
News Summary
Generated by OK AI. Editorially reviewed.- यमनको अब्यान प्रान्तको तट नजिक अवैध डुंगा डुब्दा कम्तीमा २० अफ्रिकी आप्रवासीको मृत्यु भएको छ।
- डुंगा पल्टिनुको कारण तीव्र हावाहुरी रहेको र १५० जना आप्रवासी बोकेको डुंगा पल्टिएको स्थानीय अधिकारीले बताए।
- अधिकारीहरूले अवैध आप्रवासन रोक्न स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूको तत्काल हस्तक्षेपको माग गरेका छन्।
काठमाडौं । यमनको दक्षिणी अब्यान प्रान्तको तट नजिक अफ्रिकी आप्रवासी बोकेको एक अवैध डुंगा डुब्दा कम्तीमा २० जनाको ज्यान गएको छ भने दर्जनौं अझै बेपत्ता छन्।
शनिबार राति करिब ११ बजे (स्थानीय समयअनुसार) तीव्र हावाहुरीका कारण करिब १५० आप्रवासी बोकेको डुंगा पल्टिएको स्थानीय एक अधिकारीले सिन्ह्वालाई जानकारी दिए ।
शुक्रा र जिन्जिबार सहरका तटहरूमा उद्धार टोलीले आइतबार बिहानसम्म २० भन्दा बढी शवहरू फेला पारेका छन्। ज्यान बचाउन सफल १२ जनालाई उद्दार गरी उपचारका लागि शक्रा जनरल अस्पतालमा लगिएको छ । अझै कैयौं आप्रवासीको अवस्था अज्ञात रहेको अधिकारीहरूले जनाएका छन्।
अब्यान सुरक्षा निर्देशनालयले जारी गरेको विज्ञप्तिमा समुद्री दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासीहरू इथियोपियाली मूलका रहेको उल्लेख गरिएको छ । ती आप्रवासीहरू अफ्रिकाको हर्न क्षेत्रबाट यमन हुँदै अन्य देशतर्फ जान अवैध रूपमा यात्रा गरिरहेका थिए ।
सुरक्षा अधिकारीहरूका अनुसार सीमित स्रोतसाधनका बाबजुद मृतकको शव संकलन तथा उद्दार कार्य तीव्र रुपमा भइरहेको छ । शवहरू विभिन्न तटीय क्षेत्रमा छरिएका अवस्थामा फेला परेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
अब्यानका अधिकारीहरूले यमनको जलसीमाबाट हुँदै भइरहेको अवैध आप्रवासन रोक्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको तत्काल हस्तक्षेपको माग गरेका छन् ।
यमन, दशकौँदेखि जारी द्वन्द्वको चपेटामा परेका कारण, अफ्रिकी आप्रवासीका लागि पनि अति कठिन र जोखिमपूर्ण मार्ग बन्दै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यमन विश्वकै सबैभन्दा ठूलो मानवीय संकटमध्ये एकबाट गुज्रिरहेको छ।
प्रतिक्रिया 4