+
+
Shares

रूपन्देही-३ उपचुनाव : प्रतिष्ठाको लडाइँ बनाएर होमियो रास्वपा

तनहुँ र चितवनको उपचुनावमा ‘अभूतपूर्व’ सफलता पाएर इलाम र बारामा ‘शर्मनाक’ पराजय भोगेको रास्वपाले रूपन्देही–३ लाई प्रतिष्ठाको विषय बनाएको छ । परिणाम स्वरूप, चुनाव क्षेत्रमा नेताहरूको आउजाउ बाक्लिएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ साउन १९ गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाले संघीय संसद्‌मा रहेका अन्य दलहरूलाई उछिन्दै रूपन्देही–३ उपचुनावको तयारीमा जुटेको छ।
  • सभापति रवि लामिछाने कारागारमा रहँदा पनि पार्टी नेताहरूले रूपन्देही–३ मा चुनाव प्रचारलाई प्राथमिकता दिएका छन्।
  • रास्वपाले हस्ताक्षर अभियानलाई चुनावी उद्देश्यसहित जारी राख्दै करिब एक लाख हस्ताक्षर संकलन गर्ने योजना बनाएको छ।

१९ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय संसद्‌मा रहेका अन्य दलहरूलाई उछिन्दै रूपन्देही–३ उपचुनावको तयारीमा जुटेको छ ।

आगामी १७ कात्तिकमा हुने उपचुनावका लागि रास्वपाले उम्मेदवार हुन इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरिसकेको छ । सो दलले साउन ७ देखि २१ सम्म आवेदनका लागि समय दिएको छ ।

रास्वपाले चुनाव आउनु दुई महिनाअघि नै उम्मेदवार तय गर्ने भएको छ । पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार १५ भदौमा उम्मेदवार तय हुनेछ ।

रास्वपाले रुपन्देही–३ उपचुनावका लागि उम्मेदवार छनोटको विधिसमेत अन्य दलले भन्दा फरक तय गरेको छ । सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यको नेतृत्वमा उम्मेदवार छनोटका लागि विधि निर्माण गरिएको छ । प्रारम्भिक चुनावमार्फत उम्मेदवार छनोट गर्ने विधिअनुसार रास्वपाले कार्यतालिका सार्वजनिक गरेको छ ।

तनहुँ र चितवनको उपचुनावमा ‘अभूतपूर्व’ सफलता पाएर इलाम र बारामा ‘शर्मनाक’ पराजय भोगेको रास्वपाले रूपन्देही–३ लाई प्रतिष्ठाको विषय बनाएको छ । परिणामस्वरूप, रास्वपाका नेताहरूको रूपन्देही–३ मा आउजाउ बाक्लिएको छ ।

२०७९ सालमा रास्वपा विनासंगठन चुनावमा होमिएको थियो । उपचुनावलाई संगठन निर्माणको अवसरका रूपमा पनि रास्वपाले अघि बढाएको छ ।

रास्वपा नेताहरूको रूपन्देहीमा आउजाउ बढ्नुमा दुईवटा उद्देश्य छन् । ती हुन्- सभापति रवि लामिछाने भैरहवामै कारागारमा रहेकाले उनलाई भेट्ने र त्यही क्षेत्रमा हुन लागेको उपचुनावको प्रचारमा खटिने ।

कारागारमा सभापति लामिछानेलाई भेटेर फर्केका नेताहरूले उपचुनावलाई प्राथमिकतामा राखेर कुराकानी भएको प्रतिक्रिया दिएका छन् । सभापति लामिछानेलाई भेट्ने नेताहरू रुपन्देही–३ को चुनावमा केन्द्रित हुन निर्देशन दिएको सुनाउँछन् ।

सांसद सोविता गौतमले सभापति लामिछानेले जनताका मुद्दा थप प्रभावकारी रूपले उठाउन र उपचुनावमा केन्द्रित हुन पार्टी नेताहरूलाई निर्देशन दिएको प्रतिक्रिया दिइन् ।

गत साता भैरहवामा रास्वपाको संसदीय दलको बैठक बस्यो । बैठकमा पार्टीका १९ जना सांसदमध्ये १७ जना सहभागी थिए । उपचुनावमा रास्वपाको प्रचार हुनेगरी शीर्ष तहका नेतासहित १७ जना स्थानीयको घरमा बास बसे ।

चुनावी प्रचारका लागि दुई उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेको भैरहवा ओर्लने क्रम बढेको छ । प्रचारकै लागि उपसभापति वाग्ले पछिल्लो समय तीनपटक रूपन्देही–३ मा पुगेका छन् ।

सभापति लामिछाने रूपन्देही–३ मा कारागारमा रहेको हुँदा पनि प्रचारमा सहयोग पुग्ने रास्वपाका नेताहरूको विश्वास छ । ‘पार्टी सभापतिलाई अड्डासार गर्न दिएनन् । रूपन्देही–३ मै हुनुहन्छ,’ उपसभापति वाग्लेले सभापतिसँगको भेटपछि पत्रकारलाई भने, ‘अलिअलि प्रभाव त परिहाल्छ नि ।

रास्वपाका केन्द्रीयदेखि जिल्ला तहका नेताहरू स्थानीयको घरघर पुगेका छन् । नेताहरूले घरदैलोलाई प्राथमिकतामा राख्नुका साथै पेसागत क्षेत्रमा आवद्ध व्यक्तिहरूलाई भेटेर कुराकानी गरेका छन् ।

७ असारबाट सुरु भएको हस्ताक्षर अभियानलाई समेत रूपन्देही–३ मा प्रचार अभियानसँगै जोडिएको छ । आसन्न चुनावमा माहोल बनाउन नेताहरू यस क्षेत्रमा रहेका ७ वटै पालिकाका वडाहरूमा पुगेका छन् ।

अघिल्लो साता क्षेत्रमा दुई दिन खटिएका नेताहरू बुटवल, सिद्धार्थनगर, तिलोत्तमा, मायादेवी, ओमसतिया, सियारी र शुद्धोधनका वडाका मतदाताकहाँ पुगे ।

रास्वपा प्रवक्ता मनिष झाले अहिले पार्टी हस्ताक्षर अभियानमा केन्द्रित हुनुको अर्थ त्यसभित्र चुनावी उद्देश्यसमेत रहेको खुलाए । ‘चुनाव लागिसक्यो, हाम्रो हस्ताक्षर अभियानभित्र चुनाव लुकेको छ,’ झा भन्छन् ।

दुई दिनसम्म रूपन्देही–३ मा रहँदा मतदाताका धेरै कुरा सुन्न पाएको पार्टी प्रवक्ता झाले बताए । ‘मुख्य कुरा पुराना दलबाट वाक्क भएकाले अब नयाँ नै रोज्ने हो । धेरैले अबको चुनावमा मत परिवर्तन गर्छौं भन्नुभएको छ,’ प्रवक्ता झा भन्छन्, ‘हस्ताक्षर अभियानमा आम मतदाताको उत्साहजनक सहभागिता छ । चुनाव आचारसंहिता लागू नहुँदासम्म जारी राखेर करिब एक लाख हाराहारी हस्ताक्षर यही क्षेत्रमा पुर्‍याउँछौं ।’

गत चुनावमा रूपन्देही–३ मा रास्वपा समानुपातिकतर्फ १४ हजार मतसहित तेस्रो स्थानमा रहेको थियो । रास्वपाका उम्मेदवारले प्रत्यक्षतर्फ पनि तेस्रो स्थानको मत ल्याएका थिए ।

रास्वपा उम्मेदवार जीतबहादुर गुप्ता तेलीले गत चुनावमा ५ हजार ७९६ मत ल्याएका थिए । समानुपातिकतर्फ पहिलो स्थानमा कांग्रेस र दोस्रो स्थानमा एमालेले मत ल्याएका थिए ।

प्रत्यक्षतर्फ एमालेसँग चुनावी तालमेल गरेर राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । उनीसँग कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका थिए । एक लाख ३० हजार बढी मतदाता रहेको यस क्षेत्रमा करिब ९० हजार मत खसेको थियो । गत स्थानीय तह र समानुपातिक मतको आधारमा यस क्षेत्रमा कांग्रेस पहिलो दल हो ।

रुपन्देही-३ को उपचुनावमा सन्तोष गिरी, किरण विक, लेखनाथ गैरे, अजयकुमार गुप्ता लगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका गिरीले रास्वपासँग सहकार्य हुनसक्ने बताएका थिए ।

पार्टीले तय गरेको विधि अपनाएर मात्रै उम्मेदवार हुन पाउने रास्वपाले जनाएको छ । प्रवक्ता झा भन्छन्, ‘जोसुकै हाम्रो पार्टीको प्रक्रियाभित्र आउनुभयो र हाम्रो दलभित्र योग्य र सक्षम देखिनुभयो भने उहाँलाई नै उम्मेदवार बनाउन पनि सक्छौं । तर, प्रक्रिया बाहिरबाट आएको व्यक्ति उम्मेदवार हुने अवस्था हुँदैन ।’

एमाले र कांग्रेस सम्मिलित सरकारले जनअपेक्षाअनुसार काम नगरेको निर्क्योलसहित रास्वपा नेताहरू मतदाताकहाँ पुगेका छन् ।

उपसभापति डीपी अर्यालका अनुसार वर्तमान गठबन्धन सरकारप्रति जनता आशावादी छैनन् । प्रदेश र स्थानीय सरकारबाट पनि जनताका माग सुनुवाइ नभएकाले सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकपटक रास्वपालाई हेर्नुपर्छ भन्ने जनमत देखिएको अर्यालले दाबी गरे । घरदैलोका क्रममा नागरिकले उत्साहपूर्ण सहभागिता जनाएको अर्यालले बताए ।

रूपन्देही–३ को चुनाव प्रचारमा पूरै पार्टीको शक्ति परिचालित हुँदा जिल्लाका तथा क्षेत्रका रास्वपा नेताहरू उत्साहित छन् । रूपन्देही–३ का रास्वपा सभापति मधुप्रसाद अर्यालले पार्टीभित्र उत्साह थपिएको बताए । नेताहरू क्षेत्रमा आउने क्रम बाक्लिँदा चुनावी माहोल बनेको अर्यालले प्रतिक्रिया दिए ।

क्षेत्रीय सभापति अर्यालले यस क्षेत्रमा रहेका ३६ वटै वडामा पार्टी संगठन निर्माण हुने क्रममा रहेको दाबी गरे । उनले अनलाइनखबरसँग भने, ‘शीर्ष नेता र सिंगो संसदीय दल रुपन्देही–३ मा आउँदा नेता/कार्यकर्ता मात्र होइन, सर्वसाधारणमा पनि पार्टीप्रति आशा र विश्वास बढेको छ ।’

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?