शुल्क आगामी अगस्ट १ तारिखबाटै लागू हुने ट्रम्पले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?