
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका निर्णय उल्टाउन दबाब दिने निर्णय गरेको छ।
- केन्द्रीय समिति बैठकमा न्यायका पक्षमा आवाज उठाउन आफू निकटका नेताहरूलाई निर्देशन समेत दिने भएको छ।
- अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्की नियुक्त गरेपछि पार्टीभित्र विवाद र असन्तुष्टि बढ्दै गएको हो।
१९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका निर्णय उल्टाउन दबाब दिने निर्णय गरेको छ ।
असन्तुष्ट पक्षको हात्तीसारमा बसेको बैठकले कार्यसम्पादन र केन्द्रीय समिति बैठकमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी नेताले भने, ‘अध्यक्षले अवैधानिक निर्णयहरु गरिराख्नु भएको छ । उहाँले गरेका अवैध निर्णय बदर गराउन कार्यसम्पादन र केन्द्रीय समितिमा जोडदार माग राख्ने निर्णय भएको छ ।’
राप्रपाले केन्द्रीय समितिको बैठक भदौ दोस्रो साता बोलाउने तयारी गरेको छ । उक्त बैठकमा अनिवार्य उपस्थित हुन र न्यायका पक्षमा आवाज उठाउन संस्थापनइतरका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिने निर्णय भएको बैठकमा सहभागी नेताले जानकारी गराए ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजकमा रोशन कार्की नियुक्त गरेपछि दुई पक्षको सम्बन्ध बिग्रिंदै गएको छ ।
नवराज सुवेदीले सम्हालेको अनुशासन समितिको संयोजकमा अध्यक्ष लिङ्देनले उनी निकट नेता एवं सांसद रोशन कार्कीलाई मनोनित गरेका थिए ।
सुवेदीले पार्टी परित्याग गरेको घोषणा गरेको दाबी गर्दै संस्थापन पक्षले अर्को व्यक्तिलाई जिम्मेवारी दिएको बताउँदै आएको छ । प्रवक्ता सगुन लावतीलाई पदमुक्त गरिएको विषयमा समेत दुई पक्षमा विवाद छ । उनीहरुलाई पदमुक्त गरेको विषय निर्वाचन आयोगमा समेत पुगेको छ ।
असन्तुष्ट पक्षले २९ असारमा निर्वाचन आयोग पुगेर अध्यक्ष लिङ्देनको निर्णय बदर गर्न निवेदन दिएको छ । निर्वाचन आयोगले पदमुक्त गरेको विषयको जानकारी पठाउन पत्र पठाएको छ ।
अध्यक्षको निर्णय सच्याउन माग गर्दै विज्ञप्तिमा हस्ताक्षर गर्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई समेत लिङ्देनले पदमुक्त गरेका छन् ।
पार्टीभित्र असन्तुष्ट बढिरहेकै बेला अघिल्लो साता तल्लो संरचनाको अधिवेशन पर्यवेक्षक तोकिएपछि दुई पक्षको दूरी थप बढेको छ । असन्तुष्ट पक्षले पर्यवेक्षकहरु एकतर्फी घोषणा गरिएको भन्दै अमान्य हुने ठहर गरेको छ ।
सोमबार बसेको बैठकको संयोज वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री डा धवलशमशेर राणाले गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष पाण्डे, महामन्त्री डा.राणा पदमुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशमशेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, तीन सहायक महामन्त्रीहरु प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्रबहादुर शाह बैठकमा सहभागी थिए ।
साथै, बागमतीका अध्यक्ष विक्रमबहादुर थापा, कर्णालीका अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जगत गौचन, प्रवक्ताबाट अध्यक्ष लिङ्देनले हटाएका सगुन सुन्दर लावती, सहमहामन्त्री: रवीन्द्रप्रताप शाह, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ लगायत ७० जना भन्दा बढी सहभागी भएर बैठक बसेको असन्तुष्ट पक्षले दाबी गरेको छ ।
असन्तुष्ट पक्षको बैठक यसअघि असारको अन्तिम साता बसेको थियो । २५ असारमा अनुशासन समितिको संयोजक परिवर्तन र प्रवक्ता लावती हटाए लगत्तै असन्तुष्ट पक्षको बैठक बसेर निर्वाचन आयोगमा अध्यक्ष लिङ्देनको निर्णय विरुद्ध निवदेन गर्ने निर्णय गरिएको थियो ।
प्रतिक्रिया 4