
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ जसले वैदेशिक रोजगारलाई सुरक्षित र दिगो बनाउने लक्ष्य राखेको छ।
- यो नीतिले वैदेशिक रोजगारमा जाने अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण र व्यवस्थापन गर्ने व्यवस्था गरेको छ।
- श्रम आप्रवासनलाई प्रतिफलयुक्त बनाउन वैदेशिक रोजगार ऐन संशोधन र श्रम कूटनीति सबलीकरण गरिनेछ।
१९ साउन, काठमाडौं । सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२ स्वीकृत गरेको छ ।
श्रम आप्रवासन र वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उत्तरदायी र दिगो बनाउने उद्देश्यले १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नीति मन्त्रिपरिषद्बाट स्वीकृत भएको प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
यो नीतिको मुख्य उद्देश्य नेपाली श्रमिकको मानव अधिकारको संरक्षण, पारदर्शी सेवा प्रवाह, सामाजिक सुरक्षाको सुनिश्चितता, श्रमिकको सिप विकास, श्रम कूटनीतिको सुदृढीकरण गर्नु रहेको बताए ।
यसले वैदेशिक रोजगारमा जाने अनौपचारिक क्षेत्रका श्रमिकको अभिलेखीकरण र व्यवस्थापन, विदेशी श्रमिकको नियमन, साथै महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक श्रमिकप्रति संवेदनशील नीति र कार्यक्रमको व्यवस्था गरेको छ ।
यो नयाँ नीतिले ‘वैदेशिक रोजगार नीति, २०६८’ लाई प्रतिस्थापन गरेको छ । संघीय संरचनाअनुसार तीनै तहका सरकारहरू, कूटनीतिक नियोग, श्रमिक, निजी क्षेत्र, विकास साझेदार र सरोकारवाला संस्थाहरूको सहकार्यमा आधारित कार्ययोजना तयार गरी श्रम आप्रवासन सेवालाई एकीकृत प्रणालीमार्फत प्रवाह गरिनेछ ।
श्रम आप्रवासन क्षेत्रका समस्या, चुनौती र जोखिमलाई सम्बोधन गर्दै यो नीतिले श्रम आप्रवासनलाई प्रतिफलयुक्त बनाइ विप्रेषणलाई उत्पादन र उद्यमशीलतामा केन्द्रित गर्ने लक्ष्य राखेको छ । यसका लागि वैदेशिक रोजगार ऐन तथा नियमावलीको संशोधन, श्रम कूटनीति सबलीकरण, सीप प्रमाणीकरण, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक सुरक्षा कार्यक्रमको पहुँच विस्तार गरिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4