
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्ट नेताहरूले स्टालिनको शैलीमा आलोचकलाई राजनीतिक सफाया गर्ने आरोप लगाए ।
- डा. भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलन स्टालीनकालीन रूसको कम्युनिष्ट पार्टीको दिशामा अग्रसर भैरहेको टिप्पणी गरे।
- उनले एमाले र माओवादी केन्द्रमा वैचारिक स्खलन र बन्ध्याकरण भइरहेको र पार्टीभित्र अन्तर संघर्ष बढेको उल्लेख गरे।
१६ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीरसहित डा. भट्टराईले कम्युनिष्ट नेताहरूले इतिहासबाट नसिसेको टिप्पणी गरे ।
अन्तर-पार्टी संघर्षको कुरा गर्दा यहाँ पनि स्टालिनको मुख्यत: सन् १९२७-३८ कालखण्डको ‘ग्रेट ट्रायल’ (टेरर?) को झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ,’ उनले लेखेका छन् ।
उनको प्रश्न छ, ‘स्टालिनकै झल्को आउने गरी अहिले नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त?’
पूर्व कम्युनिष्ट नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले रूसमा जस्तै नेपालमा पनि कम्युनिष्ट आनत्दोलन विलाएर जाने चरणमा रहेको टिप्पणी गरेका छन् । उनले अहिलेको कम्युनिष्ट पार्टीका आकारलाई सुन्निएर मोटाएको जस्तै भनेका छन् ।
भट्टराईले एमाले र माओवादीभित्र चर्किएको अन्तर संघर्ष र निषेधात्मक अभ्यासहरूलाई लक्षित गर्दै कम्युनिष्ट पार्टीहरूमा वैचारिक स्खलन र बन्ध्याकरण भइरहेको आरोप लगाए ।
के भन्छन् भट्टराई ?
अंग्रेजीमा एउटा चर्चित भनाइ छ- ‘वी लर्न फ्रोम हिस्ट्री द्याट वी डु नट लर्न फ्रोम हिस्ट्री’ अर्थात् ‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्देनौं’। नेपालको कम्युनिष्ट आन्दोलनमा यो हुबहु लागू हुन्छ भन्दा अतिशयोक्ति हुँदैन।
मूलत: २०२८-३१ को झापा आन्दोलन र २०५२-०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन संसारको पहिलो र करिब ७५ बर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रूसको कम्युनिष्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भैरहेको देखिनु बिडम्वनापूर्ण छ।
यसको तीव्र वैचारिक स्खलन/बन्ध्याकरण र राज्यसत्ता संचालनको प्रवृत्ति र अवस्था हेर्दा ब्रेजनेभ-काल (सन्१९६४-८२) को ‘एरा अफ स्टाग्नेसन’ (गतिहीन काल अर्थात् सुन्निएर मोटाएको जस्तो) सँग मिल्दोजुल्दो देखिन्छ। अर्थात् पटकपटक सत्तामा बस्दा पनि कुनै गुणात्मक र उल्लेख्य रूपान्तरणकारी उपलब्धी छैन तर गफ चाहिं रूसका भूपू कमरेडहरूले मिति नै तोकेर ‘बीस वर्षभित्र साम्यवाद आउँछ’ भने झै यहाँ पनि ‘समाजवाद/साम्यवाद’ को डिङ् हान्न र कार्यकर्ता अल्मल्याउन भ्याएकै छन्।
भित्री पार्टी सम्बन्ध, अथवा सनातनी कम्युनिष्ट पदावली अनुसार ‘अन्तर-पार्टी संघर्ष’, को कुरा गर्दा यहाँ पनि स्टालिनको मुख्यत: सन् १९२७-३८ कालखण्डको ‘ग्रेट ट्रायल'(टेरर?) को झल्को दिने गरी मूल नेतृत्वसँग आँखा जुधाउने वा उसको आलोचना गर्ने नेता-कार्यकर्तालाई विभिन्न आरोप लगाएर पार्टी र सत्ताबाट सदाको निम्ति बिदा गर्ने प्रवृत्ति उत्तिकै हावी छ।
यस सन्दर्भमा अझै विडम्वनापूर्ण र हास्यास्पद प्रवृत्ति र घटना त के भने जसरी रूसमा स्टालिनले लेनिनको पालादेखिका सबै प्रमुख समकक्षी र आफ्ना प्रतिष्पर्धी नेताहरूलाई पालैपालो भौतिक रूपले नै सफाया गरेका थिए (जस्तै- त्रोत्स्कीलाई सबभन्दा पहिले सन् १९२७ पार्टीबाट निष्काशन, १९२९ मा देशनिकाला र पछि विदेशमै हत्या; जेनोभिभ र कामेनेभलाई बिरालाले मुसा खेलाए झैं पटकपटक पार्टीबाट निष्काशन र अन्त्यमा हत्या; बुखारिन, रिकोभ लगायतलाई त्यसरी नै अन्त्यमा १९३८ मा हत्या आदि इत्यादि)।
त्यसकै झल्को आउने गरी अहिले नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त?
अझै पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिष्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?
प्रतिक्रिया 4